Hamro Patra
शपथ खान गएका रामेश्वर र कैलाश किन फर्काइए ?

लखन चौधरी
धनगढी, साउन ९

सुदूरपश्चिम प्रदेश सरकारको राज्यमन्त्रीको शपथ ग्रहणका लागि नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य कैलाश चौधरी मंगलबार आफ्नो परम्परागत थारु पोशाक सेतो धोती, फुन्नाहा टोपी र काठको पौवा (खराउ)सहित टीकापुरबाट धनगढी पुगेका थिए ।

त्यही तयारीमा अर्का मन्त्रीमा सिफारिस भएका प्रदेशसभा सदस्य रामेश्वर चौधरी पनि थिए । तर, उनीहरुको मन्त्री पदको शपथ खाने त्यो धोको भने हाललाई अधुरै रहन पुगेको छ ।

CMA Staff

पार्टीको निणर्यले निराश देखिएका कैलाश चौधरी भन्छन्, ‘सबै निणर्य र सहमतिपछि हिजोदेखि नै तयारी अवस्थामा थिएँ । उत्साह थियो । आफ्नो परम्परागत पोशाकसहित आज पुगेको थिए । तर, केन्द्रीय कार्यालयको पत्रले आज हुने शपथ हुन सकेन ।’

पार्टीको संसदीय दलको निणर्यका साथै सोमबार मुख्यमन्त्री कमलबहादुर शाह र नाउपा दलका नेताहरु बीचको छलफलपछि आज शपथ ग्रहण गराउने सहमति भएको थियो । सोही सहमतिपछि प्रदेशसभा सदस्यद्वय तयारी अवस्थामा मंगलबार टीकापुरबाट धनगढी पुगेका थिए ।

तर, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको एक पत्रले उनीहरुको शपथ ग्रहण एकाएक रोकियो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको लागि रामेश्वर चौधरी र राज्यमन्त्रीको लागि कैलाश चौधरीलाई सिफारिस गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीद्वारा आज मुख्यमन्त्री कमल बहादुर शाहलाई सम्प्रेषित पत्रमा भनिएको छ, ‘पार्टीको केन्द्रको निणर्य र सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालयको भागवण्डा नमिलेकाले सहभागी नहुने जानकारी गराउँदछौ ।’

पार्टीभित्र लफडा

नागरिक उन्मुक्ति पार्टीले यसअघि २ मन्त्रालय र १ राज्यमन्त्रीसहित मात्रै प्रदेश सरकारमा जाने अडानमा थियो । तर, पछिल्लो पटक आफ्नो सो अडानबाट पछि हट्दै १ मन्त्रालय र १ राज्यमन्त्रीमै सरकारमा जान राजी भएको थियो । जसअनुसार सरकारमा रामेश्वर चौधरी र कैलाश चौधरी सिफारिस भए ।

पार्टीको मर्यादाक्रम अनुसार वरिष्ठ नेता तथा पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीलाई संसदीय दलको नेता चयनदेखि हाल मन्त्रीको सिफारिससम्म पन्छ्याइँदै आइएको नागरिक उन्मुक्ति पार्टीका एक केन्द्रीय सदस्यले बताए । सो विवाद र असन्तुष्टि पार्टीभित्र बढ्दै गएको बताइन्छ ।

यतिमात्रै होइन, निणर्य प्रक्रियामा धुल्मुले प्रवृत्तिले पनि नागरिक उन्मुक्ति पार्टीभित्रै विवाद चुलिएको बताइन्छ ।

एक नेताले भने, ‘हिजो नै पार्टी अध्यक्ष ज्यूले शपथ ग्रहणको लागि पठाउनुभयो । तर, आज एकाएक पार्टी संरक्षक रेशम चौधरीले अध्यक्षज्यूको हस्ताक्षरमा मुख्यमन्त्रीलाई शपथ नगराउने आशयको पत्र पठाउनुभयो । र, रोकियो ।’

पार्टीको निणर्य प्रक्रियामा पति पत्नी रहेका रेशम-रञ्जिताबीच मतविभिन्नता समेत रहेको बताइएको छ । जसलाई पछिल्लो घटना क्रमले सतहमा ल्याएको हो ।

नागरिक उन्मुक्ति पार्टीको धुलमुले प्रवृत्तिले सुदूरपश्चिम सरकारको मन्त्री परिषद विस्तार अवरुद्ध भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update