बैतडी, साउन ६
अपी पावर कम्पनीले निर्माण गरेको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन परीक्षण गरेको छ । बैतडी र दार्चुलाको सीमा भएर बग्ने चमेलिया नदीमा निर्माण गरिएको पावरहाउसबाट विद्युत उत्पादन परीक्षण सुरु गरिएको हो ।
दार्चुलाको मार्मा गाउँपालिका वडा नं. १ किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका वडा नं. २ घट्टीगाडमा रहेको विद्युत गृहमा पानी खसालेर परीक्षण सुरु गरिएको कम्पनीका प्रवन्ध निर्देशक सन्जीव न्यौपानेले बताए ।
आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाइन, तीनवटै टर्वाइन, जेनेरेटर र अन्य उपकरणहरुको परीक्षण सफल भएको उनले बताए । निर्माण सम्पन्न भएपछि आयोजनाको प्राविधिक टोलीले बिहीबारदेखि पूणर् तयारीका साथ उपकरण र भौतिक संरचनाहरुको परीक्षण सुरु गरेको थियो। शुक्रबार विद्युत गृहमा पानी खसालेर मेसिनहरुको परीक्षण सुरु गरिएको आयोजनाको निर्माणतर्फका प्रमुख ईन्जिनियर मनिषसिंह ठगुन्नाले बताए ।
शनिबारदेखि परीक्षणका रुपमा विद्युत उत्पादन गरी बलाचस्थित सबस्टेसनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिने उनले बताए । करिब आठ अर्ब लागतमा निर्माण भएको अपर चमेलियाले ३० महिनामै निर्माण सम्पन्न गरेको हो ।
२ सातापछि व्यावसायिक उत्पादन थाल्ने र आइतबार आयोजनाको उद्घाटन हुने प्रवन्ध निर्देशक न्यौपानेले बताए ।