Hamro Patra
फौजी किरा नियन्त्रण गर्न जैविक विधि

टीकापुर, भदौ २९

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार प्राध्यापक यज्ञराज पाठकले कृषि बालीमा देखिने फौजी किरा नियन्त्रणका लागि कृषि प्राविधिकहरु किसानको घर घरसम्म पुग्नुपर्ने बताएका छन् ।

विश्वविद्यालयका कृषि विज्ञान संकाय, स्कुल अफ एग्रिकल्चर टीकापुरले आयोजना गरेको प्रदेशस्तरीय जैविक विधिबाट फौजी किरा नियन्त्रण सम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

Khadga Memorial And Janajagriti

‘कृषि विज्ञान संकायले किसानका समस्या पहिचान गर्नका लागि कृषि विज्ञलाई किसानसम्म पुर्याउन कुनै कसर बाँकी राख्ने छैन’ रजिष्टार पाठकले भने ‘जैविक विधिबाटै रोग किरा नियन्त्रण गर्नका लागि किसानको घर घरसम्म प्राविधिकहरु पुग्न जरुरी छ ।’

सुदूरपश्चिमका कृषि व्यावसायी, कृषि प्रसार अधिकारी र कृषि विज्ञहरु सम्मेलित गोष्ठीमा सन् २०१९ देखि नेपालमा देखिएको फौजी किरा नियन्त्रणका लागि अपनाउन सकिने विधिबारे कार्यपत्र प्रस्तुत गरिएका छन् ।

कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले कृषि सुदृढ नबनेसम्म देश बन्न नसक्ने बताए । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयका योजना शाखा प्रमुख टीकाराम थापाले एकीकृत शत्रुजीव नियन्त्रण कार्यक्रमले फौजी किराको व्यवस्थापन गरेर क्षति कम गर्ने उद्देश्य राखिएको बताए ।

‘फौजी किराको नियन्त्रणबारे जैविक उपायका बारेमा हाम्रो शिक्षा नै प्रयोगात्मक हुन सकेन’ थापाले भने ‘यो प्रदेशमै विश्वविद्यालय, कृषि प्रसार सहजकर्ता, विद्यार्थी, किसानहरु र कृषि वैज्ञानिकहरुको संलग्नतामा भएको यो कार्यक्रमले थप मद्दत पुग्नेछ ।’

कार्यक्रममा बोल्दै कृषि अनुसन्धान केन्द्र डोटीका प्रमुख डाक्टर मथुरा यादवले फौजी किराले सुदूरपश्चिमको मकै बालीमा २० देखि ६० प्रतिशतसम्म क्षति पुर्याउँदै आएको बताए ।

‘४० हजार हेक्टरमा सुदूरपश्चिममा मकै खेती हुन्छ, झण्डै १३ लाख मेट्रिक टन उत्पादन छ’ डाक्टर यादवले भने ‘फौजी किराले २० देखि ६० प्रतिशतसम्म क्षति पुर्याइरहेको हुनाले पनि जैविक विधि प्रभावकारी हुनेछ ।’

कृषि विज्ञान संकायका संकाय प्रमुख सुशील न्याउपानेको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्र रावल, आइडीइ नेपालका वरिष्ठ विज्ञ ललित साह लगायतले बोलेका थिए ।

कार्यक्रममा प्राध्यापक डाक्टर सुन्दर तिवारी, साह, नार्कका कृषि वैज्ञानिक डाक्टर घनश्याम भण्डारी, सहप्राध्यापक न्यौपाने, आशिष घिमिरे लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update