Hamro Patra
११ लाख रुपैयाँ झ्वाम, दुई वर्षमै बन्द भयो दन्त चिकित्सालय, ४५ ले मात्रै गरे उपचार

टीकापुर, साउन ११

टीकापुरस्थित रेडक्रस सोसाईटीद्वारा सञ्चालित दन्त चिकित्सालयमा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ । चिकित्सालयमा झण्डै दुई वर्षको अवधिमा करिव ४५ जनाले मात्रै उपचार सेवा लिएका छन ।

चिकित्सालय स्थापनामा ११ लाख रुपैयाँ खर्च गरिएको छ । जसमध्ये टीकापुर नगरपालिकाले अनुदान स्वरुप सात लाख दिएको थियो भने बाँकी रकम रेडक्रस आफैले ब्यहोरेको बताईएको छ । सेवाग्राही नै नआएपछि चिकित्सालयमा गरेको लगानी खेर गएको छ ।

Khadga Memorial And Janajagriti

टीकापुरबासीलाई स्तरीय दन्त सेवा दिने भन्दै निकै तामझामका साथ सुरु गरिएको चिकित्सालय हाल बन्द अवस्थामा पुगेको छ । त्यहाँ कार्यरत दन्त चिकित्सक डा. सन्तोष पण्डित छोडेर गएको तीन महिना भैसक्यो । चिकित्सक नै नभएपछि चिकित्सालय बन्द गर्नुपरेको बताईएको छ ।

चिकित्सालय सञ्चालन भएको ठाउँलाई रेडक्रसले स्टोर रुम बनाएको छ । चिकित्सालयमा जडान भएका उपकरणहरु त्यत्तिकै थन्किएका छन । रेडक्रस सोसाइटी टीकापुरका सभापति दत्तबहादुर बिष्टले यस बारेमा आफूलाई विस्तृत जानकारी नभएको प्रतिक्रिया दिए । उनले अघिल्लो कार्यकालमै चिकित्सालय स्थापना भएको बताए ।

चिकित्सालय स्थापना गर्नमा निवर्तमान सभापति जगदीश्वर पण्डितको अग्रणी भूमिका देखिन्छ । उनकै पालामा २०७८ असोज २१ गते चिकित्सालयले सेवा सुरु गरेको हो ।

रेडक्रस भवनसँगैको टीकापुर अस्पताल र टीकापुर बजारमा समेत केही निजी स्तरका दन्त सेवा प्रदान गर्दै आएका क्लिनिक हुँदाहुँदै रेडक्रसले यही सेवा सञ्चालनमा किन ल्याउनु पर्यो भन्ने कुरा महत्वपूर्ण छ । स्थानीयले केही व्यक्तिको कमिसनका कारण रेडक्रसले दन्त सेवा सञ्चालन गरेको आरोप लगाउने गरेका छन ।

‘टीकापुर अस्पतालमा त्यस्तो राम्रो सेवा छ । निजीस्तरका क्लिनिक पनि छन’ एक जना स्थानीयले भने –‘यस्तो अवस्थामा लाखौं खर्चेर रेडक्रसले किन दन्त सेवा सुरु गर्नु परेको हो । बुझ्न सकिएन ।’

निवर्तमान सभापति पण्डितले टीकापुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएपछि रेडक्रसको दन्त सेवा प्रभावित भएको जिकिर गरे । उनले सहुलियत दरमा स्वास्थ्य सेवा दिने उद्देश्यले दन्त चिकित्सालय सञ्चालन गरेको दावी गरे ।

‘अस्पतालमा १० देखी २ बजेसम्म मात्रै सेवा छ’ उनले भने –‘त्यस अघिपछिको समयमा सेवा दिने उद्देश्यले चिकित्सालय सुरु गरेका हौं ।’

तर उनले दावी गरे अनुसार चिकित्सालयमा उपचार गर्न आउने बिरामीको चाप कहिल्यै देखिएन । अहिलेसम्म उपचार गरेका बिरामीको संख्या हेर्दा महिनामा २ जनाका दरले उपचार गरेको समेत देखिदैन ।

त्यो पनि चिकित्सालय उद्घाटनका दिन मात्रै १६ जनाले दाँत जाँच गरेका थिए । यो सहित ४५ जनाले मात्रै उपचार गरेको चिकित्सालयको रेकर्डमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update