टीकापुर, साउन १६
कैलालीको सुदूरपूर्वी टीकापुरमा २०७९ असार ५ गते जंगली हात्तीको आक्रमणबाट टीकापुर नगरपालिका वडा नं. १ की ५० वर्षीया टंक सोडारीको ज्यान गयो । वडा नं. २ स्थित कर्णाली नदीको सनकट्टीमा तटबन्धमा मजदुरी गर्न गएकी सोडारीको घटनास्थलमै ज्यान गयो ।
टीकापुर नगरपालिका वडा नं. १ का ६० वर्षीय मन्सुराम चौधरीको २०७७ चैत्र २१ गते जंगली हात्तीले नै ज्यान लियो । जानकी गाउँपालिका वडा नं. ६ स्थित जंगलमा गएका उनलाई हात्तीले आक्रमण गरेको थियो ।
२०७९ मंसिर ८ गते टीकापुर भुराखानी सामुदायिक वनमा घाँस काट्न गएकी ढुन्की कठायत चितुवाको आक्रमणबाट घाइते भइन् । २०७९ चैत २४ गते टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकाका २७ वर्षीय पवन आउजी चितुवाको आक्रमणमा घाइते भए । तीन वर्ष अघि चितुवा दिउँसै टीकापुर बजार क्षेत्रमै पसेर स्थानीयलाई आक्रमण गर्यो । चितुवाको आक्रमणमा परेर ट्राफिक प्रहरी देवीराम धिताल घाइते भए ।
दुई महिना अघि टीकापुर नगरपालिका वडा नं. २ विजयनगरको बस्ती नजिकै डमरुसहितको पाटेबाघ देखा पर्यो । गत वर्षको असार महिनामा विश्वमै दुर्लभ मानिने पाटेबाघ टीकापुर नगरपालिका वडा नं. २ स्थित जनशक्ति सामुदायिक वनभित्र मृतअवस्थामा फेला पर्यो । शनिवार मात्रै जंगली हात्तीले टीकापुर नगरपालिका वडा नं. २ की कालीदेवी सुनारको घर भत्कायो ।
टीकापुर नगरपालिकाको विपद् शाखा प्रमुख निर्मला चौधरीले उपलब्ध गराएका यी त केही प्रतिनिधि घटनाहरु मात्र हुन् । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा वर्षेनी जंगली जनावरको आक्रमण बढ्दै गएको छ । निकुञ्जबाट कर्णाली नदी तर्दै सजिलै हात्ती, बाघ, चितुवा जस्ता जंगली जनावरहरु बस्तीमै पसेर आक्रमण गर्न थालेका हुन् ।
‘निकुञ्जबाट सजिलै वन्यजन्तु टीकापुर क्षेत्रमा प्रवेश गरेर आक्रमण गरिरहेको घटनाहरु बढ्दै गएका छन्’ चौधरीले भनिन् ।
निकुञ्जलाई कर्णाली नदीले छुट्याएको छ । नदीको कैलाली किनारतर्फ रहेका दर्जन बढी सामुदायिक वनमा निकुञ्जबाट आउने जंगली जनावरहरु बस्तीमा पस्ने गरेका छन् ।
कर्णाली जैविक मार्गमा पर्ने कर्णाली नदीमा सत्ती कर्णाली, भगरैया, शाहीपुर, भैरवनाथ, खोटेना भुराखानी, रानी कर्णाली, शितल, जनशक्ति, कैलाशेश्वर, जगतपुर, शिवशक्ति, कालिका, छतिवन, ऐश्वर्य र महिला लगायत सामुदायिक वनहरु छन् । यी वनहरुमा बाघ, हात्ती, चितुवा जस्ता जनावरहरु नभए पनि निकुञ्जबाट आउने जनावरहरु बस्ती क्षेत्रमा प्रवेश गरेर दुःख दिने गरेको शिलत सामुदायिक वनका अध्यक्ष सिद्धराज ठकुल्लाले बताए ।
‘कर्णाली नदी तरेर हरेक वर्षा र हिउँदमा हात्तीको बथान आउँछन्, बाघ, चितुवा देखिने थालेको ७÷८ वर्ष भयो’ अध्यक्ष ठकुल्लाले भने ‘जंगल मासिँदै जानु, नदीको उत्खनन बढ्नु र वन्यजन्तुलाई आहारको कमी हुनुले बस्तीतर्फ आउने गरेका छन् ।’
अध्यक्ष ठकुल्लाले निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा हुने वन्यजन्तुको प्रभावबारे निकुञ्जले ध्यान दिनुपर्ने बताए । ‘निकुञ्जबाट आएर जनावरले क्षति गर्ने, त्यसको न्यूनिकरणका लागि निकुञ्ज जिम्मेवार नहुनुले समस्या निम्त्याएको छ’ ठकुल्लाले भने ‘स्थानीय सरकार, निकुञ्ज र सामुदायिक वनको सहकार्य आवश्यक छ ।’
बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत आशिष न्यौपानेले जंगल नजिक भएको बस्ती र जनावर हिँड्ने बाटोमा बस्ती बसाइएका कारण पनि जंगली जनावरले आक्रमण गर्ने गरेको बताए । ‘निकुञ्ज बासस्थान संरक्षण गरिएको क्षेत्र मात्रै हो, जनावरहरु त बाहिर आउनेजाने गर्छन्’ न्यौपानेले भने ‘जनावरको परम्परागत बाटोमा भएका अवरोधका कारण पनि बस्तीमा पस्ने गरेका छन् ।’
निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुबाट क्षति भए क्षतिपूर्ति समेत दिने गरेको छ । ‘ज्यान गए, घाइते भए, भौतिक संरचनामा क्षति भएका खण्डमा निर्देशिका बमोजिम क्षतिपूर्ति दिने व्यवस्था छ’ सूचना अधिकारी समेत रहेका न्यौपानेले भने ‘वन्यजन्तुको संरक्षणका लागि समुदायको सहभागिता आवश्यक हुन्छ ।’
निकुञ्ज र राष्ट्रिय वनले क्षतिपूर्ति दिने व्यवस्था निकै झण्झटिलो भएको पीडितहरु बताउँछन् । बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०२२ मा गरिएको बाघ गणना अनुसार १ शय २५ बाघहरु रहेका छन् । देशभर ३ शय ५५ बाघ छन् । विभिन्न अध्ययन अनुसार निकुञ्जमा १ शय २० देखि ५० सम्म जंगली हात्तीहरु रहेका छन् । निकुञ्ज क्षेत्रमा रहेका जनावरहरु बस्तीमा आएर दुःख दिने गरेको स्थानीयहरु बताउँछन् ।