टीकापुर, साउन १३
सामान्यतया केरा फलको रुपमा प्रयोग हुन्छ । फलफूलको रुपमा खान र पूजापाठमा प्रयोग हुने केरा वैकल्पिक खाद्य श्रोतका रुपमा विकास भइरहेको छ । टीकापुरका कृषि विज्ञ कालु हमालले झण्डै १४ वर्षअघि खोलेको बनाना रिसोर्टले केरालाई वैकल्पिक खाद्य श्रोतका रुपमा विकास गरेको हो ।
तात्कालीन राजा महेन्द्रले २०२८ सालदेखि बसाएको टीकापुरको परिचय केराका परिकार पाइने गन्तव्यका रुपमा विकसित भइरहेको छ । केराकै बोट मुनी बसेर केराकै परिकारको स्वाद लिन पाइने गरी हमालले शुरु गरेको बनाना रेष्टुरेन्टमा केराका ४२ भन्दा बढी परिकारहरु पाइन्छन् ।
केराबाट निम्की, चुकाउनी, अचार, तरकारी, फिंगर चिप्स, पकौडा, मम, खिर, परौठा, रोटी, स्वीट बल, चिप्स आदिदेखि बनाना जुस हुँदै ब्राण्डी र वाइनसम्म बन्छन् ।
‘केराकै बारीमा बसेर केराका विभिन्न परिकार खान पाउँदा हामी पटक–पटक यहाँ आउने गरेका छौं’ रेष्टुरेन्टमा भेटिएका सुर्खेतका वीरेन्द्र खत्रीले भने ‘शुरु शुरुमा केराको परिकार हो भनेर चाख्ने गरेको भए पनि अहिले हामीले खानाकै रुपमा लिने गरेका छौं ।’
शुरु शुरुमा स्वाद लिने हिसाबले चाख्ने गरेका ग्राहकहरु अहिले खानाकै रुपमा केराका परिकार खाने गरेको रेण्टुरेन्टका सञ्चालक कालु हमाल बताउँछन् । ‘शुरुवाती दिनमा स्वादका लागि केराका परिकार चाख्ने गरेका ग्राहकहरु अहिले खानाकै रुपमा प्रयोग गर्न थालेका छन्’ कृषि विज्ञ हमालले भने ‘केराबाटै चार प्रकारका रोटी, चार प्रकारका म.म., चार किसिमका अचार, खिर, जुस, वाइन, ब्राण्डी समेत पाउन थालेपछि ग्राहकहरुले केराका परिकारलाई खानाको रुपमा लिइरहेका छन् ।’
रामपुर कृषि क्याम्पसबाट २०३९ सालमा कृषि विज्ञान विषयमा स्नातक हमाल नेपालमा उपलब्ध फलफूलहरुलाई खाद्यका रुपमा प्रयोग गर्न सके खाद्य संकट कहिल्यै नआउने दाबी गर्छन् ।
‘हामी कहाँ केरा छ, हामीले केराको परिकार बनायौं, कतै आँप होला आँपका परिकार, मेवाका परिकार, सुन्तलाकै परिकार मात्रै बनाउने हो भने पनि खाद्य संकट हुँदैन’ हमालले भने ‘एउटा फलबाट अनेक परिकार बनाउँदा उपभोक्ताले रुचिले खाने गरेका छन् ।’
बनाना रेष्टुरेन्ट एग्रो टुरिज्मको नमुना हो । हमालले टीकापुरमा बनाना रेष्टुरेन्ट, रानीमहल रिसोर्ट र बनाना रिसोर्ट सञ्चालन गर्दै आएका छन् । तीनै ठाउँमा केराका परिकार पाइन्छन् । हमालले नै देशका विभिन्न व्यवसायीहरुलाई केराका परिकार बनाउने तालिम समेत दिँदै आएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुरका डीन प्रा.डा. लालप्रसाद अम्गाई केरालाई खाद्य पदार्थकै रुपमा प्रयोग गर्न सकिने बताउँछन् ।
‘केराका परिकार उच्च रक्तचाप, मधुमेह, युरिक एसिड भएकाहरूलाई समेत उपयुक्त खाना हो’ प्रा.डा. अम्गाईले भने ‘प्रायः नेपालका सबै क्षेत्रमा उत्पादन हुने केराबाट पर्याप्त मात्रामा कार्बोहाइडे«ट, प्रोटिन, क्याल्सियम, फस्फोरस आदि भिटामिनहरु पाइने हुनाले पनि खाद्य सुरक्षाका लागि यो उत्तम विकल्प हुनसक्छ ।’
पाकेको केरा ७१ प्रतिशत भाग खानयोग्य हुन्छ । ‘केराको खानयोग्य शय ग्रामबाट कार्बोहाइड्रेट २७.२ ग्राम, प्रोटिन १.२० ग्राम, क्याल्सियम १७ मिलिग्राम, फस्फोरस ३६ मिलिग्राम, चिल्लो पदार्थ ०.३० ग्राम, भिटामिन सी ७ मिलिग्राम, फाइबर ०.४० ग्राम, क्यालोरी ११६ मिलिग्राम पाइन्छ’ प्रा.डा. अम्गाईले भने ‘केरामा फलाम ०.३६ मिलिग्राम, नायसिन ०.५० मिलिग्राम, थायमिन ०.०५ मिलिग्राम, राइबोफ्लोबिन ०.०८ मिलिग्राम र खनिज तत्व ०.८० पाइन्छ ।’
कैलालीमा केराखेती हरेक वर्ष वृद्धि हुँदै आएको छ । राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रमबाट केरा खेती विस्तारका लागि अनुदान लगायत सुविधा उपलब्ध हुँदा केराखेती विस्तार भइरहेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका कार्यक्रम अधिकृत श्याम जोशीले हरेक वर्ष कैलालीमा केराखेती विस्तार हुँदै गइरहेको बताए । ‘कैलालीका सबै ठाउँमा गरी व्यवसायिक रुपमा ८ शय ७५ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ’ कार्यक्रम अधिकृत जोशीले भने ‘प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको खेतीले यस वर्ष २६ हजार ७ शय ७३ मेट्रिक टन केरा उत्पादन भएको छ ।’
केराखेती प्रतिको कृषकको उत्साह, वर्षेनी बढ्दै गएको केराखेती र केराका परिकारप्रति उपभोक्ताको मोहका कारण समेत केरालाई बहुउपयोगी फलका रुपमा लिन सकिन्छ । ४२ बढी परिकार बनाउन सकिने केरालाई खाद्य सुरक्षाको वैकल्पिक श्रोतका रुपमा विकास गर्न सके खाद्य सुरक्षामा टेवा पुग्ने बताइन्छ ।