टीकापुर, साउन १३
टीकापुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेज नेविसंघ ईकाई कार्य समितिले आज एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीलाई स्वागत र दोस्रो ब्याचका विद्यार्थीलाई विदाई गरेको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृप वडले नेविसंघ नेपाली काँग्रेस पार्टीको शक्ति भएको बताए । उनले नेविसंघ सकृय भए मात्रै काँग्रेस अघि बढ्न सक्ने बताए ।
उनले नेविसंघका नेता कार्यकर्ताहरुबीच सकारात्मक सन्देशमूलक कार्यक्रम लैजानु पर्नेमा जोड दिए । उनले केही व्यक्तिहरुले काँग्रेसबाटै लाभ लिएर काँग्रेसकै नेताहरु विरुद्ध बोल्ने गरेको बताउँदै त्यस्ता व्यक्तिहरुका कारण पार्टीलाई क्षति पुग्ने गरेको बताए ।
उनले नेपालको सम्वृद्धिको आधार कृषि क्षेत्रको विकासले मात्रै सम्भव रहेकाले पार्टीले कृषि क्रान्तिको मुद्दालाई अघि सारेको बताए । उनले प्राविधिक शिक्षाका माध्यमबाट कृषि क्षेत्रको विकास गर्न राज्यले समयमै पहल गर्न आग्रह गरे ।
सोही अवसरमा कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभाका सदस्य ललिता सुनारले विद्यार्थीले राजनीतिका साथै आफ्नो उच्च शिक्षा अध्ययनको लक्ष्य समेत हासिल गर्न मेहनत गर्नुपर्नेमा जोड दिईन । उनले विद्यार्थी जीवन नै जीवनको उत्तम समय भएको बताउँदै स्वागत तथा विदाई कार्यक्रमले आफूले विद्यार्थी जीवनलाई महशुस गरेको बताईन ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाहले राज्यले शिक्षा प्रणामीमा सुधार ल्याउन आवश्यक भएको बताए । उनले यस्तै शिक्षा प्रणालीले विद्यार्थी जति सबै विदेश पलायन हुने खतरा रहेको बताए ।
उनले अहिले नै केही कलेजमा विद्यार्थी संख्या शुन्य हुन पुगेको खबर सार्वजनिक भैरहेको बताउँदै यस्तै अवस्था रह्यो भने देशभरका कलेजको अवस्था शुन्य हुने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस टीकापुर नगर सभापति नरेशकुमार खत्रीले टीकापुरको बसाई बाहिर हल्ला भए जस्तो जोखिमयुक्त नभएको बताए । सोही कार्यक्रममा नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवर, नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ प्रदेश क का सचिव भक्तराज देवकोटा, टीकापुर बहुमुखी क्याम्पस स्ववियु सभापति नृपजंग थापा र बिरेन्द्र विद्या मन्दिर क्याम्पस स्ववियु सभापति नविन अधिकारी लगायतले बोलेका थिए ।
इकाई सभापति किरण उपाध्यायको अध्यक्षतामा भएको स्वागत तथा विदाई कार्यक्रमका अवसरमा विद्यार्थीहरुले बृहत साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।