Hamro Patra
किसान सचेत भए नियन्त्रण हुन्छः डा.रामबहादुर खड्का, कृषि वैज्ञानिक, नार्क

प्रश्नः पानामा टीआर फोर कस्तो खालको रोग हो ?

पानामा रोग एक प्रकारको ढुसीले लाग्ने रोग हो । यो रोग सबैभन्दा पहिले १८७४ अस्ट्रेलियामा फेला परेको थियो । त्यो रोगले २० औं शताब्दीतिर ठूलो विध्वंश मच्चायो । खासगरी दक्षिण अमेरिकामा बगानका बगान केरा सखाप पार्यो । त्यसपछि वैज्ञानिकहरुले केराको नयाँ जातको विकास गरे, त्यो केरा क्याबेन्डस जातको अहिलेको जी नाइन, विलियम जातको केराहरु हो, जुन त्यो रोगसँग सहन गर्न सक्ने भए । पानामाले ध्वस्त भएको केरा उद्योग नयाँ जातको विकास भएपछि पुनःजीर्वित भयो र संसारभर जी नाइन जस्ता क्याभेन्डिस जातका केराहरु लगाउने क्रम बढ्न थाल्यो र केरामा व्यवसायीहरु सफल हुन थाले । तर फेरि १९९० मा ढुसीको नयाँ जात देखा पर्यो पहिला रेस वान भन्ने थियो भनेपछि रेस ४ भन्ने देखा पर्यो । रेस चार अहिले संसारमा भएका सबै केरालाई ध्वस्त गर्ने क्षमता राख्दछ र एकदमै आक्रामक छ, पहिलेको भन्दा यो तिब्र गतिमा संसारभरि फैलिरहेको छ । इण्डोनेसिया, मलेसिया, फिलिपिन्स, म्यान्मार, पाकिस्तान, अफ्रिका, साउथ अमेरिका, अस्ट्रेलिया पुगेको छ । हाम्रो छिमेकी देश चीनमा २००२ मा र भारतको उत्तर प्रदेश र विहारमा सन् २०१५ मा यो रोग देखा परेको छ । यो रोग केरामा माटोबाट सर्ने हुँदा माटोबाट अर्को ठाउँमा सर्छ, संक्रमित केराका बोटबाट पनि यो सर्ने गर्छ । त्यसमाथि रोग संक्रमित केराको खेतमा सिँचाइ गरेको पानी, अर्को खेतमा गयो भने त्यो पानीबाट पनि सर्छ । खेतमा काम गर्दाखेरी औजारहरु, ट्याक्टरहरु, पशु वा मान्छे नै हिँडेको छ भने हाम्रो खुट्टामा टाँसिने माटोबाट अर्को खेतमा सर्ने भयो । यसरी यसले रोग लागेको माटोबाट सरेको हो भने त्यसको लक्षणहरु देखिनको लागि ५÷६ महिना जति लाग्छ भने विरुवाबाट सरेको हो भने २÷३ महिनामै लक्षणहरु देखा पर्ने हुनाले यो रोगले नेपालको केरा व्यवसायमा ठूलो चुनौति थपेको छ ।

Khadga Memorial And Janajagriti

प्रश्नः यसले पार्ने प्रभाव र क्षतिलाई कसरी हेर्नु भएको छ ?

यो असाध्यै आक्रामक ढुसी हो, यसले एउटा खेतमा माटोबाट सर्ने हुँदाखेरी त्यहाँ थुप्रै क्रियाकलाप हुन्छ जस्तैः गोडमेलको काम, कामदारहरु एक ठाउँबाट अर्को ठाउँमा हिँडिराखेको हुन्छ, मान्छेको खुट्टामा माटो टाँसिने, औजारहरुमा माटो टाँसिने, सिँचाइ गरिन्छ त्यसको पानीबाट वा आकाशबाट परेको पानी एक ठाउँबाट अर्को ठाउँमा गएपछि त्यो खेतमा पूरै फैलिन्छ रोगले सबै बिरुवा मर्छ, विरुवा ढल्छ र उत्पादन शुन्य हुन्छ र बगैचा नै सखाप गर्ने क्षमता राख्दछ । अर्को कुरा कुनै पनि जात योसँग सहन सक्ने नहुँदा खेरी समयमा यसलाई रोक्नका लागि हामीले प्रयास गरेनौं भने यसले नेपालको केराखेतीलाई निकै ठूलो असर पार्ने देखिन्छ ।

