Hamro Patra
किशोरले नै टेर्न छोडे टीकापुर प्रहरीलाई

टीकापुर, साउन १९

झण्डै दुई महिना अघिसम्म आक्रमण, कुटपिट जस्ता घटना प्रायः शुन्य भएको टीकापुरमा पछिल्लो समय किशोरहरुले समेत टीकापुर प्रहरीलाई टेर्न छोडेको चर्चा चलेको छ ।

टीकापुर बजारको मुख्य क्षेत्रमै रड, नक, छुरी तथा खुकुरी प्रहार जस्ता जघन्य घटनाहरुमा १४ देखि १८ वर्ष उमेर समूहका किशोरहरु संलग्न भएको पाइएपछि प्रहरीलाई किशोरहरुले समेत टेर्न छोडेको चर्चा हुन थालेको हो । केही घटनाहरु हेरौं ।

Khadga Memorial And Janajagriti

घटनाः १

आज (शुक्रवार) दिउँसो झण्डै ४ बजेको समयमा इलाका प्रहरी कार्यालयबाट ५ शय मिटरको दुरीमा रहेको टीकापुर नगरपालिका केन्द्रसँग जोडिएको रारामार्गमा एक किशोरले अर्को किशोरलाई छुरी प्रहार गरे । १८ वर्षीय एक किशोर र १७ वर्षीय अर्को किशोरबिच फेसबुक म्यासेन्जरमा कुराकानी हुन्छ ।

कुराकानीकै क्रममा १७ वर्षीयले १८ वर्षीयलाई ‘भाई’ भनेर कुरा गर्छ । त्यही भाइ भनेकै आधारमा दिनदहाडै मुख्य बजार क्षेत्रमै १८ वर्षीयले १७ वर्षीयमाथि छुरी प्रहार गर्छन् । स्थानीय प्रत्यक्षदर्शीले छुरी प्रहार भएको खबर प्रहरीलाई दिए पनि घटनामा छुरी प्रहार नभएको प्रहरीले दावी गरिरहेको छ ।

घटनाः २

टीकापुर नगरपालिका वडा नं. १ ज्योतिनगरको मुख्य सडकमा साउन ३ गते केही किशोरहरु साइकलमा जाँदै थिए । अर्कोतर्फबाट अर्का किशोर पनि साइकलमा आउँदै थिए । दुबै किशोरको साइकल आपसमा ठोक्कियो । त्यही साइकल ठोक्किएको विषयमा दुबै किशोरबिच झडप भयो । झडपका क्रममा एक किशोर गम्भीर घाइते भए ।

प्रहरीका अनुसार ती किशोरलाई नक प्रहार भएको थियो । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्दा उनीहरुबाट नक, हतौडा, खुकुरी जस्ता घरेलु हतियार पक्राउ गर्यो । पक्राउ परेकाहरुलाई प्रहरीले मुद्दा दायर गर्यो ।

घटनाः ३

गत असार १९ गते दिउँसो ४ बजेपछि सशस्त्र प्रहरी बलको टीकापुरस्थित तालिम केन्द्रकै छेउमै स्कुलबाट आउँदै गरेका एक किशोरलाई अर्का किशोरले रड प्रहार गरे । रड प्रहार गर्ने किशोरको समूहले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका ती किशोर अहिले पनि उपचारका क्रममै छन् । घटनामा संलग्न मध्ये केहीलाई प्रहरीले मुद्दा दायर गरेको छ ।

यी त केही उदाहरणहरु मात्रै भए । इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखमा डीएसपी तुलसीराम अर्याल आएपछि टीकापुर क्षेत्रमा आधा दर्जन बढी घटना भएका छन् । अधिकांश घटनाहरुमा विद्यालयस्तरमा अध्ययन गर्ने विद्यार्थी उमेरका किशोरहरु छन् ।

टीकापुर क्षेत्रको शान्ति सुरक्षा कायम गर्न प्रहरी चुक्दै गएपछि गएपछि एकपछि अर्को घटनाहरु भइरहेका छन् । युवा संघका जिल्ला सदस्य बमबहादुर ओली र प्रकाश खड्कामाथि खुकुरी आक्रमणमा संलग्नलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

‘यो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि रणनीतिक सुरक्षा व्यवस्था कायम गर्नुपर्नेमा नियमित गस्तीबाहेक अरु केही भएको देखिँदैन’ एक स्थानीयले भने ‘प्रहरीको सक्रियता बढेको छ, घटनामा संलग्न भएको पाइए तत्काल कारवाही गर्छ भन्ने सन्देश प्रहरीले ब्यापक गर्न सकेको छैन ।’

दिनप्रतिदिन अपराधिक प्रकृतिका घटनाहरु घट्दै जानु र त्यसमा किशोरहरुको संलग्नता हुनु समाजकै लागि दुर्भाग्यपूणर् भएको राष्ट्रिय युवा संघका कैलाली अध्यक्ष लक्ष्मण थापा बताउँछन् ।

‘डिएसपी उद्धव भाट गएपछि अपराधिक मानसिकता भएकाहरु चलमलाउन थालेका छन्, किशोरहरु समेत आपराधिक घटनामा देखिनु समाजकै लागि दुःखद् हो’ अध्यक्ष थापाले भने ‘युवा संघका जिल्ला सदस्यहरुमाथि आक्रमण हुँदा समेत प्रहरीले पक्राउ गर्न सकेन भने आमनागरिकले शान्ति सुरक्षा महशुस गर्ने अवस्था छैन, यसमा मुख्य रुपमा प्रहरीको संक्रियता आवश्यक छ ।’

यता, इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुलसीराम अर्याल भने प्रहरीको सक्रियताका कारण घटनामा संलग्नहरु पक्राउ परिरहेको दाबी गर्छन् ।

‘प्रहरीको सक्रियताकै कारण घटनामा संलग्नहरु पक्राउ परेर मुद्दा नै चलाइएको छ, विद्यालयका प्रधानाध्यापक, केही अभिभावक र ट्युसन कक्षा सञ्चालकहरुसँग अन्तरक्रिया गरेका छौं’ डीएसपी अर्यालले भने ‘यस्ता घटनाहरुमा किशोरहरुको संलग्नता रोक्न अभिभावक, विद्यालय सबै सचेत हुन आवश्यक छ ।

’झण्डै चार महिना टीकापुरमा बसेका डीएपसी उद्धवसिंह भाटको कार्यकालमा टीकापुरमा शान्ति सुरक्षा प्रभावकारी भएको बताउने स्थानीयहरु पछिल्ला घटनाक्रमका कारण टीकापुर अशान्त बन्दै गएकोमा चिन्तित छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update