Hamro Patra
१६० घण्टा ४० मिनेट पढेका लोहार भए उत्कृष्ठ पाठक

टीकापुर, साउन २७

पठन संस्कृति प्रबद्र्धनका लागि टीकापुर सामुदायिक पुस्तकालयद्धारा हरेक महिना प्रदान गरिँदै आएको उत्कृष्ठ पाठक पुरस्कार टीकापुरका अरुण लोहारले पाएका छन् ।

असार महिनामा सामुदायिक पुस्तकालय टीकापुरमा १ शय ६० घण्टा ४० मिनेट अध्ययन गरेका लोहारले १० हजार नगदसहित पुरस्कार पाएका हुन् ।

Khadga Memorial And Janajagriti

प्राविधिक धारतर्फको इञ्जिनियरिङबाट कक्षा १२ को परीक्षा दिएका लोहारले पुस्तकालयमा बसेर रकेट साइन्स, स्पेस टेक्नोलोजी सम्बन्धी पुस्तकहरु अध्ययन गरेको पुस्तकालयले जनाएको छ ।

टीकापुर सरोकार समूहको संयोजनमा पठन संस्कृति प्रबद्र्धनका लागि पुरस्कार पाउने लोहार आठौं उत्कृष्ठ पाठक हुन् । यसअघि उपेन्द्र चौधरी, सीमा कठरिया, मनिषा रावल, नवीन शाह, प्रगति शर्मा, आरती उपाध्याय र कमला मिश्रले उत्कृष्ठ पाठकको पुरस्कार पाएका थिए ।

‘बालबालिका ग्याजेटमा केन्द्रित हुने, पुस्तकहरुको अध्ययनमा रुचि नहुने देखिएपछि टीकापुर सरोकार समूहले पठन संस्कृति प्रबद्र्धन गर्न हरेक महिना उत्कृष्ठ पाठकलाई १० हजार नगद पुरस्कार दिने घोषणा गरेको हो’ समूहको सचिव नवराज भट्टराईले भने ‘पुरस्कार दिन थालेपछि सामुदायिक पुस्तकालयमा अध्ययन गर्नेहरुको संख्या बढ्दै गएको छ ।’

पुरस्कार वितरण कार्यक्रममा बोल्दै उत्कृष्ठ पाठक लोहारले पुरस्कारबाट प्राप्त रकम रकेट साइन्सका बारेमा विद्यार्थीलाई जानकारी दिन खर्च गरिने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं टीकापुर नागरिक समाजका पूर्व अध्यक्ष फिरुलाल चौधरीले पुस्तकालयले ज्ञानको भण्डार भएकाले यसको फाइदा लिन आग्रह गरे । ‘विद्यार्थीहरुका लागि यो ज्ञानको भण्डार हो, यसको फाइदा लिन विद्यार्थीले ध्यान दिन जरुरी छ’ चौधरीले भने ‘पुस्तकालयले समेत नयाँ नयाँ विषय र पाठ्यपुस्तकहरुको व्यवस्थापन गर्न आवश्यक रहेको छ ।’

असार महिनाको पुरस्कार टीकापुर घर भई मलेसियास्थित नेपाली राजदूताबासमा कार्यरत टेक बुढाले सौजन्य गरेका थिए । पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वीरेन्द्र साउँद लगायतले बोलेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update