Hamro Patra
सीमा नाकामा दुई देशका सुरक्षाकर्मीको संयुक्त हेल्पडेस्क

टीकापुर, भदौ ३१
सीमा नाकामा दुई देशका प्रहरीले नागरिकहरुलाई सहज आवागमनका लागि हेल्पडेस्क स्थापना गरेका छन । चाडपर्वको समय नजिकएसँगै सीमा नाकामा दुई देशका नागरिकहरुको ओहोरदोहोर बढेको छ ।

सीमा नाकामा चाडपर्वको समयमा हुने विभिन्न खाले अपराधिक क्रियाकलाप रोक्ने उद्देश्यले हेल्पडेस्क स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी खक्रौलाका इञ्चार्ज सशस्त्र प्रहरी निरिक्षक चन्द्रदेव भट्टले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका–९ खक्रौला पुल पारी दशगजा नजिक स्थापना गरिएको हेल्पडेस्कमा दुई देशका प्रहरी बस्ने गरेका छन । सशस्त्र प्रहरी निरिक्षक भट्टका अनुसार हेल्पडेस्कमा भारती सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीहरु समेत बसेका छन ।

सीमा नाकामा दुवै देशका नागरिकले भोग्ने कठिनाईका बारेमा हेल्पडेस्कले सहयोग गर्नेछ । हेल्पडेस्कले आफूले समाधान गर्न नसक्ने समस्यालाई माथिल्लो निकायमा जाहेर गर्ने बताईएको छ ।

खासगरी दशैंतिहार मनाउन घर फर्किएका नेपालीहरु सीमा नाकामा लुटिने र कुटिने घटना वर्षेनी हुने गरेका छन । तिनै घटनालाई मध्यनजर गरेर दुई देशका प्रहरीले सीमा नाकामा हेल्पडेस्क स्थापना गरेका हुन । हेल्पडेस्कले अन्य कुनै समस्यामा समेत नागरिकलाई सहयोग गर्ने बताईएको छ ।

खक्रौलास्थित छोटी भन्सार कार्यालय मुल भन्सारमा स्तरोन्नती भएपछि यस सीमा नाकामा आवागमन बढेको छ । विगतको तुलनामा दुई देशका नागरिकहरु बढी मात्रामा ओहोरदोहोर गर्न थालेका छन ।

सीमा नाकामा दुई देशका नागरिकहरुको ओहोरदोहोर बढेसँगै दुई देशका सुरक्षा अधिकारीहरुले सुरक्षा व्यवस्था कडा पार्नेमा ऐक्यवद्धता जनाएको देखिन्छ । उनीहरु सीमा नाकामा हुने कुनै पनि घटनाको मिलेर सामना गर्न तयार रहेको बताउँछन ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update