Hamro Patra
टिक्दैनन् टीकापुरमा नयाँ डिएसपी

टीकापुर, असोज २

नेपाल प्रहरी संगठन भित्र दबंग छबि बनाएका डिएसपी उद्धब भाट इलाका प्रहरी कार्यालय टीकापुरको इञ्चार्जबाट चार महिनामै सरुवा भए ।

टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा जेल जीवन बिताईरहेका पूर्व माननीय रेशमलाल चौधरी आम माफी पाएर रिहा भएपछि स्वागत गर्न पुगेका डिएसपी भाटको प्रस्तुती विवादमा तानियो । उनी बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुलमा चौधरीको स्वागत गर्न पुगेका थिए । उनले गाडीबाट झर्दै गरेका चौधरीलाई फूलको गुच्छा दिँदै स्वागत गरे ।

Khadga Memorial And Janajagriti

उनले स्वागत गरिरहेको कसैले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदियो । त्यो भिडियोमा डिएसपी भाटको हाउभाउ निकै हल्का भन्दै चर्को आलोचना भयो । उनको भिडियो सामाजिक सञ्जालमा निकै भाईरल बन्यो ।

२०७२ भदौ ७ गते एक नाबालक सहित आठ प्रहरीको ज्यान जाने गरी टीकापुरमा भएको घटनाका मुख्य योजनाकारलाई स्वागत गरेको भन्दै डिएसपी भाट प्रति तिब्र आलोचना भयो । उनलाई प्रहरी संगठनकै बदनाम गरेको भन्दै कैयौंले गाली बेइज्जती समेत गरे ।

दबंग छबि भएका भाटलाई सोही भिडियोका कारण सामाजिक सञ्जालमा जिरो बनाईयो । उनले भिडियो खिचेको भन्दै थारु भाषाको अख्वारी साप्ताहिकका पत्रकार जीवन डगौरालाई प्रहरी कार्यालयमा बोलाए । डगौरालाई उनले आफ्नो कार्यकक्षमै गाली गरेको अर्को भिडियो सावर्जनिक भयो । उनले सो भिडियोमा डगौरालाई मारे पनि आफ्नो रिस कम नहुने जस्ता वाक्य बोलेको पाईयो ।

चौधरीलाई स्वागत गरेको भिडियोको चर्चा केही कम भैरहेको बेला पुनः अर्को भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । डिएसपीले कार्यकक्षमै बोलाएर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै चर्को आलोचना भयो । धेरै संघसंस्थाले घटनाका बारेमा चाँसो राखे । पत्रकार डगौराले एक विज्ञप्ती प्रकाशित गरेर दाजुभाईबीचको कुराकानी भनेर घटनालाई साम्य बनाए ।

घटना साम्य भएपनि डिएसपी भाटका बारेमा प्रहरी संगठनको नेतृत्वमा रिपोर्टिङ भैसकेको थियो । उनका राम्रा पक्षलाई ओझेल पारेर कमि कमजोरीका बारेमा रिपोर्टिङ गरियो । जसका कारण उनी ४ महिनामै टीकापुरबाट लखेटिए । २०७९ माघ २५ गते हाजिर भएका भाट २०८० जेठ २५ मा सरुवा भए ।

स्थानीयका अनुसार उनको टीकापुर इन्ट्री चर्चा गर्न लायक नै थियो । छोटो समय बसे पनि भाटले टीकापुरमा आफ्नो छाप छोडेर गएको स्थानीयले अनुभूति हुने गरेको बताउँछन । उनले मुख्य गरी गुण्डागर्दी र लागुपदार्थ दुव्र्यसन नियन्त्रणलाई टार्गेट गरेका थिए । उनको पालामा यी दुई कुरामा केही हदसम्म नियन्त्रण देखिन्थ्यो ।

