Hamro Patra
उत्पादन किसानको मुल्य तोक्छन् बिचौलिया

सुर्खेत, भदौ ६
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. ९ पर्सेनीका ६२ वर्षीय भुपबहादुर शाही बुधवार बिहान घरछेउको टनेलमा करेला टिपिरहेका थिए । टनेलमा लटरम्म करेला फलेका छन् । करेलाको सिजन सकिनै लाग्दा टनेलभित्र बेमौसमी टमाटर हुर्किदै छन् । एउटा गाई पालेका उनको गोठमा गोबर र गहुँत सजिलै जम्मा गर्न भकारो सुधार गरिएको छ ।

‘यो गोठ बनाएदेखि निकै सजिलो भएको छ, गोबर सोहर्न थोरै समय खर्च हुन्छ, गहुँतको विषादी बनाउन प्रयोग गर्छौं’ भुपबहादुरले भने ‘यो गोबर, झारपात गड्यौला ट्यांकीमा हाल्छौं, गड्यौंलाले त्यसलाई मल बनाउँछ, त्यो मल तरकारी बारीमा प्रयोग गरेर जैविक उत्पादन गरिरहेका छौं ।’

तीन कठ्ठा जमिनमा तीन वर्षदेखि तरकारी खेती गर्दै आएका उनको १० जनाको परिवार छ । जैविक खेती थालेदेखि वार्षिक २ लाखसम्मको आम्दानी गरिरहेका भुपबहादुर किसानको उत्पादनको मूल्य बिचौलियाले तोक्ने गरेको गुनासो गर्छन् ।

Khadga Memorial And Janajagriti

‘जैविक मल र जैविक विषादी प्रयोग गरेको ताजा तरकारीको मुल्य पाउन गाहे छ’ उनले भने ‘हामी उत्पादन गर्छाैं, मण्डीबाट व्यापारी आएर मुल्य तोक्छन्, उनीहरुकै मूल्यमा दिन बाध्य छौं ।’

भुपबहादुरको घरबाट झण्डै तीन शय मिटर दक्षिणतर्फ शिक्षा क्याम्पस सुर्खेतमा एमएड अध्ययनरत ३० वर्षीया बिन्दु शाही ६ कठ्ठामा तरकारी खेती गर्छिन् । बिन्दुको ८ जनाको परिवारको मुख्य आम्दानी तरकारी खेती नै हो । उनको बारीमा काँक्रा, बोडी, सिमी, काउली, टमाटर, आलु, करेला आदि तरकारी फल्छन् ।

केही वर्ष पहिलेसम्म रासायनिक मलको प्रयोग गर्ने बिन्दुको परिवार तीन वर्षदेखि जैविक मल तथा जैविक विषादी प्रयोग गरिरहेको छ । ‘गाईको गहुँत, असुरी, बकाइनो, खुर्सानी, लसुन, तितेपाती, मेवाको पात प्रयोग गरेर एक महिना लगाएर जैविक विषादी तयार गर्छाैं’ विन्दुले भनिन् ‘रसायनिक विषादीको तुलनामा जैविक विषादी निकै प्रभावकारी छ, स्वास्थ्यलाई पनि फाइदा हुने, खर्च पनि कम हुने, उत्पादन समेत फरक नपर्ने ।’

पढाईबाट बचेको समयमा तरकारी खेती गर्दै वार्षिक ५ लाखसम्म आम्दानी गरिरहेकी बिन्दुले बिचौलियाले मूल्य तोक्दा किसानले सोचेअनुरुप मूल्य नपाएको बताइन् । ‘हानिकारक विषादी, मल प्रयोग नभएको जैविक उत्पादनको ताजा तरकारीको मूल्य झन बढी पाउनु पर्ने हो, हामीकहाँ उल्टो छ, बिचौलियाले मूल्य तोक्छन, हामी त्यसमै बेच्न बाध्य हुन्छौं’ बिन्दुले भनिन् ‘किसानको उत्पादन बजारसम्म पुर्याउन स्थानीय सरकार, सरोकारवाला निकायले पहल गर्नुपर्छ, त्यो गर्दा किसानको आम्दानी नै बढ्छ ।’

भुपबहादुर र बिन्दु जस्तै पर्सेनीका २७ परिवार लगनशील कृषक समूहमा आबद्ध भएर जैविक खेती गरिरहेका छन् ।

मौसम सुहाउँदो उत्पादन दिने जलवायु अनुकुलनका बालीहरु जैविक प्रविधिको प्रयोग गरेर उत्पादन गर्न उनीहरुले एक गैरसरकारी संस्थाको सहयोगमा सामुदायिक सिकाई केन्द्र बनाएका छन् ।

कृषि प्राविधिक रामदेव शाह त्यही सिकाई केन्द्रमा किसानहरुकै सहभागितामा जैविक खेती प्रणालीबारे अनुसन्धान गर्ने गरेको बताउँछन् । ‘सिकाई केन्द्रमा किसानकै सहभागितामा प्राविधिकको सहयोगबाट जैविक मल बनाउने, विषादी बनाउने, नयाँ रोगबारे अध्ययन अनुसन्धान गरिरहेका छन्’ प्राविधिक शाहले भने ‘यसले एकातिर कृषकले प्राविधिक ज्ञान पाइरहेका छन् भने अर्कोतर्फ जैविक खेतीतर्फ उनीहरुको आकर्षण बढिरहेको छ ।’

शाहका अनुसार सोही गाउँका किसानहरुले जैविक मल, जैविक विषादीको प्रयोग गरेर राम्रो आम्दानी गरिरहेका छन् । ‘एउटै किसानले २७ बोट करेलाबाट १५ क्वीन्टल सम्म फलाएका छन्’ शाहले भने ‘यो प्रविधिमा मलको प्रयोग, रोगको उपचार, किरा, मुसा आदिको नियन्त्रण प्राकृतिक रुपमै गरिने हुनाले जलवायु परिवर्तनमा पनि योगदान पुगिरहेको छ, जैविक मलको प्रयोगपछि किसानमा छालासम्बन्धी रोगहरु नियन्त्रण भएको हामीले देखिसक्यौं ।’

शाहका अनुसार जैविक उत्पादनको सेवनले छाला सम्बन्धी रोग तथा क्यान्सरजस्ता प्राणघातक रोग नियन्त्रणमा मद्दत पुग्छ ।
पर्सेनीका किसानहरुले उत्पादन गरेको तरकारी सुर्खेत लगायतका बजारमा बिक्री हुने गरेको छ ।

जैविक उत्पादनको प्रबद्र्धन गर्दै काठमाडौं, पोखरा, नेपालगञ्ज लगायतका ठूला बजारसम्म पुर्याउन सके उत्पादनको थप मूल्य पाउने आशामा रहेका किसानहरु स्थानीय सरकार, कृषि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल गर्नुपर्ने बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update