Hamro Patra
सेतीलोक मार्ग चीनले बनाउनु पर्छः मुख्यमन्त्री कलमबहादुर शाह

टीकापुर, भदौ २२

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणमा सेती लोकमार्ग निर्माणको प्रस्ताव गर्न अनुरोध गरेको बताएका छन् ।

सुदूरपश्चिमको विकासका लागि माइस्टोनका रुपमा सेती लोकमार्गको निर्माणमा चीन सरकारसँग सहयोग माग्न प्रधानमन्त्री दाहाललाई आग्रह गरिएको मुख्यमन्त्री शाहले बताए ।

Khadga Memorial And Janajagriti

टीकापुर उद्योग वाणिज्य संघको २४औं वार्षिक साधारणसभामा प्रमुख अतिथिको आशनबाट बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।

‘हामीले सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट सम्मानीय प्रधानमन्त्रीज्यूको चीन भ्रमणमा सेती लोकमार्ग निर्माणको माग उठाउन अनुरोध गरेका छौं’ मुख्यमन्त्री शाहले भने ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणबाट समेत सुदूरपश्चिम प्रदेशको विकास निर्माणमा उलपब्धीमुलक सम्झौता भएका छन् ।’

मुख्यमन्त्री शाहले योजनाबद्ध शहरका रुपमा रहेको टीकापुर क्षेत्रले पछाडि परेको महशुस गर्नु नपर्ने बताए । ‘समय अनुसार केही कुरा हुन नसकेको होला, तर पनि टीकापुर पछाडि परेको भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन’ मुख्यमन्त्री शाहले भने टीकापुरको खक्रौलादेखि चिसापानी हुँदै जाने कर्णाली करिडोर निर्माणमा प्राथमिकता दिइएको छ, कर्णालीको प्रसारण लाइन लम्की हुँदै खक्रौला भएर जाने सहमति भएको छ, यसले पनि यहाँको सम्भावनालाई उजागर गर्नेछ ।’

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य लक्ष्मण किशोर चौधरीले टीकापुर छुट्टै जिल्ला नभएसम्म प्रगति गर्न नसक्ने बताए । ‘सुदूरपश्चिमबाट जहिल्यै हेपिएको टीकापुर छुट्टै जिल्ला नभएसम्म प्रगति हुने देखिँदैन’ चौधरीले भने ‘टीकापुरमा यातायात सेवा केन्द्र, खक्रौलामा प्रयोगशालासहितको क्वारेन्टाइन निर्माणमा सुदूरपश्चिम प्रदेश सरकारले पहल गर्नुपर्छ ।’

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले सुदूरपश्चिम प्रदेशको बैठक टीकापुर पार्कमा राख्न प्रस्ताव गरे ।

कार्यक्रममा संघको पूर्वअध्यक्ष नवराज रावल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य हेमराज गिरी, कैलाली होटल व्यवसायी संघका अध्यक्ष खेमराज कुँवर लगायतले बोलेका थिए । संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update