टीकापुर, भदौ ६
टीकापुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले आज सुदूरपश्चिम विश्व विद्यालय कृषि विज्ञान संकाय डिनको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।
कृषि विज्ञान संकायका समस्या समाधानका लागि पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि अनिश्चितकालिन तालाबन्दी गर्नुपरेको स्ववियु सभापति नृप थापाले जानकारी दिए ।
उनले बिएस्सी एजीको परिक्षाफल प्रकाशित भएको तीन महिना बितिसक्दा पनि अझै मार्कसिट उपलब्ध हुन नसकेको बताए । उनले आफूहरुले निरन्तर ध्यानाकर्षण गराए पनि डिनको कार्यालयले सुनुवाई नगरेपछि अनिश्चितकालिन तालाबन्दी गर्न वाध्य हुनु परेको बताए ।
उनले २०८० जेठ १९ गतेको ध्यानाकर्षण पत्र, पटकपटकको उच्च स्तरीय वार्ता र खबरदारी तथा दुई दिन अघिको विज्ञप्ती बारे सुनुवाई नभएको बताए । उनले आफूहरुका मागको डिनको कार्यालयले अवमुल्यन गरेको विज्ञप्तीमा उल्लेख गरेका छन ।
उनले स्कुल अफ एग्रिकल्चर कार्यान्वयनमा भैरहेको ढिलासुस्ती प्रति पनि आफूहरुको आपत्ति रहेको बताएका छन । उनले सो कार्यान्वयनमा समेत डिनको कार्यालयको ध्यानाकर्षणको माग गरेका छन ।