Hamro Patra
नार्कको प्रदेशस्तरीय अनुसन्धान केन्द्र स्थापनाका लागि छलफल

टीकापुर, साउन ८

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले कैलालीको टीकापुरमा सुदूरपश्चिम प्रदेशस्तरीय बहु-आयामिक कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि पहल थालेको छ ।

परिषदले केन्द्र स्थापनाका लागि आवश्यक मापदण्ड, पूर्वाधार लगायतका विषयबारे सरोकारवाला निकायसँग प्रारम्भिक छलफल थालेको हो ।
परिषद, टीकापुर नगरपालिका र सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकाय डीन कार्यालय टीकापुरले केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रम गरेको छ ।

Khadga Memorial And Janajagriti

कार्यक्रमका अधिकांश वक्ताहरुले राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजना, सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकाय, कृषि तथा वन विश्वविद्यालय रामपुरको प्राकृतिक श्रोत व्यवस्थापन कलेज रहेको टीकापुरमा केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य रुपा सोसी चौधरीले कृषि भण्डारका रुपमा रहेको यस क्षेत्रमा कृषिको अनुसन्धान गर्दैै उत्पादन बढाउनका लागि केन्द्र स्थापना हुनुपर्ने बताइन् ।

राष्ट्रिय सभा सदस्य गरिमा शाहले टीकापुरले सजिलै केही नपाएको बताउँदै नार्कको केन्द्र स्थापनाका लागि टीकापुर एकजुट हुने बताइन् । ‘अनुसन्धानकै माध्यमबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिन्छ’ राष्ट्रिय सभा सदस्य शाहले भनिन् ।

कार्यक्रममा सहभागी सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अम्माराज जोशीले आफ्नो क्षेत्रको विज्ञ आफ्नै क्षेत्रमा प्रयोग गर्नका लागि पनि केन्द्र स्थापना हुनुपर्नेमा जोड दिए । ‘सुदूरपश्चिमको बाली नाली तथा कृषि क्षेत्रको समग्र विकासका लागि केन्द्र आवश्यक छ’ उपकुलपति जोशीले भने ‘सुदूरपश्चिम विश्वविद्यालय त्यसका लागि सहकार्य गर्न तत्पर छ ।’

नार्कका बाली निर्देशक, डा. कृष्णकुमार मिश्रले केन्द्र स्थापनाका लागि आवश्यक जग्गाको जोहो गर्न सके तत्काल शुरु गर्न सकिने बताए । ‘गौरबको आयोजना रहेको टीकापुरले धेरै ठाउँलाई सेवा पुर्याउन सक्छ, यहाँका किसानहरुले मुल बिउ यहाँ नै पाउँछन्’ डा. मिश्रले भने ‘किसानको सहभागितामा हाइब्रिड जातको बिउ त्पादन गरेर आर्थिक क्रान्ति ल्याउन, अन्तर्राष्ट्रिय प्रविधिहरुको विकास गर्न केन्द्रले मद्दत पुग्नेछ ।’ मिश्रले नेपाल सरकारले चार वर्ष अघि नै सुदूरपश्चिममा केन्द्र स्थापनाका लागि नीतिगत निणर्य गरिसकेको बताए ।

अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रका नेपाल कन्ट्री डाइरेक्टर डा. कृष्णदेव जोशीले कृषिमा पर्याप्त अध्ययन, अनुसन्धान नभएका कारण युवा पुस्ता विदेशिनु पर्ने बाध्यतालाई केन्द्रले कम गर्न मद्दत पुग्ने बताए । ‘हायर लेभलको प्रविधियुक्त खेतीका लागि अनुसन्धान गर्न केन्द्रको आवश्यक छ, जसले विदेश जान आतुर युवा पुस्तालाई समेत नेपालमै रोक्न मद्दत पुर्याउनेछ’ डा. जोशीले भने ।

कार्यक्रममा नार्कका वैज्ञानिक डा.रामबहादुर खड्काले परिषद्ले स्थापना गर्न चाहेको सुदूरपश्चिम प्रदेशस्तरीय केन्द्रबारे सहजीकरण गरेका थिए । खड्का अनुसार केन्द्र स्थापनापश्चात् सुदूरपश्चिमका ९ वटै जिल्लामा फरक फरक विषयका अनुसन्धान केन्द्रहरु स्थापना गर्ने लक्ष्य राखिएको छ । केन्द्र स्थापनाका लागि तत्काल शय विघा जमिन आवश्यक पर्ने खड्काले बताए ।

कार्यक्रममा डीन प्राध्यापक डाक्टर लालप्रसाद अम्गाई, प्रदेश सभा सदस्य ललिता सुनार, संविधान सभा सदस्य हरि ज्ञवाली, टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाह लगायतले केन्द्र स्थापनाका लागि टीकापुर एकमत भएकोमा जोड दिएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update