Hamro Patra
कालोपत्रे सडकमाथि ढलको माटोः स्थानीयलाई आउजाउमा सास्ती

टीकापुर, साउन २७

कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा निर्माण गरिएको सतही ढलको माटो सडकबाट नहटाउँदा स्थानीयलाई सास्ती भएको छ । वडा नं. १ को ब्लक नं. १३, १४, ६ र ७ मा सतही ढल निर्माण गर्दा सडकमा थुपारिएको माटो नहटाउँदा स्थानीयलाई आवातजावतमा सास्ती भएको हो ।

ब्लक नं. १४ मा ढल निर्माण गर्दा पक्की सडकमा झण्डै दुई फिट बढी माटो थुपारिएको छ । टीकापुर बजार क्षेत्र प्रवेश गर्ने मुख्य सडकका रुपमा रहेको उक्त बाटोमा वर्षायाममा पानी परेको दिन आउजाउ गर्न सास्ती हुने गरेको स्थानीय व्यवसायी प्रदीप विष्टले बताए ।

Khadga Memorial And Janajagriti

‘पक्की रहेको सडकमा ढल निर्माण गर्दा थुपारिएको माटो छ, दैनिक जसो दुर्घटनाहरु भइरहेका छन्’ विष्टले भने ‘व्यापार व्यवसाय गर्न समेत समस्या छ, ग्राहक आउने बाटो नै हिलाम्ये छ ।’

विष्टले ढलको ढक्कनमै मोटरसाइकल, साइकल चलाउनु पर्ने बाध्यता हुँदा समेत स्थानीय सरकारले ध्यान नदिएको बताए । उक्त सडकमा कालोपत्रे र आरसीसी गरिएको बाटोमाथि माटो थुपारिएको छ ।

‘दैनिक ५/६ हजार मान्छे हिँड्ने सडकमा यसरी माटो थुपार्दा समेत कोही केही बोल्दैन’ स्थानीय रवी सुनारले भने ‘ढल निर्माण गरिसकेपछि निर्माण कम्पनीले तत्काल हटाउनु पर्ने माटो वर्षदिन हुँदा समेत उठाएको छैन ।’

टीकापुर बजार क्षेत्रमा तुँदी कन्स्ट्रक्सन प्रा.लि.ले २९ किलोमिटरको सतही ढल निर्माण गरेको हो । 

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले ब्लक नं. १४ लगायतका सडकमा आवतजावत सहज होस् भन्नका लागि ग्राभेल खसाल्ने काम भइरहेको बताए ।

‘तत्कालका लागि हामीले पानी जमेको सडकमा ग्राभेल खसाल्ने काम गरिरहेका छौं’ नगर प्रमुख थारुले भने ‘नाला भन्दा सडक गहिरो भएका कारण समेत हामी यही वर्षभित्र कालोपत्रे सडक निर्माण गर्ने गरी योजना अगाडि बढाएका छौं ।’

उता, निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनका परियोजना प्रमुख इञ्जिनियर उदय पोखरेलले नाला निर्माणका क्रममा सडकमा थुपारिएको माटो तत्काल हटाइने बताए । ‘हामी ढलको ढक्कन राख्ने काममा लागेकाले केही ढिलो भएको हो’ उनले भने ‘तत्काल नै सडकका थुपारिएको माटो हामी हटाउने छौं ।’

निर्माण कम्पनीले ६० करोड रुपैयाँमा सतही नाला र मलमुत्र व्यवस्थापन केन्द्र निर्माणका लागि सम्झौता गरेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update