Hamro Patra
हाकिम नहुँदा सत्ती भन्सारले ५६ प्रतिशत राजश्व गुमायो

टीकापुर, साउन ६

कैलालीको दक्षिणी सीमावर्ती खक्रौलामा रहेको सत्ती भन्सार कार्यालय लक्ष्यको ५६ प्रतिशत राजश्व उठाउन असफल भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि भन्सार विभागले तोकेको राजश्वको लक्ष्यमा जम्मा ४४ प्रतिशत मात्रै राजश्ज उठेपछि कार्यालयले असफल भएको हो ।

विभागले सत्ती भन्सार कार्यालयलाई १६ करोड ९४ लाख, ४२ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य दिएकोे थियो । भन्सारले एक वर्षको अवधिमा ७ करोड ३८ लाख ८९ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ । जुन निर्धारित लक्ष्यको ४४ प्रतिशत मात्रै हुन आउँछ ।

Khadga Memorial And Janajagriti

सत्ती भन्सारबाट कपडा, मोटर पार्ट, हार्डवेयरका सामान, चामल, गहुँ, जस्ता खाद्य वस्तु आयात हुने गरेको छ । भन्सारबाट निर्यात न्यून हुँदा तोकिएको लक्ष्य उठाउन नसकिएको कार्यालयका निमित्त प्रमुख तुलसीराम चौधरीले बताए ।

भारतर्फको बाटो सहज नभएका कारण समेत भन्सारको राजश्वमा कमी आएको चौधरीले बताए । ‘मुख्य रुपमा भन्सारमा प्लान्ट र पशु क्वारेन्टाइन छैन, सामान नै कम मात्रामा आउने गरेको छ’ चौधरीले भने ‘त्यसमा पनि भारततर्फको बाटो राम्रो नहुँदा कम उठेको हो ।’

सत्ती भन्सारमा क्वारेन्टाइन कार्यालय नहुँदा कैलालीको पूर्वी क्षेत्रमा भारतबाट आउने तरकारी तथा फलफूलहरु धनगढीबाट ल्याउनु पर्ने बाध्यता रहेको व्यवसायीहरु बताउँछन् । भन्सार भएर आउने सामान नै सीमित भएपछि राजश्व लक्ष्य अनुसार नउठ्नु स्वभाविक भएको टीकापुर उद्योग वाणिज्य संघका सदस्य पृथ्वीराज ढुंगानाले बताए ।

‘भारतबाट आउने केही कपडा, हार्डवेयर लगायतका सामानबाट मात्रै राजश्व पर्याप्त उठ्ने कुरै भएन’ सदस्य ढुंगानाले भने ‘त्यसैका लागि टीकापुर उद्योग वाणिज्य संघले क्वारेन्टाइन स्थापनाका लागि आन्दोलन नै गर्नु परेको हो ।’

स्थानीय व्यवसायीहरु भने सत्ती स्थित भन्सार कार्यालयका तत्कालीन प्रमुख विमलकुमार साहले सेटिङ्गमा सामान ल्याउने गरेका कारण आर्थिक वर्षको शुरुवातदेखि नै राजश्व कम हुँदै गएको बताउँछन् ।

२०७९ पौष अघिसम्म कार्यालय प्रमुख रहेका साहले भन्सारकै सरकारी गाडी प्रयोग गरेर भारतीय बजारबाट सामान नेपाल ल्याउँदै गरेको समाचार हाम्रोपत्रमा प्रकाशित भएको थियो ।

समाचार प्रकाशित हुन अघिसम्म सीमा क्षेत्रमा तस्करीमा संलग्न सीमित व्यवसायीसँग मिलेर साहले भन्सार छल्ने गरेको आरोप सत्ती भन्सारकै कर्मचारीहरु लगाउँछन् ।

चार वर्ष अघिसम्म निर्धारित लक्ष्य भन्दा धेरै राजश्व उठाउँदै आएको कार्यालय साह आएदेखि नै ओरालो लागेको थियो । चार वर्ष अघि ६ करोड वार्षिक लक्ष्य रहेको भन्सार कार्यालयले २० करोड बढी रकम राजश्व संकलन गरेको थियो ।

साहकै पालादेखि ओरालो लागेको भन्सारमा त्यसयता माथि उठ्न सकेको छैैन । भन्सारमा झण्डै दुई महिना जति बसेका तीर्थराज पासवानले राजश्व सुधारमा पहल गरे पनि उनको गत महिना सरुवा भएको थियो । केही समयदेखि भन्सार कार्यालय निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update