टीकापुर, साउन ७
गत आर्थिक वर्षको तुलनामा यस वर्ष कैलालीमा राहदानी लिनेहरुको संख्या दोब्बरले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयमा दैनिक ३०-३५ जना राहदानीका लागि आउने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७९/०८० मा १० हजार ४ शय ६१ जनाले राहदानी लिएका छन् । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ५ हजार ५ शय १४ र आर्थिक वर्ष २०७७/०७८ मा २ हजार १ शय ८१ जनाले राहदानी लिएका थिए ।
पछिल्ला तीन वर्षको तथ्याङ्क हेर्दा वर्षेनी राहदानी लिनेहरुको संख्या बढ्दै गएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
‘जिल्लाबाटै सहज तरिकाल राहदानी उपलब्ध हुने थालेपछि आवेदन भर्नेको संख्यामा वृद्धि भएको हो, एक महिनाभित्रै राहदानी बनेर आइपुग्छ’ जोशीले भने ‘राहदानी बनाउने अधिकांश १०+२ उत्तीणर् गरेर अध्ययन र रोजगारीका लागि विदेश जानेहरु छन् ।’
स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना नभएर विदेश जाने लहर नै चलेका कारण राहदानी बनाउनेहरुको संख्यामा वृद्धि हुँदै गएको स्थानीयहरु बताउँछन् ।