Hamro Patra
बालविवाह न्यूनिकरण सञ्चार अभियान

टीकापुर, भदौ १४
‘सानै छु बढ्न देउ, बालविवाह होइन पढ्न देउ’ भन्ने नाराका साथ टीकापुरमा शनिवार बालविवाह न्यूनिकरणका लागि सञ्चार अभियान सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना र सामुदायिक रेडियो टीकापुर एफएमको समन्वयमा सम्पन्न भएको थियो । कार्यक्रममा वल्र्ड भिजनले आर्थिक सहयोग गरेको हो ।

Khadga Memorial And Janajagriti

महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै मेयर रावलले बालविवाह रोक्न निकै चुनौतीपूर्ण रहेको बताए ।

उनले समाजका हरेक व्यक्ति बालविवाह न्यूनिकरणमा अग्रसर हुनुपर्ने बताए । उनले नगरपालिकाले समेत बालविवाह न्यूनिकरणका पक्षमा धेरै काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मनोहर भट्ट, नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा र बाल कल्याण संघका नैनतारा श्रेष्ठले बालविवाहको अवस्था र कानूनी प्रकृयाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र माथि टिप्पणी गर्दै विभिन्न व्यक्तिहरुले बालविवाहको कारण फेरिएको बताए । उनीहरुले पहिले अभिभावकले पुण्य कमाउने बहानमा हुने बालविवाह रोकिए पनि सामाजिक सन्जाल र मोवाइलको प्रयोगका साथै गरिवी लगायतका कारण बालविवाह बढेको बताए ।

कार्यक्रममा उपमेयर केशरी रावल बिष्ट, वडाध्यक्षहरु गंगाराम आचार्य, प्रकाश बुढा र दीर्घ ठकुल्ला लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, बडघर, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

टीकापुर नगरपालिकाका वडा नं. १, २ र ८ मा बालविवाहको दर अधिक रहेको एक तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update