टीकापुर, भदौ २३
कैलालीको दक्षिणी भजनी नगरपालिका वडा नं. ५, पगियापसारवासीले मोहना नदीको कटान दीर्घकालीन नियन्त्रण गर्न माग गरेका छन् ।
खेतीयोग्य जमिन काटन गर्दै आएपछि यस समस्याको दीर्घकालीन समाधान तथा कटान नियन्त्रण गर्न उनीहरुले माग गरेका हुन् ।
नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दा धान खेतमा ठुलो क्षति पुगेको भनाइ स्थानीयवासीको छ । नदीको कटान नियन्त्रणका लागि बलियो भौतिक तटबन्ध बनाउनुपर्नेमा स्थानीयको जोड छ ।
‘जैविक तटबन्धले कटान रोकिएन’ स्थानीय सरस्वती बुढाले भने ‘कटान रोक्न यहाँ बलियो तटबन्ध बनाउनु पर्छ, दीगो र टिकाउ हुनुपर्यो ।’
यसअघि नदीको कटान नियन्त्रणका लागि जैविक तटबन्ध बनाइएको थियो तर मोहना नदीको बाढीलाई त्यो तटबन्धले थेग्न सकेन । अलि अलि कटान रोकिए पनि फेरि पूरानै हालत भएको बुढाले बताइन् । नदीले जमिन कटान गरेका कारण वर्षमा तीन महिना पनि खान नपुग्ने गरेको उनले दुःखेसो गरिन् ।
‘उर्वर जमिन कटान र बाढीले गर्दा भोकमरीको समस्या छ । वर्षमा तीन महिना पनि खान पुग्दैन’ बुढाले भनिन् । पगियापसारमा २०२८ सालदेखि गाउँ बस्दै आएको हो । तत्कालीन समयमा मोहना नदी बस्तीबाट निकै पर थियो ।
अहिले कटान गर्दै नदी पगियापसार गाउँसम्मै पुगिसकेको छ । वर्षेनी नदीले कटान गर्दै गएपछि कैयौँ परिवार विस्थापित भएका छन् । स्थानीय गगन बुढाका अनुसार खेतीयोग्य जमिन कटान गर्दै नदी गाउँसम्मै पुगेको छ ।
नदी कटान नियन्त्रणका लागि आफूहरूले केन्द्र, प्रदेश र स्थानीय नेताहरूलाई पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो उनले गरे । ‘कटान अहिलेदेखिको होइन, पहिलेदेखि कटान भइरहेको छ’ उनले अगाडि थपे ।
कैलाली क्षेत्र नम्बर ३ मा पर्ने भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पाटीको नेतृत्व छ । यसैगरी सो ठाउँबाट प्रदेश र संघमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारले जितेका छन् ।
तीनै तहको सरकारमा अहिले सो पार्टी सामेल रहेकाले यस पटक कटान नियन्त्रणका लागि तटबन्ध हुनेमा पगियापसारवासी अझ बढी आशावादी देखिएका छन् तर अपेक्षा अनुसार काम हुन सकेको छैन ।
सो क्षेत्रबाट निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीले मोहना नदीमा कटान नियन्त्रणका लागि तटबन्ध बन्ने बताए ।
‘पगियापसार नेपाल-भारत सीमा क्षेत्रमा पर्छ’ उनले भने, ‘त्यस ठाउँमा सीमा विवाद रहेकाले विवादित भूमि बाहेकका ठाउँमा जनताको तटबन्ध कार्यव्रmम अन्तर्गत तटबन्ध बन्छ ।’