Hamro Patra
अझै घर फर्किन सकेनन् भजनीका बाढी पीडित

भजनी, २९ साउन

साउन २३ गते अविरल वर्षापछि आएको बाढीबाट प्रभावित भएकाहरु अझै घर फर्किन सकेका छ्रैनन् । भजनी नगरपालिका वडा नं. ३ पकडियाका ६२ घर परिवार अझै पनि सत्ती-भजनी हुलाकी सडकखण्डमा त्रिपाल टाँगेर बसिरहेका छन् ।

काढा नदीको बाढीले गाउँ नै डुबानमा परेपछि विस्थापित भएर हुलाकी सडकमा पुगेका भजनी नगरपालिका वडा नम्बर ३ का अनिता चौधरी छ दिनदेखि घर फर्किएकी छैनन् । नदीमा आएको बाढी घटे पनि उनको घर, आँगन हिलाम्य छ । हुलाकी सडकमा त्रिपाल टाँगेर उनी आफ्नो परिवारसहित बस्दै आएकी छन् ।

Khadga Memorial And Janajagriti

‘घर आँगनभरि हिलैहिलो छ, जाने बाटो ठीक छैन, घाम लागेपछि मात्रै घर फर्किने हो’ चौधरीले भनिन् ‘हुलाकी सडकमा त्रिपाल टाँगेर बच्चासहित बसेका छौं, हामीलाई निकै गाहे छ ।’

उनी मात्रै नभई पकडियापुरका ६२ परिवार अहिले पनि हुलाकी सडकमा त्रिपाल टाँगेर बसिरहेका छन् । बाढी गाउँ पसेपछि अन्न, लत्ताकपडा सबै भिजाएको छ । वर्षासँगै भजनीका काँढा, पथरैया, कान्द्रा जस्ता नदीमा आएको बाढीले डुबान हुने गरेको हो । बाढीसँगै नदी गोही र विशालु सर्पहरु आउने गरेका कारण स्थानीय त्रसित रहेको स्थानीय भलमन्सा (गाउँको प्रमुख) सुरेशकुमार चौधरी बताउँछन् ।

‘बाढीले हाम्रो अधिकांश अन्नबाली, धान खेती, घर आँगन डुबाएको छ’ उनले भने ‘यस वर्षको बाढीमा गोही र विशालु सर्प समेत देखिए, हामी निकै त्रासमा छौं ।’ चौधरीका अनुसार सोही गाउँका प्रभु चौधरीलाई बाढीमा आएको गोहीले काटेर घाइते बनाएको छ ।

चारैतिरबाट नदीले घेरिएको भजनीमा अझै पनि हजार बढी परिवार घर फर्किन सकेका छैनन् । गत साता आएको बाढीका कारण भजनी नगरपालिका वडा नं. ३ र ८ का अधिकांश बस्ती डुबानमा परेका थिए । वडा नं. ८ का सोनाहाफाँटा, जनकपुर, दैलेखी टोल, बहादुर टोल, कृष्णनगर, काँढाढिक र वडा नं. ३ का पकडियापुर, नयाँबस्ती, बर्दहवा आदि डुबानमा परेका थिए ।

भजनी नगरपालिकाले प्रभावितहरुलाई खानेपानी, केहीलाई खाद्यान्न सहयोग गरिरहेको छ । वर्षेनी डुबानमा पर्दै आएको भजनीका जोखिमयुक्त क्षेत्रमा नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोगमा सुरक्षित उच्चा घर बनाएको छ ।

‘गत वर्ष हामीले १६ वटा उच्चा घर बनाएका थियौं, त्यहाँका बासिन्दा यो वर्ष बाढीबाट पीडित भएनन्’ वडा नं. ३ का अध्यक्ष एवं प्रवक्ता विक्रम चौधरीले भने ‘संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाले बाढीबाट अति प्रभावित क्षेत्रमा एक शय बढी सुरक्षित उच्चा घर निर्माण गर्ने योजना बनाएको छ ।’

वर्षेनी डुबान हुने हुनाले नगरपालिकाले मात्रै केही गर्न नसक्ने प्रवक्ता चौधरीले बताए । बाढीबाट विस्थापित भएकाहरूलाई खान, बस्न, खानेपानी र शौचालयको समस्या छ । घरभित्र बाढी पसेपछि खाद्यान्न, लुगाफाटो लगायत सामान तथा वस्तुभाउ लिएर पीडित परिवार हुलाकी राजमार्गमा पुगेका हुन ।

हरेक वर्ष बर्खायाममा डुबानको समस्या भोग्दै आएका भजनीबासी सरकारले डुबानको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update