Hamro Patra
बेपत्ता मेजर पण्डितको शव १६ दिनपछि भेटियो

टीकापुर, भदौ २६

गत भदौ ११ गतेदेखि बेपत्ता डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डितको शव मंगलबार भेरी नदीमा भेटिएको छ । त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको शव फेला परेको हो ।

भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी-५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।

CMA Staff

दुईवटा ढुङ्गाको खोँचमा बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठीसहित ठूलो ज्यान भएको व्यक्तिको शव देखेपछि चौकीमा खबर गरेको सार्कीले बताए । उनले त्यो मेजरको शव हुन सक्ने सूचना प्रहरीलाई दिएका थिए ।

सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो ।

त्यसलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा टोली खटिएको थियो। नेपाली सेनाका मेजर रवि शाहको टोली पनि उद्धार सामाग्रीसहित चिण्ढेबगर पुगेको थियो ।

प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली पनि पुगेको थियो। त्यसपछि खोचमा रहेको शव बाहिर निकालेर पहिचान प्रयास गरिएको थियो ।

घडी र औँठीबाट शव मेजरकै पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए । शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायत स्थानीय समेतको उपस्थितिमा मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा ल्याइँदैछ।

शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए ।

काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update