Hamro Patra
अनुको जीवनमा आएको परिवर्तन

टीकापुर, भदौ २९


कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं. ९ पायल गाउँकी १४ वर्षीया अनु आउजी पढाईमा निकै अब्बल छिन । उनी कक्षा ८ सम्म पहिलो र दोस्रो रहिन । पढाईमा अब्बल भएपनि गरिवीका कारण उनी कक्षा ८ भन्दा माथि पढ्न नसक्ने अवस्था आयो ।


उनले कक्षा ८ सम्मको पढाई घर नजिकैको स्कुलबाट गरिन । त्यहाँ उनले निशुल्क अध्ययन गर्न पाएकी थिईन । जब कक्षा ८ उत्तीर्ण गरेपछि उनी कक्षा ९ का लागि टाढाको विद्यालय जानुपर्ने भयो । उनलाई कक्षा ९ मा भर्नाका लागि १ हजार ८ सय रुपैयाँ मागियो । ज्यालादारी काम गरेर घरपरिवार पाल्दै आएकी अनुकी आमालाई छोरीको विद्यालय भर्नाका लागि रकम जुटाउन निकै गाह्रो भयो । उनका बुबा बिरामी छन । बिरामी बुबाको उपचार खर्च समेत उनकी आमाले नै जुटाउनु पर्छ ।

Khadga Memorial And Janajagriti


उनी विद्यालय भर्ना हुन पाएकी थिईनन । तैपनि पढ्ने तिब्र इच्छाले उनी एक महिनादेखी नियमित विद्यालय गैरहेकी थिईन । एकदिन विद्यालयका प्रअ र कक्षा शिक्षकले सबै विद्यार्थीका अघि तिम्रो भर्ना भएको छैन भनेर सुनाए । उनलाई प्रअ र कक्षा शिक्षकले विद्यालय नआउनु नै भनेर कक्षाबाट निकालि दिए ।


उनले विद्यालयमा भोगेको कुरा आमालाई सुनाईन । गरिवीको रेखामूनी रहेकी उनकी आमाले छोरीको कुरालाई त्यति वास्ता गरिनन । उनी स्कुल जान पाईनन् । सँगैका साथीहरु विद्यालय जान्थे । उनलाई पनि जान मन लाग्थ्यो । तर विद्यालयमा भोगेको व्यवहारले चित्त दुख्थ्यो ।


उनलाई लज्जाबोध हुने, असुरक्षित र एक्लोपनको महसुस हुन् थाल्यो । उनी आमाबुबासँग नबोल्ने, टोलाउने, डराउने, एक्लै बस्न रुचाउने, सानो सानो कुरामा झर्किने, रिसाउने जस्ता व्यवहार देखाउन थालिन । उनले आफ्नो व्यक्तिगत सरसफाईमा समेत वास्ता गर्न छोडिन ।


छोरीमा देखिएको परिवर्तनले परिवारमा खैलाबैला भयो । अभिभावक उनको बिहे गरिदिन तयार भए । कसैले बिहे गरेपछि सन्चो हुन्छ भनेर अनुको आमाबुबालाई सुनाएछन । यो कुरा ६ महिना पछि बाल कल्याण संघ टीकापुरमा पुग्यो । संघले उनलाई नियमित मनोपरामर्ष दिन थाल्यो । उनले आफूले भोगेका सबै कुरा खुलेर व्यक्त गर्न थालिन । संघले उनको परिवारलाई समेत मनोपरामर्ष सेवा दियो ।


संघले नै उनको थप अध्ययनका लागि माहौल तयार पार्यो । उनलाई सेतीमैया चौधरी स्कुलमा समन्वय गरेर कक्षा ९ मा निशुल्क भर्ना गरियो । अहिले उनी नियमित स्कुल गैरहेकी छन । उनी पढार्ईमा एकदमै ध्यान दिने, मिहिनेत गर्ने र अनुशासनमा बस्ने र सबै साथीहरुसंग बोल्ने घुलमिल हुने गरेकी छन ।


उनका अभिभावक पनि छोरीले थप पढ्न पाएकोमा खुशी छन । अनुको धेरै पढेर डाक्टर बन्ने सपना छ । उनी अहिले वल्र्डभिजन इन्टरनेश्नल नेपाल र बाल कल्याण संघ टीकापुरद्वारा संचालित बाल स्पोनसरशिप कार्यक्रममा दर्ता भएकी छन ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update