प्रश्नः यो रोग देखिएपछि किसानहरु चिन्तित छन्, उहाँहरुलाई के भन्नुहुन्छ ?

किसानहरु चिन्तित हुनु स्वभाविकै हो । यो पानामा रोगको इतिहास हेर्ने हो भने यसलाई कृषिको इतिहासमा सबैभन्दा ठूलो महामारीका रुपमा लिने गरिन्छ । त्यसैले किसानहरु चिन्तित हुनु त स्वभाविकै हो तर यो माटोबाट सर्ने रोग हो, यो हावाबाट सर्दैन । तुलनात्मक रुपमा हावाबाट सर्ने रोग भन्दा माटोबाट सर्ने रोगहरुलाई हामीले सजिलै बचाउन सकिन्छ । विरुवालाई आफ्नो खेतमा रोग आउनबाट बचाउन सकिन्छ अर्को हामीले शुरुकै अवस्थामा यो रोग पत्ता लगाएका छौं, जसले गर्दा धेरै किसानको खेतमा फैलिसकेपछि रोग पत्ता लागेको भए पनि हामीले धेरै केही गर्न सकिने अवस्था हुँदैन थियो । त्यसकारण शुरुको अवस्थामा रोग पत्ता लागेको हुँदा किसानले सचेतता अपनायो भने हामीले केरा खेतीलाई यसरी नै निरन्तरता दिन सकिन्छ, बचाउन सकिन्छ । त्यसैले धेरै आत्तिनु पर्ने अवस्था छैन । म दुई तीन वटा कुराहरु किसानलाई अनुरोध गर्न चाहन्छु । पहिलो, टीकापुरमा हामीले गरेको छलफलबाट एउटा प्राविधिक आचारसंहिता जारी गरेका छौं । किसानहरुले आफ्नो खेतमा जैविक सुरक्षाका विधिहरु अपनाउनु पर्यो । त्यो भनेको हामीलाई थाहा छ यो माटोबाट सर्छ, संक्रमित खेतमा उत्पादन गरेको गाना (केराको जरा) वा बोटहरुबाट सर्छ, औजारहरुबाट सर्छ, मान्छेको खुट्टामा टाँसिएर सर्छ भनेपछि हामीले हाम्रो खेतमा चारैतिर रोग छ, त्यो रोगबाट हाम्रो खेतलाई बचाउन तारबार वा घेराबन्दी गरेर राख्ने, जाने र आउने बाटो एउटै राख्ने, खेतभित्र प्रयोग गर्ने जुत्ताहरु वा बुटहरु खेतमै राख्ने, बाहिरबाट जाँदा पहिले लगाएको जुत्ता बाहिर राखेर सेनिटाइजेसन गर्ने र खेतमा भएको जुत्ता लगाएर मात्रै काम गर्ने । फेरि फर्किदा पनि भित्रको जुत्ता भित्रै राख्ने र बाहिर अर्को जुत्ता लगाएर हिँड्ने यो गर्दाखेरी बाहिरको माटोबाट सर्ने रोगलाई रोक्न सकिन्छ । यदि कुनै कृषि औजारलाई प्रयोग गर्ने हो भने तपाईले मजाले पानीले सफा गरेर ब्लिचमा केहीबेर डुबायौं भने किटाणुहरु मर्छ भन्ने छ, त्यो डुबाएर प्रयोग गर्दा त्यसबाट पनि सर्दैन । यदि तपाईको खेतमा बाढीको समस्या छ, रोगग्रसित क्षेत्रबाट आएको पानी तपाईको खेतमा पस्ने सम्भावना छ भने खेतको वरिपरि नाला बनाई दिँदा भित्र र बाहिरबाट आएको पानीले नालामै जम्मा हुन्छ, खेतमा जाँदैन यसो गर्दा पानीबाट सर्ने कुरा पनि रोकियो । अर्को महत्वपूर्ण कुरा टिस्युकल्चर गरिएको विरुवाहरु लगाउनु भयो भने यो रोग सर्दैन, गानाको विरुवा भन्दा टिस्युकल्चरको विरुवा लगाउने हो भने हामी बचाउन सक्छौं । अर्कातिर यसलाई सामान्यीकरण गर्नुहुँदैन भने किसानहरु धेरै हतोत्साहित हुनुपर्ने अवस्था पनि छैन । यसको व्यवस्थापनका लागि थोरै कुरामा ध्यान दिए यो रोक्न सकिने हुनाले किसानहरुलाई धेरै चिन्तित नहुन आग्रह गर्दछु ।

