टीकापुर, साउन २५
कैलाली क्षेत्र नं. ४ का नेताद्धय लोकराज पाण्डे ‘आगो’ र सुरतबहादुर कार्कीलाई कारवाही गरिएको विषयले कैलाली काँग्रेसमा विवाद मच्चिएको छ ।
जिल्ला सभापति नारायणदत्त भट्टले साउन २२ गते नेता पाण्डे र कार्कीलाई कारवाही गरिएको पत्र सार्वजनिक भएपछि कैलाली काँग्रेसमा विवाद मच्चिएको हो ।
जिल्ला उपसभापति भिम वडुवालले विज्ञप्ति जारी गर्दै पाण्डे र कार्कीलाई गरिएको कारवाही विधिसम्मत नभएको जिकिर गरे । कैलाली काँग्रेसको लेटरप्याडमा सूचना जारी गर्दै बडुवालले पार्टी सभापति नारायण दत्त भट्टद्वारा श्रावण २२ गते दुवै नेतालाई कारवाही गरिएको पत्र विधिसम्मत नभएको दाबी गरेका हुन् ।
यसअघि कांग्रेस कैलालीको लेटरप्याडमा भट्टद्धारा जारी पत्रमा नेताद्वय पाण्डे कार्कीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको उल्लेख थियो । त्यसको प्रतिवाद गर्दै उपसभापति बडुवालले कारवाही विधिसम्मत नरहेको जानकारी गराएका हुन ।
‘पार्टीभित्र एउटा पद्धति हुन्छ, पार्टी विधानमा अनुशासन समिति समेत रहेको हुन्छ । त्यो अनुशासन समितिमा सामान्य जानकारी समेत नगराइकन सभापतिको एकल निणर्यले कसैलाई पनि निलम्बन गर्न पाइँदैन’ उपसभापति वडुवालद्धारा जारी पत्रमा भनिएको छ ‘पार्टी विधानको वर्खिलापमा अनुशासन समितिको मानमर्दन हुने गरी गरिएको एकल निणर्यले सभापतिलाई नै अनुशासनको कारवाही किन नगर्ने भन्ने प्रश्न उब्जिएको छ ।’
उपसभापति वडुवालले दशरथचन्द मेडिकल विश्व विद्यालय निर्माण अभियानको महिनौदेखि नेतृत्व गर्दै आन्दोलनरत रहेकाहरुलाई सम्मान गर्नुको सट्टा निलम्बन गर्ने पत्राचार गर्दा सिंगो कांग्रेसीजन र सुपबासीको समेत अपमान भएको उल्लेख छ ।
आजै जिल्ला सचिव नृपबहादुर सुनारले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पाण्डे र कार्कीलाई गरिएको कारवाही विधि सम्मत नभएको र सो विषयमा सभापति भट्टलाई भेटेरै प्रतिवाद गरेको जनाएका छन् ।
जिल्ला सचिव सुनारले लेखेका छन् ‘२०८० साउन २२ गते जिल्ला सभापतिलाई भेटेर तपाईले गर्नुभएको कारवाहीको निणर्य गलत छ, विधानमा तपाईले कारवाही गर्न पाउनु हुन्न, गर्नु भयो भने मेरो त्यसमा समर्थन हुँदैन भनेर असहमति जनाएको सबैलाई अवगत गराउन चाहन्छु ।’
पाण्डे र कार्कीलाई गरिएको कारवाहीपछि कैलाली काँग्रेसमा पार्टी विधान र विधि बमोजिम नभई मनोमानी ढंगले चलाउन खोजेको भन्दै जिल्ला नेतृत्वको चर्को आलोचना भइरहेको छ ।