टीकापुर, भदौ १६
टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ९ स्थित नवदुर्गा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धु्रवराज खत्रीले टीकापुर नगरपालिकाका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रको कार्यान्वयन गर्न माग गरेका छन् ।
अध्यक्ष खत्रीले टीकापुरस्थित होटल सिद्धार्थमा पत्रकार सम्मेलन गर्दै आयोगको कञ्चनपुरस्थित कार्यालयले २०८० साउन १७ गते नगरपालिकाका नाममा पठाएको पत्र कार्यान्वयन गर्न माग गरेका हुन् ।
टीकापुर नगरपालिकाका नाममा पठाइएको उक्त पत्रमा ‘जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. १ स्थित नवदुर्गा आधारभूत विद्यालयमा २०७७ साल माघ महिनामा उक्त विद्यालयले केन्द्रबाट प्राप्त अनुदान कोटामा सोही विद्यालयका प्र.अ. रामप्रसाद भट्टराई र वि.नि. नरेश अवस्थीले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई समेत जानकारी नगराई आन्तरिक रुपमा फर्जी विद्यालय व्यवस्थापन समितिको बैठक र सम्झौता पत्र बनाई ‘शिक्षण सिकाई अनुदान व्यवस्थापन कार्यविधि २०७७ को परिच्छेद ३ को ७ मा भएको शिक्षक भर्ना सम्बन्धी व्यवस्था विपरीत निजी कोटामा कार्यरत शिक्षक भगवती भट्टराईलाई सिधै वि.नि.को आर्थिक चलखेलमा नियुक्त गरिएको सम्बन्धमा’ छानविन तथा आवश्यक कारवाही गरी सो को जानकारी यस कार्यालयलाई गराउनु भनिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले केन्द्रबाट प्राप्त कोटाबारे प्रधानाध्यापक भट्टराईले आफूलाई झुक्याई विद्यालय व्यवस्थापन समितिको निणर्य गराएको आरोप लगाएका छन् ।
‘मलाई झुक्काएर निणर्य गराएको रहेछ, अध्यक्ष भएको शुरु शुरुमा धेरै कुरा थाहा पनि थिएन’ खत्रीले भने ‘माघमा नियुक्त गरेर साउन पुनः नवीकरण गर्दा मात्रै केन्द्रको कोटाबारे जानकारी पाएको हुँ, जानकारी पाएलगत्तै कारवाहीका लागि नगरपालिका, जिल्ला प्रशासन र अख्तियारसम्म पुगेको हुँ ।’
खत्रीले विद्यालय निरीक्षक अवस्थी र प्रधानाध्यापक भट्टराईले आर्थिक चलखेल गरेको आरोप लगाए । विद्यालय व्यवस्थापन समितिले २०७७ माघ १० गते केन्द्रका् कोटामा भगवती भट्टराईलाई नियुक्त गर्ने निणर्य गरेको थियो । उक्त निणर्यमा आफ्नो हस्ताक्षर भएको स्वीकार्दै अध्यक्ष खत्रीले नियुक्त पत्रको सम्झौतामा आफ्नो हस्ताक्षर नक्कली गरिएको दाबी गरे ।
यता, विद्यालय निरीक्षक नरेश अवस्थीले विद्यालय व्यवस्थापन समितिको निणर्य अनुसार शिक्षकको नियुक्त भएको विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रतिक्रिया दिए । ‘अध्यक्ष खत्रीकै अध्यक्षतामा बसेको बैठकले निणर्य गरेको छ, पटक पटक अध्यक्ष चेक काटेर तलब खुवाएका छन्’ विद्यालय निरीक्षक अवस्थीले भने ‘आर्थिक चलखेलको आरोप प्रमाणित गर्न चुनौति दिन्छु ।’
खत्रीको उजुरीपछि विधि विज्ञान प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा नियुक्तिको निणर्यमा गरिएको हस्ताक्षर अध्यक्ष खत्रीकै भएको प्रमाणित भइसकेको अवस्थीले बताए ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद भट्टराईले अध्यक्ष खत्रीले आफ्ना व्यक्तिगत स्वार्थका कुरा नमान्दा अनेक बखेडा झिक्दै विद्यालयलाई बद्नाम गरेको आरोप लगाए ।
विद्यालयका प्र.अ.ले गल्ती गरे कारवाही गर्न सक्ने अधिकार व्यवस्थापन समितिलाई भएको दाबी गर्दै भट्टराईले अध्यक्ष खत्रीले लगाएका आरोप निराधार भएको तर्क गरे ।
‘व्यवस्थापनको बैठकमा, सम्झौता पत्रमा गरेको हस्ताक्षर नै अध्यक्षकै भएको प्रमाणित भइसकेपछि नियुक्त झुक्याएर गर्यो भन्ने नैतिकता अध्यक्षले गुमाई सकेका छन्’ भट्टराईले भने ‘आफ्नो स्वार्थ नमिल्दा उहाँ बखेडा गरिरहनु भएको हो, त्यसमा कुनै सत्यता छैन ।’
केन्द्रको अनुदान कोटामा २०७७ माघमा शिक्षक नियुक्त भएकी भगवती भट्टराईले २०७८ मै राजीनामा दिइसकेकी छन् ।