Hamro Patra
कैलालीका अधिकांश पालिका भाडाका घरमा

योगेश रावल
टीकापुर, भदौ १८
कैलालीका १३ मध्ये अधिकांश पालिकाहरु भाडामा घरमा सञ्चालन भैरहेका छन । जसमध्ये चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेका छन । ती मध्ये धेरैजसोलाई भाडाका घरमा कार्यालय सञ्चालन गर्न निकै अफ्ठ्यारो भैरहेको छ ।

भाडाका घरमा कार्यालय सञ्चालन गर्ने मध्ये लम्कीचुहा, घोडाघोडी, भजनी र गोदावरी नगरपालिका तथा जानकी, बर्दगोरीया, जोशीपुर र मोहन्याल गाउँपालिका रहेका छन ।

लम्कीचुहा र भजनी नगरपालिकाको भने भवन निर्माणको क्रममा छन । लम्कीचुहा नगरपालिकाको निर्माणाधिन भवनको भुई तला निर्माण भैसकेको छ भने थप दुई तला निर्माणको क्रममा रहेको मेयरका सहयोगी विष्णु खनालले जानकारी दिए । उनले यसैवर्ष भित्र नगरपालिकाको कार्यालय आफ्नै भवनमा सार्ने योजना रहेको बताए । ‘हामी यसैवर्ष भित्र सर्ने तयारीमा छौं’ उनले भने–‘तेस्रो तलाको काम सम्पन्न नभए पनि सर्ने योजना छ ।’

Khadga Memorial And Janajagriti

भजनी नगरपालिकाले समेत करिव १२ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरिरहेको छ । प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले भवन निर्माण हुन अझै २ वर्ष लाग्ने जानकारी दिए । उनले भाडाको घरमा कार्यालय सञ्चालन गर्दा सेवाग्राहीको कामकाजमा निकै समस्या भैरहेको बताए ।

त्यस्तै बर्दगोरीया गाउँपालिकाले समेत करिव सवा ६ करोडको लागतमा भवन निर्माण थालेको छ । आगामी १५ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको काम भैरहेको गाउँपालिका अध्यक्ष रामबली चौधरीले जानकारी दिए । उनले २ वटा वडा कार्यालय भने आफ्नै भवनमा सञ्चालनमा रहेको बताए । ‘बाँकी वडा कार्यालय समेत आफ्नै भवनमा सञ्चालन गर्ने गरी भवन निर्माणको काम सुरु गरेका छौं’ उनले भने–‘जग्गा उपलब्ध भएका ठाउँमा पहिले भवन निर्माण गर्छौं ।’

भवन नभएका मध्ये घोडाघोडी र गोदावरी नगरपालिकाले भवन निर्माणका लागि टेण्डर प्रकृया सुरु गरेका छन । जानकी, मोहन्याल र जोशीपुर गाउँपालिकाले भवन निर्माणका लागि अझै प्रकृया सुरु गरेका छैनन् ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बिष्टले गाउँपालिका भवन निर्माणका लागि स्थानीय उद्योगी कर्णप्रताप राणाले जग्गा निशुल्क प्रदान गरेको बताए । उनका अनुसार राणाले १ विगाह १२ कठ्ठा १० धुर जग्गा दिएका छन । सो जग्गा अपुग हुने भएपछि थप जग्गा अधिग्रहणका लागि गाउँपालिकाले १ करोड बजेट विनियोजन गरेको बिष्टले बताए । ‘जग्गा अपुग होला जस्तो भएर प्रकृया सुरु भएको छैन’ उनले भने–‘जग्गा उपलब्ध भएपछि भवन निर्माणको प्रकृयामा जान्छौं ।’

उता पहाडी भुभाग समेटेर बनेको मोहन्याल गाउँपालिकाले भवन निर्माणका लागि कुनै योजना नबनाएको प्रमुख प्रशासकीय अधिकृत गणेश ओझाले जानकारी दिए । उनले अहिलेसम्म भाडाको घरबाटै कामकाज भैरहेको बताए ।

धनगढी उपमहानगरपालिका, टीकापुर र गौरीगंगा नगरपालिकाका साथै कैलारी र चुरे गाउँपालिकाको कामकाज भने आफ्नै भवनबाट भैरहेको छ । धनगढी सुदूरपश्चिम प्रदेशको एकमात्रै उपमहानगरपालिका हो । जसका धेरैजसो वडा कार्यालय समेत आफ्नै भवनमा रहेका छन ।

उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले हरेक वर्ष २ वटा वडा कार्यालयको भवन निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले अघिल्लो वर्ष वडा नं. १३ र १६ को भवन निर्माण भएको बताए । यसवर्ष समेत थप २ वटा वडा कार्यालयको भवन निर्माण गर्ने योजना रहेको बताए । ‘जुन वडामा जग्गा उपलब्ध हुन्छ त्यही वडामा कार्यालय भवन निर्माण हुन्छ’ उनले भने–‘वडा नं. ५ र ९ मा भवन निर्माण गर्ने गरी जग्गा उपलब्ध गराउने प्रयास भैरहेको छ । जग्गाको विवाद भयो भने अर्को वडामा निर्माण हुन्छ ।’

टीकापुर नगरपालिकाको केन्द्र मात्रै हैन ९ मध्ये ७ वटा वडा कार्यालय समेत आफ्नै भवनमा सञ्चालन छन । मेयर तपेन्द्रबहादुर रावलका अनुसार वडा नं. ५ र ९ को कार्यालय मात्रै भाडाका घरमा सञ्चालन भैरहेका छन । उनले चालु आवमा वडा नं. २ र ९ मा आफ्नै भवन निर्माण गरिने जानकारी दिए । वडा नं. २ को भवन पूरानो भएकाले नयाँ भवन निर्माण गर्ने योजना रहेको मेयर रावलले बताए ।

गौरीगंगा नगरपालिकाले साविक चौमाला गाविसको कार्यालयलाई प्रयोग गरेको छ । यो भवनमा कार्यालय सञ्चालन गर्दा भाडा तिर्न नपरे पनि साँघुरो भएका कारण केही असहज भएको मेयर भीम देउवाले बताए । उनले नगरपालिकाको कामकाज सहज बनाउन केही घर भाडामा लिएको जानकारी दिए । नगरपालिकाले यसैवर्ष भित्र अत्याधुनिक भवन निर्माणका लागि टेण्डर गर्ने योजना बनाएको छ ।

मेयर देउवाले ११ मध्ये ९ वटा वडा कार्यालय भने आफ्नै भवनबाट सञ्चालन भैरहेको बताए । उनले बाँकी ३ वटा वडा कार्यालय समेत यसैवर्ष निर्माण गरिने बताए । ‘सेवाग्राहीको चाप वडा कार्यालयमा हुने भएकाले हामीले वडा कार्यालय व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छौं’ उनले भने–‘हाम्रो उद्देश्य पहिले जनतासँग जोडिएको कुरालाई सहज बनाउने हो ।’

उता कैलारी गाउँपालिकाको कार्यालय साविक हसुलीया गाविस भवनमा सञ्चालन भैरहेको छ । सो भवनको माथिल्लो तला थपेर कामकाज सहज बनाएको अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए । उनले ९ वडा कार्यालय मध्ये २ वटा मात्रै भाडाका घरमा रहेको बताए । उनले ती दुवै वडा कार्यालय समेत चालु आव भित्रै आफ्नै भवनमा सञ्चालन गर्ने गरी योजना भैरहेको बताए । ‘दुईवटा वडा कार्यालय भाडामा सञ्चालन भैरहेका छन’ उनले भने–‘ती पनि यसैवर्ष भित्र आफ्नै भवनमा सार्ने योजना छ ।’

कैलालीको अर्को पहाडी भुभाग समेटेर बनेको चुरे गाउँपालिकाको समेत आफ्नै भवन छ । उसले साविक सहजपुर गाविसको भवनलाई गाउँपालिका भवनका रुपमा प्रयोग गर्दै आएको छ । त्यहाँका अधिकांश वडा कार्यालय समेत आफ्नै भवनमा सञ्चालनमा छन ।

स्थानीय तहमा जनप्रतिनिधि आएको दुई वर्ष भन्दा बढी समय बितिसक्दा समेत आफ्नो भवन समेत निर्माण गर्न नसकेको आरोप लाग्ने गरेको छ । स्थानीय सरकारका रुपमा रहेका पालिकाले भाडाका घरबाट आफ्नो कार्य सम्पादन गर्ने गरेको प्रति नागरिकको आक्रोश छ । उनीहरु स्थानीय पालिका अस्तव्यस्त ढंगले सञ्चालन भैरहेकाले सरकारको अनुभूति नभएको बताउँछन ।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update