भाटको ठाउँमा डिएसपी तुलसी अर्याल आए । उनी २०८० जेठ २५ गते नै हाजिर भए । भाटको कमिलाई अर्यालले महशुस हुने गरी प्रस्तुती दिन सकेनन् । उनी आएकै दिनबाट विवादमा तानिए । केही विवादित व्यक्तिहरुसँग जोडेर उनलाई सामाजिक सञ्जाल लगायतमा लखेटियो । उनी तीन महिना पुग्न तीन दिन बाँकी रहँदै सरुवा भए ।

अर्यालको प्रस्तुती कमजोर रहेको संगठन भित्रै रिपोर्टिङ भएको स्रोतको दावी छ । उनले ब्यापक मात्रामा प्रहरी परिचालन गर्न सकेनन् । उनको पालामा केही घटना समेत भए । ती घटना समाजमा त्रसित पार्ने खालका थिए । तैपनि उनले आम नागरिकलाई सुरक्षित महशुस हुने माहौल सिर्जना गर्न सकेनन् । स्थानीयका अनुसार उनी आफै कहिँ कतै गस्तीमा देखिएनन् । कतिपयले उनलाई देख्न र भेट्न समेत पाएनन् ।

लगातार दुई डिएसपी छोटो समयमै सरुवा भएपछि टीकापुरमा डिएसपी टिक्दैनन् भन्ने चर्चाले ब्यापकता पाएको छ । त्यसअघिका दुईजना डिएसपी समेत एक वर्ष नपुग्दै सरुवा भएका थिए । भाट भन्दा अघिका हेमबहादुर शाही १० महिना र त्यसअघिका प्रकाश सापकोटा नौ महिनामा सरुवा भएका थिए । प्रहरी संगठनमा कुनैपनि इञ्चार्ज कम्तिमा एकवर्ष बस्नुलाई सफल र त्यसअघि सरुवा हुनुलाई असफल भएको मानिन्छ ।

कुनैपनि प्रहरी कार्यालयको इञ्चार्ज फेरिने कुरा नियमित प्रकृया हो । कोही छोटो समयमै फेरिन्छन त कोही निर्धारित समय पूरा गरेर फेरिन्छन । इलाका प्रहरी कार्यालय टीकापुरको जस्तै अवस्था अन्त पनि हुन्छ । तर अन्त प्रहरी इञ्चार्ज फेरिदा त्यत्ति चर्चा हुँदैन । टीकापुरमा भने यसलाई निकै चर्चाको विषय बनाईन्छ । सरुवा भएको डिएसपी कार्यक्षेत्र नपुग्दै समाज पक्ष विपक्षमा विभाजित भैसकेको हुन्छ । ती कुरा सामाजिक सञ्जालमा प्रष्टै देख्न सकिन्छ ।

टीकापुरमा डिएसपी टिक्दैनन् भन्ने चर्चा चलेकै बेला इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हालेका छन डिएसपी विश्वराज अधिकारीले । १६ वर्ष अघि प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका अधिकारी काबिल प्रहरी अधिकृत मानिन्छन । उनी संगठन भित्र कडा र नरम दुवै रणनीति तयार पारेर अघि बढ्न सक्ने क्षमता राख्ने अधिकृतका रुपमा चिनिन्छन ।

छ दिन अघि इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हालेका अधिकारीले गुण्डागर्दी र लागुऔषध नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए । आज सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी अधिकारीले प्रहरी गुण्डागर्दी प्रति क्रुर भएर प्रस्तुत हुने बताए ।

उनले समाजको शान्ति सुव्यवस्था स्थापनामा साथ दिन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन । उनले सञ्चारकर्मी सूचनाको स्रोत भएकाले कुनैपनि गलत सूचना भए उपलब्ध गराउन अनुरोध गरे । उनले प्रहरी एक्लैले कुनैपनि काम सम्पन्न गर्न नसक्ने भएकाले सबैको साथ आवश्यक रहेको बताए ।

सञ्चारकर्मीहरुले उनलाई छोटो समयमै डिएसपी सरुवा हुने घटनाले समाजमा प्रहरी प्रति नकारात्मक धारणा स्थापित भएको र त्यसले शान्ति सुव्यवस्थामा गलत सन्देश प्रवाह भएकाले चनाखो भएर काम गर्न सुझाव दिएका छन ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update