Hamro Patra
ललिता निवास प्रकरण: छानविनमा सहयोग गर्छुः पूर्वप्रधानमन्त्री भट्टराई

टीकापुर, साउन २८

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणको समग्र छानविन गर्न माग गर्दै छानविनमा आफू सहयोग गर्ने बताएका छन् ।

नेकपा एमालेले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय भट्टराई र माधवकुमार नेपाललाई पक्राउ गर्नुपर्ने माग गरेकै दिन कैलालीको टीकापुर पुगेका भट्टराईले प्रकरणको समग्र छानविनका लागि आफू सहयोग गर्न तयार रहेको बताए ।

Khadga Memorial And Janajagriti

ललिता निवास प्रकरणमा डाक्टर भट्टराई र पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिन केही दिनअघि सर्वोच्च अदालतले आदेश दिएको थियो ।

‘ललिता निवास राणाकालदेखि नै विवादित हुँदै आएको थियो, पुनर्नापी अनुसार मन्त्री परिषदमा आएको प्रस्ताव स्वीकृत गरिएको हो’ भट्टराईले भने ‘यसमा कुनै व्यक्ति भन्दा पनि मन्त्रीपरिषदले गरेको निणर्य हो, फेरि पनि नाम मुछिसकेपछि यसको समग्र छानविनका लागि मेरो साथ सहयोग रहन्छ, यसमा किन्तु, परन्तु, छल्न खोज्ने केही हुँदैन ।’

नेपाल समाजवादी पार्टीले भोलिदेखि टीकापुरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न टीकापुर पुगेका पार्टीका अध्यक्ष एवं पूर्वअर्थमन्त्री समेत रहेका डाक्टर भट्टराईले अन्नपूणर्पोष्टको एक जिज्ञासामा नेपाल आर्थिक रुपमा टाट पल्टिएको जिकिर गरे ।

‘आर्थिक रुपमा हामी विश्वभन्दा १० गुणा पछाडि छौं, सरकारले ल्याएको बजेट भन्दा बढी वैदेशिक ऋण छ’ भट्टराईले भने ‘विगत चार पाँच वर्षयता आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी छैन, यी तथ्यांकले नेपाल टाट पल्टिएको देखिन्छ ।’

सुशासन, लोकतन्त्रको सुदृढिकरण र देशको अग्रगामी विकासका लागि शासकीय संरचनागत परिवर्तनको आवश्यकता रहेको उनले बताए ।

‘समाजवादी पार्टी देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूणर् समानुपातिक निर्वाचन प्रणाली, वैज्ञानिक भूमि सुधारका माध्यमबाट आर्थिक समृद्धि सहितको लोकतन्त्रका लागि शासकीय संरचनागत परितर्वनको मुद्दा लिएर नयाँ वैकल्पिक शक्तिको निर्माणमा जुटेको छ’ भट्टराईले भने ‘पार्टीको केन्द्रिय समितिको बैठकबाट नयाँ मुद्दासहित संगठन निर्माणका क्रममा देशव्यापी अभियान थालेका हौं ।’

भट्टराईले राजनीतिक स्थिरताका लागि समेत शासकीय स्वरुप बदल्नुपर्ने बताए । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि सामान्य पहल गरेको भए पनि ठूला भ्रष्टाचार काण्ड बाहिर ल्याउन अधिकार सम्पन्न जनलोकपाल संरचना गठन गर्नुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update