Hamro Patra
कैलालीमा लम्पी स्किनबाट २ शय ७५ पशु मरे
CMA Staff

टीकापुर, भदौ १०
महामारीका रुपमा देखा परेको लम्पी स्किन रोगको संक्रमणबाट कैलालीमा २ शय ७५ ओटा पशुचौपाया मरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीका अनुसार कैलालीमा उक्त संख्यामा पशुचौपाया मरेका हुन् । कार्यालयका अनुसार सबैभन्दा बढी १ शय १६ बाच्छचाच्छी मरेका छन् भने अहिलेसम्म गाई ९६, गोरु ४५ र भैसी ८ ओटा मरेका छन् ।
लम्पी स्किनबाट मृत्यु हुने दर पशुमा ४ प्रतिशत र संक्रमण फैलिने दर १० प्रतिशत रहेको छ । जिल्लामा अहिलेसम्म २५ हजार ७ शय ८५ पशु लम्पी स्किनबाट संक्रमित भएका छन् ।
संक्रमित मध्ये गाई ८ हजार २ शय २५, बाच्छाबाच्छी ७ हजार ५ शय ६०, भैसी ५ हजार ४ शय ४० र गोरु ४ हजार ५ शय ६० रहेका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीका प्रमुख हेमराज अवस्थीले जानकारी दिए ।
२५ हजार बढी पशुमा रोग फैलीसक्दा पनि करिब ६ हजार पशुमा मात्र खोप लगाएको देखिन्छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कैलालीका प्रमुख अवस्थीका अनुसार जिल्लामा अहिलेसम्म ५ हजार ८ शय ८५ पशुमा मात्र खोप लगाइएको छ । खोपको उपलब्धता कम भएका कारण संक्रमित सबै पशुमा खोप लगाउन नसकिएको प्रमुख अवस्थीको भनाई छ ।
यो एउटा महामारीका रुपमा रहेकाले पशुपालक किसानहरु निकै आक्रान्त बनिरहेका छन् । यतिबेला गाई, भैसी व्याउने र दुध बढी आउने समयमा गाई, भैसी मर्न थालेपछि पशुपालक किसानको पशु धनमा ठूलो क्षति भइरहेको छ ।
अहिलेसम्मको अवस्था हेर्दा कैलाली जिल्लामा करिब एक करोड बढीको पशु धनमा क्षति पुगेको केन्द्रले जनाएको छ । यसको रोकथाम खोप नै भएकाले सरकारले पर्याप्त मात्रामा खोप खरिद गरेर सबै पशुलाई खोप लगाउन सके किसानका पशुहरु जोगाउन सकिने नभए यो एउटा महामारीका रुपमा देखिएको रोग भएकाले रोकथाममा ठूलो समस्या हुने देखिएको छ ।
यसको रोकथामको लागि कैलालीका १३ ओटै पालिकामा उपचारको पोर्टोकलको सर्कुलर गरिएको र त्यही अनुसार सबैले काम गरेपछि रोग नियन्त्रण गर्न केही सहज हुने प्रमुख अवस्थीले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update