टीकापुर, साउन ३०
सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकायले टीकापुरमा पहिलोपटक स्नातक संगोष्ठी आयोजना गरेको छ । कृषि विज्ञान संकाय आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न २२ वटा जिल्लामा गएर गरेको तयार गरेको अनुसन्धानमा आधारित कार्यपत्रहरुमाथि छलफल गर्न संगोष्ठी आयोजना गरेको छ ।
संकायको टीकापुर बहुमुखी क्याम्पसमा कृषि विज्ञानमा अध्ययनरत ९२ जना विद्यार्थीले विभिन्न विषयमा गरेको अनुसन्धान प्रस्तुत गर्नेछन् । संगोष्ठीमा ती अनुसन्धान पत्रमाथि कृषि विज्ञान संकायका प्राध्यापकहरु, विषय विज्ञहरुले सुझाव तथा पृष्ठपोषण दिनेछन् ।
दुई दिनसम्म सञ्चालन हुने संगोष्ठीमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्बाराज जोशीले विद्यार्थीका लागि कार्यक्रम निकै महत्वपूणर् रहेको बताए । ‘यो कार्यक्रमका माध्यमबाट हरेक वर्ष नयाँ नयाँ विषयमाथि विद्यार्थीहरुका रिसर्च आउँछन्, ती प्रकाशन हुन्छन्’ उपकुलपति जोशीले भने ‘सुदूरपश्चिममा कृषि क्षेत्रको विकासका लागि पर्याप्त तथ्यांक र अध्ययन, अनुसन्धान नभएको अवस्थामा ती रिसर्चहरु निकै उपयोगी हुनेछन् ।’
कार्यक्रममा बोल्दै उपकुलपति जोशीले सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको १४ वर्षमा समेत स्थापित हुन नसकेको गुनासो गरे । ‘हामीसँग श्रोत साधन कम छ, पूराना क्याम्पसहरु लिएर नयाँ कार्यक्रम लागु गर्न निकै चुनौतिपूणर् काम हो’ उपकुलपति जोशीले भने ‘तर पनि हामीले केही नयाँ गर्ने कोशिस गरिरहेका छौं, टीकापुर बहुमुखी क्याम्पसको जग्गा खाली गराउन, विभिन्न संकायमा कार्यरत प्राध्यापकहरुलाई स्थायी नियुक्ति गर्ने प्रयास जारी छ ।’
कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्टार प्रोफेसर यज्ञराज पाठकले कृषि विज्ञान विषयमा समेत विद्यार्थीको आकर्षण घट्दै जानु चिन्ताजनक रहेको बताए ।
‘हामीले विभिन्न विश्वविद्यालयमा कृषि संकायमा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै गएको पाएका छौं’ रजिष्टार पाठकले भने ‘कतै हामीले दिइरहेको शिक्षा धानका बाला देखाएर कृषि विज्ञ बन्ने खालको त छैन ? यसमा हामीले ध्यान दिन जरुरी छ ।’
संगोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर, बी.बी. अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्रोफेसर डाक्टर सुन्दर तिवारी र प्राकृतिक श्रोत व्यवस्थापन कलेज खजुरा बाँकेका प्रोफेसर डाक्टर कपिल खनालले मुख्य कार्यपत्र प्रस्तुत गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायको पहिलो ब्याचका विद्यार्थीहरुको सहभागितामा आयोजित कार्यक्रमले विद्यार्थीलाई अध्ययन, अनुसन्धान र अभ्यासमा सहजता हुने संकाय प्रमुख प्राध्यापक सुशील न्यौपानेले बताए ।
‘कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले आफूले गरेको अनुसन्धान र अभ्यासलाई कार्यपत्रका रुपमा प्रस्तुत गर्नेछन्’ प्राध्यापक न्यौपानेले भने ‘कृषि विज्ञान संकायका प्राध्यापक, अन्य विश्वविद्यालय र क्याम्पसबाट आएका विषय विज्ञहरुले सुझाव दिनेछन्, जसले विद्यार्थीको अनुसन्धानलाई थप प्रभावकारी बनाउने छ ।’
कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्र रावल, कृषि विज्ञान संकायका डीन प्रोफेसर डाक्टर लालप्रसाद अम्गाई, सुदूरपश्चिम विश्वविद्यालयका रिसर्च निर्देशक प्रोफेसर डाक्टर दमन चलाउने, सुदूरपश्चिम प्रदेश कृषि विकास मन्त्रालयका सचिव प्रेमसिंह धामी लगायतले बोलेका थिए ।