Hamro Patra
झोलुङ्गे जोगाउन जैविक तटबन्ध

टीकापुर, साउन ७

कैलालीको दक्षिणी भजनी नगरपालिका वडा नं. ९ आम्बारीको झोलुङ्गे पुल जोगाउनका लागि स्थानीयहरु जैविक तटबन्ध निर्माणमा जुटेका छन् ।नगरपालिकाको वडा नं. ९ आम्बारी र वडा नं. ४ खैलाडलाई जोड्ने कान्द्रा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल जोगाउन स्थानीयहरु जैविक तटबन्ध निर्माण जुटेका हुन् ।

स्थानीय होमबहादुर बोहराले ७ महिना अघि निर्माण सम्पन्न भएको कान्द्राको झोलुङ्गे पुलदेखि उत्तरतर्फ कान्द्रा नदीले कटान शुरु गरेपछि चार दिनदेखि स्थानीयहरु तटबन्ध निर्माणमा जुटेको बताए ।

Khadga Memorial And Janajagriti

‘नदीले ५ मिटरभन्दा बढी जमिन कटान गरिसकेको छ, बलौटे माटो छ, एकदिन आएको बाढीले नै पुल जोखिममा पर्यो’ बोहराले भने ‘१५ मिटर तल झोलुङ्गे पुल छ, पुलको दायाँबायाँ तटबन्ध नहुँदा कटानको जोखिममा परेको हो ।’

स्थानीयहरुले नदी नियन्त्रणका लागि कुकाठ, बाँस, झारपातको प्रयोग गरेर बोरामा बालुवा भर्दै जैविक तटबन्ध निर्माण गरिरहेका छन् ।

वडा नं. ९ र ४ का १ शय ५० जना भन्दा बढी गाउँलेहरुले चार दिनदेखि निरन्तर दैनिक श्रमदान गरेर तटबन्ध निर्माण गरिरहेको वडा नं. ९ का अध्यक्ष सञ्जित चौधरीले अन्नपूणर् पोष्टलाई बताए ।

‘९ नम्बर र ४ नम्बर वडाका गरी दैनिक डेढ शयदेखि २ शय बढी गाउँलेहरुले श्रमदान गरिरहेका छौं’ वडाध्यक्ष चौधरीले भने ‘वर्षौंदेखिको गाउँलेको माग रहेको झोलुङ्गे पुल नै खतरामा पर्ने देखेपछि श्रमदान गरेरै बचाउने प्रयास गरिरहेका छौं ।’ वडाध्यक्ष चौधरीले झोलुङ्गे पुल निर्माण गरिएको क्षेत्रमा तारजालीसहितको तटबन्ध निर्माणका लागि नगरपालिकालाई पहल गर्न अनुरोध गरिएको बताए ।

नदी नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा वर्षेनी सो क्षेत्रका स्थानीयहरुले नदी कटानको जोखिम मोल्दै आएका छन् । नदीको कटानका कारण सयौं विघा उब्जाऊ जमिन बालुवामा परिणत भएको स्थानीयहरु बताउँछन् ।

कैलालीको चुरे क्षेत्रबाट बग्ने कान्द्रा नदीले दक्षिणी क्षेत्रको भजनी नगरपालिकामा कटान गर्दा आम्बारी, गञ्जावा, खैलाड क्षेत्रको जमिनमा क्षति पुग्दै आएको छ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update