Hamro Patra
मौसमजन्य रोगका बिरामीहरु बढे

टीकापुर, भदौ २७

मौसममा आएको परिवर्तन र केही दिनयता परिरहेको वर्षाका कारण कैलालीको टीकापुर क्षेत्रमा मौसमजन्य रोगका बिरामीहरु बढेका छन् ।वर्षायाममा परेको पानीका कारण डेंगु, स्क्रप टाइफस, टाइफाइड, भाइरल ज्वरो, झाडापखाला जस्ता विरामीहरु बढ्दै गएका छन् ।

टीकापुर अस्पतालमा मौसमजन्य रोगका विरामीहरुको चापाचाप छ । अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर दीलिप शाहका अनुसार दुषित पानीका कारण र पानी जमेर देखिने रोग लागेका बिरामीहरु दैनिक रुपमा बढिरहेका छन् ।

Khadga Memorial And Janajagriti

‘दैनिक आउने अधिकांश विरामीहरुमा डेंगु, स्क्रबटाइफस, टाइफाइडहरु देखा परिरहेको छ’ डाक्टर शाहले भने ‘गर्मी मौसममा एक सातादेखि परेको पानीका कारण विरामीहरुको संख्या ह्वात्तै बढेको हो ।’

टीकापुर अस्तपालमा कैलालीको पूर्वी क्षेत्र, बर्दियाको पश्चिमी क्षेत्र गरी दैनिक ६ शय बढी विरामीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालका मेडिकल रेकर्डर शान्तराज जोशीका अनुसार डेंगु, स्क्रपटाइफस, टाइफाइड जस्ता रोग देखिएका ४२ जना विरामीहरु अस्पतालमा भर्ना छन् ।

‘आजको तथ्यांक अनुसार डेंगुका ४, स्क्रबटाइफसका ५, भाइरल ज्वरोका ४ र झाडापखालाका २ जना सिकिस्त विरामीहरुको भर्ना गरेर उपचार भइरहेको छ’ रेकर्डर जोशीले भने ‘निमोनिया, पिसाब संक्रमण, जनरल सर्जरी गरिएका ४२ जना भर्ना छन् भने सुत्केरी महिलाहरुको संख्या अलग छ ।’

गर्मी सकिने र जाडो शुरु हुने समय भएका कारण समेत मौसमजन्य रोगका विरामीहरु बढ्दै गएका हुन् । बिरामीको संख्या बढेपछि अस्पतालमा बेड पाउन समेत मुश्किल हुने गरेको कुरुवाहरु बताउँछन् । टीकापुर नगरपालिका वडा नं. १ की अप्सरा खत्रीले भनिन् ‘छोरीलाई डेंगु भएर ज्वरो ठीक हुन सकेको छैन, अस्पतालमा बेड नपाएर साँझ विहान घरबाट ल्याएर उपचार गराई रहेकी छु ।’

मौसममा आएको परिवर्तनले बिरामीको संख्या बढेपछि बेड पाउन मुश्किल भएको रेकर्डर जोशीले बताए ।
सरसफाईमा ध्यान दिन सके मात्रै मौसमजन्य रोगहरुबाट बच्न सकिने डाक्टर शाहले बताउँछन् ।

‘सरसफाईमा ध्यान दिने, घर वरपरका खाल्डाखुल्डी पुर्ने, झुल लगाएर सुत्ने, पानी तताएर मात्रै पिउने गरेमा यी रोगहरुबाट बच्न सकिन्छ’ डाक्टर शाहले भने ‘गर्मीबाट बच्न र सफा खानेकुरा र पानी पिउनेतर्फ ध्यान दिन जरुरी छ ।’

डेंगु र स्क्रबटाइफस रोगहरु बढि देखा परिरहेकाले समेत सचेत हुन डाक्टर शाहले सुझाएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update