Hamro Patra
खड्ग स्मृति सम्मान व्यवशायी खड्गप्रसाद विश्वकर्मालाई

टीकापुर, भदौ २५
टीकापुर उद्योग वाणिज्य संघले यसवर्षको खड्ग स्मृति सम्मानद्वारा धौलागिरी घडी तथा क्यासेट सेन्टरका सञ्चालक खड्गप्रसाद विश्वकर्मालाई सम्मान गरेको छ ।

संघले २०४५ सालदेखी टीकापुरलाई कर्मथलो बनाएर यस क्षेत्रको ब्यापार व्यवशायमा सकृय रहेका विश्वकर्मालाई एक सफल व्यवशायीका रुपमा सम्मान गरेको हो ।

टीकापुर नगरका संस्थापक स्वर्गीय खड्गबहादुर सिँहको नाममा स्थापित खड्ग स्मृति सम्मान संघले हरेक वर्ष साधारण सभाका अवसरमा एकजना सफल व्यवशायीलाई प्रदान गर्दै आएको छ ।

Khadga Memorial And Janajagriti

त्यस्तै संघले उद्घाटनका अवसरमा टीकापुर नगरपालिकाबाट २०७५ को एसईई परिक्षामा सबैभन्दा बढी अंक हासिल गरेर उत्तीर्ण हुने सामुदायिक र संस्थागत विद्यालयका एक–एक जना छात्रछात्रालाई प्रसंशा पत्र र नगद सहित पुरस्कृत गरेको छ ।

यसरी पुरस्कृत हुनेमा सामुदायिक विद्यालयतर्फ खड्ग स्मृति माविका छात्र प्रिन्स न्यौपाने र कर्णाली माविका छात्रा गरिमा लम्साल तथा संस्थागत विद्यालयतर्फ विरेन्द्र विद्या मन्दिरका छात्र रोशन शाही र आईएमई स्कुल अस्नेहरीका छात्रा निकिता चौधरी रहेका छन । उनीहरुले अध्ययन गरेको विद्यालयलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ ।

वार्षिक साधारण सभाको उद्घाटन समारोहको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजि क्षेत्र धरासायी हुने अवस्थामा पुगेको बताए । कार्यक्रमका प्रमुख अतिथि रहेका ढकालले राज्यले लगानीको सहज वातावरण बनाउन नसकेका कारण निजि क्षेत्र समस्या पर्दै गएको आरोप लगाए ।

उनले वैदेशिक रेमिटान्सले देश बन्ने कुरा सम्भव नभएको बताउँदै आफ्नै देशमा उद्योगधन्दा खोल्ने वातावरण बनाएर जनशक्तिको सदुपयोग गर्न आग्रह गरे । ‘रेमिटान्सले संसारको कुनै देश बनेको छैन’ उनले भने–‘समयमै जनशक्तिको सदुपयोग गरेर मुलुकलाई उत्पादनको दिशामा अघि बढाऔं ।’

सोही अवसरमा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले चिसापानीदेखी राजकाँडासम्म केवलकार सञ्चालनको तयारी भैरहेको बताए । उनले केवलकार सञ्चालनका लागि ईआईए रिपोर्ट आउन मात्रै बाँकी रहेको जानकारी दिए ।

उनले केवलकार सञ्चालन लगायतका कुरामा सहकार्य गर्न स्थानीयलाई आग्रह गरेका छन ।

उपाध्यक्ष सुरेन्द्र किशोर गिरीले स्वागत गरेको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दल, संघसंस्था लगायत पूर्वअध्यक्षहरुले बोलेका थिए ।

टीकापुर उद्योग वाणिज्य संघको २० औं वार्षिक साधारण सभा आवश्यक गणपुरक संख्या अपुग भएपछि सरेको छ । कुल १ हजार २ जना मध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने विधानमा व्यवस्था छ ।

आवश्यक गणपुरक संख्या अपुग भएपछि सरेको बन्द सत्रको मिति शुक्रवार (भदौ २७ गते) ११ बजे तोकिएको उपाध्यक्ष सुरेन्द्र किशोर गिरीले जानकारी दिए । दोस्रो पटक आह्वान भएको बन्द सत्रमा गणपुरक संख्या २५ प्रतिशत रहेको छ । तेस्रो पटक भने उपस्थित संख्याका आधारमा नै बन्द सत्र सञ्चालन हुने विधानतः व्यवस्था छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update