महेन्द्रनगर, भदौ १५
सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरिएको छ । शुक्रवार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले परीक्षा नियन्त्रक र सह-परीक्षा नियन्त्रकको कार्यकक्षमा तोडफोड गरेको हो । परीक्षा नियन्त्रक देवसिंह नाथले १२/१५ जना समाजवादीका नेता कार्यकर्ता कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताए ।
‘सह-परीक्षा नियन्त्रक र म परीक्षाको आगामी रणनीति बारे कुराकानी गर्दै थियौ’ नियन्त्रक नाथले भने-‘एक्कासी कार्यकक्षमै आएर विद्यार्थीहरुको मुख्य डाटा राख्ने सर्भर सहितको कम्प्युटरमा क्षति गरेका छन ।’
सहायक परीक्षा नियन्त्रक विर वहादुर सिँह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका टेबुल, कुर्सी, दराज र कम्प्युटरमा क्षति पुगेको छ ।
अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सृजना हुनुमा परीक्षा नियन्त्रक नाथ सहित विश्वविद्यालयका पदाधिकारी जिम्मेबार रहेको जनाएको छ । अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले आफुहरुको संगठनले ताडफोड नगरेको दाबी गरे ।