टीकापुर, साउन २०
पछिल्लो समय कैलालीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गइरहेको छ । रोगको संक्रमण तिब्र गतिमा बढेसंगै आँखा अस्पताल,प्रादेशीक अस्पताल,स्वास्थ्य केन्द्रहरु लगायत निजी क्लिनिकमा बिरामीहरुको चाप बढ्दै गइरहेको बताइएको छ ।
गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टले अस्पतालमा पछिल्लो एकसाता देखि आँखा पाक्ने बिमारीको संख्या बढ्दै गइरहेको बताए । दैनिक ५/६ सय बिरामी आउने गरेकोमा करिब ७० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको उनले जानकारी दिए ।
कन्जङ्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग लागेमा आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुने, आँखा फुस्रो वा रातो देखिने, आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुने,आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने जस्ता लक्ष्यण देखिने बरिष्ठ नेत्र अधिकृत भट्टले बताए ।
उनले भने, यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ। यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ र यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।
भाइरसको सङ्क्रमण पछि लगत्तै हुने ब्याक्टेरियाको सङ्क्रमण र फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जीले आँखा पाक्ने रोग लाग्ने गरेको उनले बताए ।
कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात-मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान, तौलिया जस्ता सामानको अरूले प्रयोग नगर्ने, आंखा पाकेका बिरामीको नजिक नजाने जस्ता उपाय अपनाएमा यस रोगबाट बच्न सकिने भट्टले बताए ।
यो रोग अत्यन्तै तिब्र गतिमा सर्ने भएकाले रोग लागेको व्यक्तिले विद्यालय, बजार जस्ता बढि भिडहुने ठाउँहरुमा जान नहुने उनको भनाई छ । आँखा सम्बन्धि कुनै समस्या देखिएमा आँखा अस्पतालमा गई बिशेषज्ञको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्ने उनकोे भनाई छ ।
आँखा पाक्ने रोग सामान्य भएतापनि यसको समयमै उपचार नगरेमा आँखाको नानीमा घाउ भई जटिल समस्या उत्पन्न हुनसक्ने भएकाले सर्तकता अपनाउन उनले सबैलाई आग्रह गरे । आँखामा कुनै पनि प्रकारको समस्या देखिएमा तुरुन्त बिषेशज्ञ डक्टरलाई देखाइ उपचार गर्न र विना चेकजाँज औषधी सेवन नगर्न बरिष्ठ नेत्र अधिकृत भट्टले सुझाब दिए ।