Hamro Patra
केरामा ‘पानामा टीआर–फोर' : केरा किसान चिन्तित

टीकापुर, भदौ ३०

विगत आठ वर्षदेखि दशैं तिहारको छेको पारी बजारमा केरा पठाउँदै आएका कैलालीको टीकापुरका एक किसानको छ विघा बारीमा केरा लटरम्म फलेको छ । झण्डै वर्ष दिनको मेहेनतपछि चाडपर्व नजिकिएसँगै केरा झनै पोटिलो हुँदैछ ।

दशैंको उत्साह र बजारको उच्च मागले हरेक दशैंमा पुलकित हुने उनी यस वर्ष निकै चिन्तामा छन् । बजार पठाउन ठिक्क हुँदै गरेको केराबारी केही दिनयता झनझन पहेंलो हुँदैछ । औषधीले समेत काम नगरेका बेला उनको बारीमा नेपालमै पहिलो पटक देखिएको ‘पानामा टीआर–फोर (ट्रोपिकल रेस चार)’ नामक हानिकारक प्रजातिको रोग लागेको पुष्टि भएपछि उनी चिन्तामा परेका हुन् ।

Khadga Memorial And Janajagriti

‘वर्षभरि मेहेनत गरेर दशैं तिहारमा बजार पठाउने तयारी गरिरहेका बेला बारीका अधिकांश बोट पहेंला हुँदै गएका छन्’ उनले भने ‘पानामा टीआर–फोर नामक घातक रोग देखिएको रहेछ, फललाई असर गर्दैन तर बोट नै सखाप हुने वैज्ञानिकको भनाई सुनेपछि मेरो भोक निन्द्रा हराएको छ ।’

अर्काको जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनले बोट हुर्काउनेदेखि फल फलाउँदासम्म मोटो रकम खर्च गरिसकेका छन् । ‘फललाई असर नगर्ने हुँदा केही दिनअघि नै केरा बजार पठाउन सकिन्छ’ उनले भने ‘यो रोग लागेको केरा खानु हुन्न भन्ने उपभोक्तालाई परेछ भने हामी बर्बादै हुन्छौं, प्रतिविघा ३÷४ लाख खर्च भइसकेको हुन्छ ।’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय टीकापुरले गरेको अन्वेषणमा उनीसहित टीकापुरका चार वटा बारीमा ‘पानामा टीआर–फोर’ हानिकारक प्रजातिको रोग लागेको तथ्य पुष्टि गरेको हो ।

नार्कका कृषि वैज्ञानिक डाक्टर रामबहादुर खड्का, सुरज बैद्य लगायतको टोलीले गत साउन १० गते टीकापुरका नौ वटा बारीमा शंकास्पद लक्षण देखिएपछि परीक्षणका लागि नमूना काठमाडौं लगेका थिए । ती नौ बारीमध्ये चार बारीमा पानामा पुष्टि भएको हो ।

काठमाडौंमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा केरामा लाग्ने पुरानो रोग ‘पानामा’ को नयाँ प्रजाति ‘टीआर–फोर’ को लक्षण देखिएपछि वैज्ञानिकहरुले त्यसको जाँचका लागि हङकङस्थित बेइजिङ जिनोमिक इन्ष्टिच्यूटमा नमूना पठाएका थिए । त्यहाँबाट भदौ १ गते आएको प्रयोगशाला रिपोर्टमा ती चार बारीमा ‘पानामा टीआर–फोर’ रोग पुष्टि भएको हो ।

केराको पकेट क्षेत्रका रुपमा विकसित हुँदै देशभर केराको बजार विस्तार गरिरहेका टीकापुरका केरा किसानहरु उक्त रोग पुष्टि भएसँगै चिन्तामा परेका छन् ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलालीमा व्यवसायिक रुपमा ८ शय ७५ हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको केराखेतीबाट गत वर्ष कैलालीमा मात्रै १ अर्ब ७० करोड ९ लाख २० हजार मुल्य बराबरको २६ हजार ७ शय ७३ मेट्रिक टन केरा उत्पादन भएको थियो । नेपालमै पहिलो पटक देखिएको पानामा रोगका कारण उक्त उत्पादनमा असर पर्नेमा किसानहरु चिन्तित छन् ।

कैलालीमा उत्पादन हुने केरा धनगढी, नेपालगञ्ज, महेन्द्रनगर, सुर्खेत, दाङ्ग, बुटबल, काठमाडौं, पोखराका बजारमा बिक्री हुँदै आएको छ ।

नेपालमै केरा उत्पादनमा उल्लेख्य हिस्सा ओगटेको टीकापुर क्षेत्रका केरामा घातक रोग देखिएपछि किसानहरु चिन्तित बनेको केरा उत्पादक संघ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले बताए ।

