मुकेश चौधरी
धनगढी, भदौ १७
सुदूरपश्चिम प्रदेशमा वार्षिक रुपमा मासु दुध अण्डा अपुग रहेको प्रदेश पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर आवश्यक रहेकोमा प्रदेशमा ८०.७२ लिटर उपलब्ध छ भने प्रति व्यक्ति वार्षिक १४ किलो मासु आवश्यक रहेकोमा १०.६८ किलो उपलब्ध छ । त्यसैगरी, प्रति व्यक्ति वार्षिक ४८ गेटा अण्डा आवश्यक रहेकोमा ३० गोटा उपलब्ध छ ।
सुदूरपश्चिममा गत आर्थिक वर्ष २०७९।८० मा २ लाख ४४ हजार टन दुध, ३१ हजार ९० टन मासु र ९१ लाख गोटा अण्डा उत्पादन भएको निर्देशनालयले जनाएको छ । राष्ट्रिय उत्पादनमा सुदूरपश्चिमको योगदान दुधमा ११.२, मासुमा ९ र अण्डामा ६ प्रतिशत छ । प्रदेशमा आवश्यक दुध, मासु, अण्डा आयात गरी आवश्यकता पूर्ति भइरहेको निर्देशनालयले जनाएको छ ।
स्थापना भएदेखि प्रदेश सरकारले दुध, मासु, अण्डा, माछा, दलहन, फलफुल, खाद्यान्न बीउ, तरकारी, आलु, प्याज उत्पादनमा पाँच वर्षभित्रै आत्मनिर्भर प्रदेश बनाउने नीति लिएपनि सो लक्ष्य पुरा हुन सकेको छैन । सो नीति लिन थालेको छैठौं वर्षको नीति तथा कार्यक्रममा पनि प्रदेश सरकारले सो वस्तुमा उत्पादनमा पाँच वर्षभित्र आत्मनिर्भर प्रदेश बनाउने लक्ष्य लिएको छ । नीति तथा कार्यक्रममा नीति लिइने भनिएपनि बजेट र कार्यक्रम प्रभावकारी रुपमा विनियोजन र कार्यान्वयन नहुँदा उत्पादन बृद्धिदर सुस्त गतिमा छ ।
प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकार पुस्कर नाथले अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा दुध, मासु, अण्डाको उत्पादन बढेको बताए । उनले लम्पी स्किनका कारण दुध उत्पादनमा केही बाधा परेपनि उत्पादन बृद्धि भएको बताए । उनले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशमा दुधालु गाई एक लाख ४३ हजार छन भने दुधालु भैंसी एक लाख ४४ हजार छन् । उनले गाईको दुध एक लाख ३ हजार टन र भैंसीको दुध १ लाख ४१ हजार टन उत्पादन भएको बताए ।
प्रदेशमा गाईको संख्या घटेको छ । ०७७।७८ बाट ०७९।८० मा आउँदा १६ हजारले गाईको संख्या घटेको निर्देशनालयले जनाएको छ । सो अवधिमा भैंसीको संख्या ५ हजार ४०१, भेडाको संख्या २ हजार ४२९, बाख्रा १ हजार ७१०, बंगुर, ३ हजार ३१२, कुखुरा २ हजार २४२ र हाँस १८२ ले बढेको निर्देशनालयको तथ्यांक हो । दुई वर्ष लगाएर यो संख्यामा बृद्धि हुँदा पशुपंक्षी पालन बृद्धिदर निकै कम रहेको देखिन्छ ।
सुदूरपश्चिम प्रदेश सरकारले दुध, मासु र अण्डा उत्पादनमा आत्मनिर्भर विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिएको भएपनि सो सम्बन्धी कार्यक्रमहरु केन्द्रित गरिएको छैन । ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’ सञ्चालन गरी आगामी पाँच वर्षभित्र दलहन, मसलाबाली र फलफूलमा आन्मनिर्भर हुने नीति लिइनेछ,’ आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा भनिएको छ, ‘तरकारी, आलु, खाद्यान्न बीउ, केरा, दुध, मासु र अण्डामा आत्मनिभएर हुने विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’
बजेटमा समेत कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान सञ्चालन गर्ने पर्याप्त बजेट व्यवस्था गरेको उल्लेख छ । तर रातो किताबमा दुध, मासु र अण्डा उत्पादनका कार्यक्रमहरुमा ५ देखि २० लाख रुपैयाँसम्मको टुक्रे योजनाहरु मात्रै समेटिएका छन् । नौं वटै जिल्लाका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुले पशुपंक्षी पालनका लागि गर्ने कार्यक्रमहरुमा विगतको भन्दा बजेट घटेको देखिन्छ ।
ति कार्यक्रममा बाख्रा, भैंसी, कुखुरा, कालिज पालन फार्म स्थापना तथा सञ्चालन सम्बन्धी अनुदानहरु समेटिएका छन् । गत आर्थिक वर्षमा कृषि, वन तथा मत्स्यपालन शिर्षकमा १० अर्ब २३ करोड १२ लाख २४ हजार रुपैयाँ विनियोजन भएकोमा चालु आर्थिक वर्षमा ६ अर्ब ८१ करोड ९१ लाख ३४ हजार मात्रै विनियोजन गरिएको छ ।
प्रदेश सरकारले पशुपंक्षी जन्य उत्पादनमा आत्मनिर्भर प्रदेश बनाउने नीति लिएको भएपनि सो क्षेत्रमा बजेट विनियोजन घट्दै गएको छ । बजेट विनियोजनमा प्राथमिकतामा नपरेको दुध, मासु र अण्डा उत्पादन क्षेत्रको खर्च गर्ने दर समेत कमजोर छ । निर्देशनालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १७ करोड ७३ लाख ७३ हजार ९४६ रुपैयाँ विनियोजन भएकोमा ९१ प्रतिगशत खर्च भएको थियो ।
निर्देशनालयको सूचना अधिकारी पुस्कर नाथले आर्थिक वर्ष २०७८।७९ मा १४ करोड ७२ लाख १९ हजार रुपैयाँ विनियोजन भएकोमा ३९ प्रतिशत मात्रै खर्च भएको बताए । उनले उपलब्ध गराएको तथ्यांकमा ०७७।७८ मा २० करोड ४४ लाख ६१ हजार विनियोजन भएकोमा ७९ प्रतिशत र ०७६।७७ मा २२ करोड ५२ लाख ६४ हजार रुपैयाँ विनियोजन भएकोमा ५७ प्रतिशत खर्च भएको देखिन्छ ।