Hamro Patra
बालबालिका र गर्भवतीलाई पोषणयुक्त खाना पुर्याउँछौंः मुख्यमन्त्री शाह

टीकापुर, भदौ १९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका बालबालिका र गर्भवती महिलालाई पोषणयुक्त खानेकुरा पुर्याइने बताएका छन् ।

Khadga Memorial And Janajagriti

मुख्यमन्त्री शाहले आज धनगढीमा आयोजित स्थानीयस्तरमा बालबालिकाहरुको अवस्था विश्लेषण तथा वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘सुदूरपश्चिमका हरेक बालबालिका र गर्भवती महिलालाई पोषणयुक्त खानेकुरा पुर्याउने योजनामा छौं’ मुख्यमन्त्री शाहले भने ‘सरकार, गैरसरकारी संघ, संस्था सबै मिलेर हातेमालो गरे मात्रै यो काम सम्भव छ ।’

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले लागुपदार्थ डरलाग्दो रुपमा फैलिरहेको बताए । ‘सुदूरपश्चिममा लागुपदार्थको डरलाग्दो अवस्था देखिएको छ’ मन्त्री साउँदले भने ‘यसबाट बालबालिकालाई जोगाउन विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम गर्ने तयारीमा छौं ।’

कार्यक्रममा डोटीको आदर्श गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी रोकाया र अछामको कमलबजार नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख इन्दिरा ढुङ्गानाले पालिकामा बालबालिकाको अवस्थाका बारेमा जानकारी दिएकी थिइन् ।

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशीले गौरीगङ्गा नगरपालिका र बझाङका अध्यक्ष शैलेन्द्र रोकायाले बालबालिकाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

आस्था नेपालका अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न दशवटा साझेदार संस्था रहेका थिए । वल्र्ड भिजन इन्टरनेशनलको सहयोग तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको समन्वयमा भएको कार्यक्रममा कैलाली, डोटी, बझाङ र अछामका पालिका प्रमुख, उपप्रमुख र महिला तथा बालबालिका शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update