Hamro Patra
चित्रबहादुरको मृत्यु शंकास्पद

टीकापुर, भदौ २४

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ का ५६ वर्षीय चित्रबहादुर राजीको मृत्यु शंकास्पद देखिएको छ ।

नेपालमै अल्पसंख्यक मानिने राजी समुदायका अगुवा चित्रबहादुरको शव ज्योतिनगरस्थित आफ्नै घरदेखि शय मिटर पर शुक्रबार फेला परेको थियो ।

Khadga Memorial And Janajagriti

स्थानीय बासिन्दाका अनुसार शुक्रबार विहान १० बजे उनी मृत अवस्थामा फेला परेका थिए । उनका छिमेकी रत्नबहादुर राजीका अनुसार चित्रबहादुरको नाक, कान र टाउको पछाडिबाट रगत आएको र घाँटी लुलो थियो ।

‘उनको नाक, कान र टाउको पछाडिबाट रगत आएको थियो, शव उठाउँदा घाँटी पूरै लुलो थियो’ रत्नबहादुरले भने ‘घाँटी लुलो हुनु, रगत आउनुले हामीलाई मृत्यु शंकास्पद लागेको छ ।’

लामो समयदेखि राजी शाल्म समाज टीकापुरको अध्यक्ष रहेर समुदायको अधिकार र संरक्षणका लागि काम गर्दै आएका चित्रबहादुरको मृत्युले राजी समुदायलाई क्षति पुगेको रत्नबहादुरले बताए ।

‘हामी राज्यबाट पीडित माछा मार्ने, मह काँड्ने अल्पसंख्यक समुदायका हौं’ रत्नबहादुरले भने ‘हाम्रो शिक्षा, दिक्षा र अधिकारका लागि आवाज उठाउने नेता गुमाएका छौं, निकै दुःख लागेको छ ।’

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको बताए ।

‘पोष्टमार्टम् भइसकेको छ, रिपोर्ट आउन भने बाँकी छ’ प्रहरी निरीक्षक अवस्थीले भने ‘मेडिकल रिपोर्टले के भन्छ, थप कुरा त्यसपछि थाहा होला  तर घटनाबारे हामीले सुक्ष्म रुपमा अनुसन्धानको दृष्टिकोणबाट हेरिरहेका छौं ।’

नेपाली काँग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि रहेका राजी २०७४ को स्थानीय तह निर्वाचनसँगै नेकपा एमालेमा प्रवेश गरेका थिए । राजीको शव टीकापुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update