‘अन्य देशहरुमा विभिन्न समयमा देखा परेर केराखेतीमा ठूलो नोक्सान पुर्याएको पानामा टीआर फोर नेपालमै पहिलो पटक देखिएको हो’ उपाध्यक्ष धामीले भने ‘ठूलो क्षेत्रफलमा लगाइएको केरामा कहाँ कहाँ रोग छ भन्ने निक्र्यौल गर्न नै हामीलाई समस्या भएको हो, वैज्ञानिकहरुका अनुसार टीआर फोरका कारण जि नाइन केराको बारी नै नष्ट गर्नुपर्ने अवस्था आउन सक्ने हुनाले किसानहरु निकै चिन्तित छन् ।’

उपाध्यक्ष धामीले कैलालीका ९० प्रतिशत बारीमा जी नाइन जातको केराखेती भइरहेको बताउँदै नेपालकै केरा उत्पादनमा ठूलो हिस्सा ओगट्ने टीकापुर क्षेत्रमा देखिएको रोग नियन्त्रणका लागि निर्मम कदम चाल्नुपर्ने बताए ।

माटो, पानी र बारीमा प्रयोग गरिएको औजारबाट सजिलै सर्ने गरेको टीआर फोरको संक्रमण निकै घातक मानिएकाले यसको निर्मुलका लागि स्थानीय तहले निर्मम कदम चाल्नुपर्ने धामीले बताए । धामीले कैलालीका अन्य केराबारीमा समेत रोग हुनसक्ने आशंका गरे ।

‘एक बारीबाट अर्कोमा सर्ने, सर्यो भने लामो समयसम्म केरा उत्पादन नहुने, पाँच छ महिनापछि मात्रै रोग पत्ता लाग्ने, माटो, पानीबाट सर्ने भएकाले यसमा स्थानीय सरकारले निर्मम कदम चाल्नुपर्छ’ धामीले भने ‘पीडित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गरेर तत्काल बारी नष्ट गर्नुपर्ने वैज्ञानिकहरुले सुझाव दिएका छन् ।’

के हो पानामा टीआर फोर ?

नार्कका कृषि वैज्ञानिक डाक्टर रामबहादुर खड्काका अनुसार पानामा टीआर फोर केराको समुल नष्ट गर्ने घातक प्रजातिको रोग हो । सन् १९७४ मा पहिलो पटक अस्टे«लियामा फेला परेको पानामा रोगका कारण अष्ट्रेलियासहित, अफ्रिकाका सबै केरा खेती सखाप भएको वैज्ञानिक खड्का बताउँछन् ।

खड्काका अनुसार तत्कालीन केराका प्रजातिहरु यो रोगसँग लड्न नसकेपछि वैज्ञानिकहरुले रोगलाई यथावत नै छाडेर केराको नयाँ प्रजाति ‘जी–नाइन’ आविष्कार गरेर व्यावसायिक केरा खेतीलाई पुनर्जीवन दिएका थिए ।

विश्वभर व्यावसायिक केरा खेतीमा ‘जी–नाइन’ जातको प्रयोग थालिएपछि अन्य रैथाने केरा पानामा रोगका कारण मासिएको उनी बताउँछन् । ‘पानामा’ रोग नेपालमा १५ वर्ष अघि भित्रिएको र त्यसले नेपालको रैथाने मालभोग जातको केरा नष्ट गरेको डाक्टर खड्काको तर्क छ ।

नेपालको रैथाने केरामा सो रोग रहेपनि अहिले व्यावसायिक रुपमा भइरहेको केरा खेतीको ८० प्रतिशत हिस्सा ओगट्ने ‘जी नाइन’ जातको केरामा नयाँ रोग देखिएको थिएन ।

वैज्ञानिकहरुले विश्वमा व्यावसायिक केरा खेतीका लागि विकास गरेको ‘जी–नाइन’ जातको केरामा पहिलो पटक १९९६ मा इन्डोनोसियामा यो रोग पुष्टि भएको थियो । भारतमा सन् २०१५ मा यो रोग देखिए पनि नेपालमा भने पहिलो पटक देखा परेको डा. खड्का बताउँछन् ।

रोगले पार्ने प्रभाव

नार्कका वैज्ञानिकहरुका अनुसार नेपालमा अहिले व्यावसायिक रुपमा ‘जी–नाइन’ जातको केरा खेती भइरहेको छ । राष्ट्रिय फलफूल विकास केन्द्रले ०७८/०७९ मा प्रकाशित गरेको वर्षे बाली फलफूलको तथ्यांकमा नेपालमा २६ हजार ६ शय ४८ हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । उक्त तथ्यांकमा वार्षिक ३ लाख ३९ हजार ४ शय ३५ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।

वैज्ञानिक खड्काका अनुसार पानामा टिआर फोर रोग लागेका खण्डमा केराको फेदैदेखि पात पहेंलो हुने, बोट नै नष्ट हुने लक्षण ५ देखि ६ महिनाभित्र देखा पर्दछ ।

‘माटोबाट, केराको सकर (केरासँगै उम्रिएको नयाँ बोट) विरुवाबाट, बारीमा प्रयोग गरिएको औजारबाट सजिलै सर्ने निकै हानिकारक रोग हो, एकपटक माटोमा यो प्रजाति देखिए वर्षौंसम्म केराखेती गर्न सकिँदैन’ डाक्टर खड्काले भने ‘बेलैमा रोग नियन्त्रण गर्न नसके नेपालमा व्यावसायिक केराखेती नै मासिने जोखिम हाम्रो अध्ययन र विश्व घटनाहरुले देखाएका छन् ।’

