Hamro Patra
स्वास्थ्य विमाः स्वास्थ्य संस्थालाई भुक्तानी लिनै सकस

टीकापुर, भदौ १०

नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्न शुरु गरिएको स्वास्थ्य विमा कार्यक्रमबाट रकम भुक्तानी पाउन स्वास्थ्य संस्थाहरुलाई सकस हुने गरेको छ ।

Khadga Memorial And Janajagriti

स्वास्थ्य सेवा प्रदान गरेको ४ देखि ६ महिनासम्म समेत विमा रकम भुक्तानी नहुँदा स्वास्थ्य संस्थाहरु सकस झेल्दै आइरहेका छन् ।

स्वास्थ्य विमामार्फत् स्वास्थ्य सेवा उपलब्ध गराउँदै टीकापुर अस्तपालमा दैनिक ६ शय बढी विरामीहरु उपचारका लागि आउँछन् । ती मध्ये औसतमा २ शय ५० जना विरामी स्वास्थ्य विमामार्फत् उपचार गर्न आउँछन् भने दैनिक २० जनासम्म स्वास्थ्य विमा रेफरका लागि आउने गरेका छन् ।

स्वास्थ्य विमा शाखा प्रमुख सञ्जु शाहका अनुसार २०७९ फागुन २५ गतेदेखि असार मसान्तसम्म १९ हजार २ वटा विमा भुक्तानीका लागि दाबी गरिएको छ । ती दाबी अनुसार टीकापुर अस्पतालले ३ करोड ६ लाख ३७ हजार ४ शय ६६ रुपैयाँ भुक्तानी अझै पाएको छैन । गत चैत्र महिनादेखि हालसम्म पनि विमा रकम भुक्तानी नभएको अस्पतालले जनाएको छ ।

चार महिना बितिसक्दा समेत विमाबाफत्को रकम भुक्तानी नहुँदा अस्पताललाई आर्थिक भार पर्ने गरेको अस्पतालका लेखापाल निता रेग्मीले बताइन् ।

‘विमामा दाबी गरेको चार पाँच महिनापछि मात्रै रकम आउँछ, फार्मेसी, स्वास्थ्य उपकरण आदिका लागि सप्लायर्सलाई तत्काल भुक्तानी दिनुपर्छ’ लेखापाल रेग्मीले भनिन् ‘दाबी गरिएको कतिपय रकम भुक्तानी नहुने, विरामीले औषधी उपचार पाइसके पनि भुक्तानी नहुने जस्ता समस्याका कारण अस्पतालहरु थप समस्यामा छन् ।’

रकम भुक्तानीका लागि लामो समय पर्खिनु परे पनि टीकापुर अस्पतालले भने स्वास्थ्य विमालाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update