Hamro Patra
रोकिएन कर्णालीको कटानः खतरामा रानीको मुहान

टीकापुर, भदौ २१

कैलालीको जानकी गाउँपालिका वडा नं. ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा कर्णाली नदीले कटान तिब्र पारेको छ ।

नदीमा पानीको सतह घट्दै गएको भए पनि केही दिनयता कटान तिब्र पारेको हो । कटानका कारण वनका सयौं रुखहरु बगिरहेका छन् भने राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ अन्तर्गतको रानी कुलाको पूरानो मुहानसमेत कटानको जोखिममा परेको छ ।

Khadga Memorial And Janajagriti

वनका सदस्य रणवीर साउँदले वनघुर्सा घाटको वारीपट्टी, रानी कुलाको पूरानो मुहान नजिक कर्णाली नदीले तिब्र कटान गरिरहेको बताए ।

‘नदीको कटानका कारण सामुदायिक वनका कयौं रुखहरु बगिरहेका छन्’ उनले भने ‘दैनिक ५०÷६० मिटर भन्दा बढी कटान गरिरहेको छ, यस्तैगरी कटान भए रानी कुलाको पूरानो मुहानबाट कर्णाली नदी गाउँ पस्ने खतरा छ ।’

नदीले कटान गरिरहेको क्षेत्रबाट ३ शय मिटरको दूरीमा आयोजनाको मुख्य नहर छ । गत वर्षसम्म पूरानो मुहानबाट पानी ल्याएर सिँचाइ गर्दै आएका किसानहरु नदीको कटानका कारण नहरमा क्षति पुग्ने चिन्तामा छन् ।

टीकापुर नगरपालिका वडा नं. २ विजयनगरका हरि चौधरीले नदीले नियमित कटान गर्न थालेपछि नदी गाउँ फर्किने त्रास बढेको बताए ।

‘पूरानै कुलाको मुहान छ, त्यहाँबाट नहरमा पानी आउन गाहे छैन’ उनले भने ‘नदीको पानी आए टीकापुरको विजयनगर, बजार क्षेत्र, वडा नं. ५ लगायतका दर्जनौं बस्तीहरु डुबानमा पर्ने देखिन्छ ।’

कटानले आयोजनाले निर्माण गरेको तारजाली सहितको तटबन्ध समेत बगाएको स्थानीय रवीन्द्र शाहले बताए । ‘नदीले ग्याबिन तारजालीसहितको तटबन्ध बगाई रहेको छ’ शाहले भने ‘कटान तत्काल नियन्त्रण नगरे रानी कुलाको मुख्य नहर, पानीको आउटलेट र कुलामा रहेको चौकीदारको घरसमेत जोखिम पर्ने देखिन्छ ।’

वनका कोषाध्यक्ष समेत रहेका शाहले नदी कटानबारे आयोजनालाई लिखित जानकारी दिइएको भए पनि नियन्त्रणका लागि पहल नभएको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update