सबै जातका केरालाई सङ्क्रमण गर्ने टीआर फोर फैलिए सबैतिरका केरा सखाप हुन सक्ने भएकाले कृषि अर्थतन्त्रमा गम्भीर समस्या हुने सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय कृषि अर्थशास्त्रका उपप्राध्यापक सन्तोष उपाध्यायले बताउँछन् ।

‘यो रोगको समयमै रोकथाम गर्न नसके केरामा भएको लगानी हेर्दा करिब १५ अर्ब बराबरको केरा व्यवसाय नोक्सान हुने देखिन्छ’ उपप्राध्यापक उपाध्यायले भने ‘यसबाट देशभरका ३६ हजार किसान प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।’

टीआरफोरको जीवाणु माटोमा हुने भएकाले केराको फल भने सधैँ सुरक्षित हुने र खान मिल्ने उपप्रध्यापक उपाध्यायले बताए ।

के छ निदान ?

पानामा टीआर फोर रोगको हालसम्म कुनै पनि औषधी बनेको छैन । यो रोगबारे नार्क, सुदूरपश्चिम प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालय, रानी, जमरा कुलरिया सिँचाइ आयोजना कृषि इकाई, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय र केरा किसानबीच छलफल भएको छ ।

ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माका अनुसार रोगको सङ्क्रमण रोक्न भदौ ५ गते गरिएको छलफलबाट केराबारीमा ‘कम क्लीन गो क्लीन’को अवधारणा अवलम्बन गर्ने निर्णय गरिएको छ ।

‘उक्त अवधारणा अनुसार बारीमा काम गर्ने मानिस पनि सफा भएर जानु पर्ने, काम गरिसकेपछि पनि सरसफाइ गर्नुपर्ने, सङ्क्रमण भएको बारीको माटो अर्को बारीमा पुगे त्यहाँ पनि जीवाणु जानसक्ने भएकाले प्रयोग गरेका जुत्ता चप्पल, औजारहरू निर्मलीकरण गर्नुपर्ने निर्णय गरिएको छ’ शर्माले भने ‘आफ्नो बारी आफै हेर्ने, निगरानी बढाउने, शंकास्पद देखिए कृषि विज्ञान संकायमा रहेको ल्याबमा परीक्षण गर्ने र जथाभावी मानिस र पशुपन्छी प्रभावित बारीमा जान आउनबाट रोक लगाउने हो ।’

शर्माले रोगले बोटलाई प्रभावित गरे पनि फललाई कुनै असर नगर्ने हुँदा किसानलाई त्रसित नहुन आग्रह गरे ।

यस्तै, आयोजनाका कृषि कार्यक्रम कार्यान्वयन इकाई प्रमुख कलशराम चौधरीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ । समितिमा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय, कृषि तथा वन विज्ञान अध्ययन संस्थान (रामपुर) का प्राध्यापकहरू, स्थानीय पालिकाका कृषि विकास शाखाका प्रमुखहरू र किसानहरू सदस्यका रूपमा छन् ।

समितिले पानामा टीआरफोर रोगको थप अध्ययन अनुसन्धानमा सहयोग, समन्वय र सङ्क्रमण रोक्न आवश्यक उपाय अपनाउने छ । भारतीय सीमा क्षेत्रसँग जोडिएको कैलालीमा क्वारेन्टाइन परीक्षण विना नै आउने गरेका विरुवाबाट पानामा रोग नेपाल भित्रिएको हुनसक्ने किसानहरु बताउँछन् ।

केरा किसान समेत रहेका केरा उत्पादक महासंघ तदर्थ समितिका केन्द्रिय उपाध्यक्ष दीपेन्द्र चौधरीले रोगका कारण केरा उत्पादक किसानको मनोबल कमजोर भएको बताए ।

‘कृषि वस्तुहरु क्वारेन्टाइनको प्रक्रिया पूरा नगरी निर्वाध रुपमा नेपाल भित्रिएकाले यो रोग भारतबाटै आएको हाम्रो अनुमान छ’ उपाध्यक्ष चौधरीले भने ‘भारतबाट आउने कृषिजन्य उत्पादनको क्वारेन्टाइन परीक्षण विना प्रवेशमा रोग लगाइनु पर्छ ।’

चौधरीले केराखेती गर्दै आइरहेका व्यावसायिक किसानलाई रोगको प्रभावबाट पर्ने असरबारे सचेत रहँदै तत्काल रोगको व्यवस्थापन र उचित क्षतिपूर्तिको पहल गर्न माग गरे ।

‘नेपालमा टीकापुर क्षेत्रको केराले ठूलो हिस्सा ओगटेको छ, आधुनिक प्रविधियुक्त केराखेती गर्दै आएका किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न आवश्यक छ’ चौधरीले भने ‘रोगको व्यवस्थापनमा सरकारले तत्काल कानुनी व्यवस्था गर्न समेत हामी माग गरिरहेका छौं ।’

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update