प्रश्नः यसको समाधानका लागि भइरहेका पहलहरु के के छन् ?

पहिलो कुरा यो रोग सहन सक्ने जात संसारभरि छैन । दोश्रो कुरा यसको व्यवस्थापनका लागि पनि संसारभरि एकदम प्रभावकारी विधिहरु अहिलेसम्म पत्ता लाग्न सकेको छैन । त्यसकारणले हामीले पहिलो विधि यो रोग हाम्रो खेतमा आउनबाट बचाउने हो, त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । हामीले माथि भनेका कुराहरु यहाँहरुले ध्यान दिनु भयो भने हामीले हाम्रो खेतलाई बचाउन सक्छौं । राज्यस्तरबाट सुदूरपश्चिम प्रदेशको, स्थानीय निकायको कृषिशाखाहरुसँग छलफल गरेर हामीले यो रोगको सर्वेक्षणको काम तीब्र गतिमा गर्नुपर्नेछ । त्यसका लागि हामीले सुदूरपश्चिमको टिमलाई नार्कको टिमले प्रशिक्षण समेत दिएका छौं । उहाँहरु किसानको खेतमा जानुहुन्छ, रोग शंकास्पद लागेपछि नमूना संकलन गरेर नार्कमा वा सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरमा रहेको ल्याबमा पठायो भने परीक्षण गर्छौं र रोगबारे पुष्टि गर्न सजिलो हुन्छ । सकेसम्म यो रोगलाई संक्रमित ठाउँबाट अर्कोतिर नसर्नको लागि हामीले आचारसंहिता जारी गरेका छौं । त्यसबाहेक यो रोग देखिएका किसानहरुको असाध्यै ग्रसित बारीलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा थप छलफल गरिरहेका छौं । रोगग्रस्त बारीमा केरा भन्दा अर्को के बाली सबैभन्दा उपयुक्त हुन्छ भन्ने विषयमा हामी छलफलहरु गरिरहेका छौं । हामीले एउटा तथ्यपत्र जसलाई फ्याक्ट सिट भन्छ, यो नयाँ रोग हो, कृषकहरुलाई यसको बारेमा धेरै ज्ञान छैन त्यो तथ्यपत्र जारी गरेर किसानहरुलाई उपलब्ध गराएका छौं । नार्कको ग्रीन हाउसमा यसका बारेमा अध्ययन, अनुसन्धान गरेर कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर काम गरिरहेका छौं । कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले यसका लागि चाहिने नीतिगत निणर्यहरु गरिरहेको छ । भारतबाट केरा बोकेर आउने गाडीलाई अनिवार्य रुपमा भन्सारमा सफा गरेर निर्मुलीकरण गरेर मात्रै भित्र पठाउने र केराको हाता (काँइयो) मात्रै पठाउने, पात पतिंगर केही पनि नल्याउने भनेर क्वारिन्टिन अफिसरहरुलाई निर्देशन जारी भइसकेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update