Hamro Patra
बाढीबाट ज्यान जोगाउँदै पूर्व सूचना प्रणाली

टीकापुर, साउन ४

घर नजिकैको कर्णाली नदी उर्लिरहेको एक विहान कैलालीको टीकापुर नगरपालिका ८, फाँटाका ६७ वर्षीय पुनिराम चौधरीको मोबाइलमा म्यासेज आयो, ‘असोज २४, २०७९ विहान ७ बजे कर्णाली नदीको चिसापानीमा जलसतहले सतर्कता तह १० मिटर पार गरेकाले बर्दिया र कैलालीका तटीय क्षेत्रमा हुनेहरु सतर्क रहनुहोला ।’

जल तथा मौसम विभागले पठाएको यो सूचना पाएपछि चौधरी घरको माथिल्लो तलामा चढे । आफ्नो र परिवारका सबैका नागरिकता, जन्मदर्ता, रुपैयाँ आदि एउटा कालो प्लास्टिकको झोलामा पोको पारी घरको धुरीमा झुण्ड्याए । घरका परिवार सबै मिलेर भुइँतलामा रहेका चामल, पिठो माथि सारे ।

Khadga Memorial And Janajagriti

बाढी आउँदै गरेको सूचना छिमेकीलाई दिँदै झण्डै ५० मिटर उत्तर कर्णाली पुल छेउमा रहेको सुरक्षित उच्चा घर (बाढी आउँदा बस्ने घर) पुगे । जसै उनीहरु उच्चा घर पुगे, गाउँमा साइरन बज्यो । त्यसपछि गाउँका कोही कर्णाली पुलमा जम्मा भए भने कोही उच्चा घरमा ।

कुनै पनि विपदमा सूचना सबैभन्दा महत्वपूर्ण हुन्छ । बीस वर्षअघिसम्म बर्खामा खोला/नदीको अवस्था बुझ्न नजिकैको टावरमा चढ्नुपथ्र्यो भने अहिले आधुनिक पूर्व सूचना प्रणालीबाट चौधरीजस्ता प्रभावित क्षेत्रका दशौँ हजार बासिन्दा लाभान्वित भएका छन् । उनी भन्छन्, ‘पहिले पहिले वर्षा भयो, नदी बढ्यो भने नदी हेर्ने पालो लगाउनु पथ्र्यो । अहिले म्यासेज आयो कि हामी उच्चा घर वा पुलमा पुगिसक्छौं ।’

पूर्व सूचना प्रणालीबाट कैलालीको जानकी गाउँपालिका र टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका करिब १ लाख ६४ हजार लाभान्वित हुने अनुमान छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार जानकीमा ४९ हजार ८६०, टीकापुरमा ८९ हजार ८३५, गेरुवामा ३३ हजार ५१४ र राजापुरमा ६० हजार ८३१ जनसंख्या छ ।

कर्णाली नदीको तटीय क्षेत्रका प्रभावितलाई पानीको सतहले सतर्कता तह पार गरे मोबाइलमा म्यासेज आउन थालेको झण्डै ८ वर्ष भयो । कर्णाली नदीमा जल सतह १० मिटर हुँदा सतर्कता तह, १०.८ मिटर हुँदा खतरा तह मानिन्छ । पानीको सतह १० मिटर पुगेपछि जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सूचना पठाउँछ ।

कर्णालीमा मात्र नभई नेपालका ठूला नदी कोशी, कन्काई, कमला, बाग्मती, नारायणी, पूर्व राप्ती, पश्चिम राप्ती, बबई र महाकालीमा पूर्व सूचना प्रणाली जडान गरिएको छ । अहिले पानीको तह जाँच्ने सेन्सर र तत्कालिक तथ्यांकमा आधारित पूर्व सूचना प्रणाली सञ्चालनमा छ यो भरपर्दो हुनुका साथै विपद्को समयमा यसले हजारौँको ज्यान जोगाएको छ ।

जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट सुनिल पोख्रेलले कर्णाली लगायतका नदी र तिनका सहायक नदीमा राखिएका जलमापन केन्द्रबाट विभागको वेबसाइटमा नियमित अपडेट हुने बताए । ‘त्यो डाटाका आधारमा पानीको सतर्कता तह पार गरेका नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्व सूचना स्वरुप म्यासेज अलर्ट पठाउने गरेका छौं,’ उनी भन्छन्, ‘हरेक विहान ७ बजे तीन दिनको मौसम सम्बन्धी नियमित बुलेटिनमा रेनफल (वर्षा) का आधारमा पूर्वानुमान गर्ने गरेका छौं ।’

मौसमविद तथा जलवायु विज्ञ डाक्टर धरमराज उप्रेतीका अनुसार पूर्व सूचना प्रणालीले नदीमा पानीको सतहबारे आधा घण्टादेखि छ घण्टा पहिले नै तटीय क्षेत्रका बासिन्दालाई सूचना दिन्छ । ‘नदीमा जडान गरिएको यन्त्रले पानीको सतहबारे विभागको सिस्टममा सोझै सूचना पठाउँछ । त्यो सूचना प्रमाणित गर्न स्थानीय गेजरिडरले आफै गएर नाप लिन्छन्,’ उनी भन्छन्, ‘पानीको सतह यकिन भएपछि सिस्टमले नै कस्तो खालको सूचना प्रवाह गर्ने भनेर तय गर्छ र प्रभावित क्षेत्रका मोबाइलमा म्यासेज पठाउँछ ।’

कैलालीको चिसापानीमा बाढी पूर्वानुमान शाखाको सूचना केन्द्रमा कार्यरत गेज रिडर पार्वती गुरुङ पानीको सतहबारे समुदायलाई सूचना दिन्छिन् । कर्णालीको बाढी चिसापानीबाट तटीय क्षेत्र टीकापुर र राजापुरसम्म आइपुग्न तीन घण्टाभन्दा बढी समय लाग्छ । उनी भन्छिन्, ‘हामीले दिएको जानकारीका आधारमा उनीहरु सुरक्षित स्थानतर्फ जान पाउँछन् ।’

सूचना केन्द्रका अनुसार हालसम्म कर्णालीमा पानीको सतह सबैभन्दा बढी सन् २०१४ मा १६.५ मिटर पुगेको थियो । सन् २०२० मा १०.२७, २०२१ मा १३.१० र २०२२ मा १२.३५ मिटर पुगेको छ ।

बाढी प्रभावित क्षेत्रका समुदायमा कार्यरत संघ संस्थाहरुमा नेपाल रेडक्रस सोसाइटी, प्राक्टिकल एक्सन नेपाल, सामाजिक विकास तथा अनुसन्धान केन्द्र नेपाल (सिएसडीआर) आदि छन् । यी गैरसरकारी संस्थाले बाढी पूर्व सूचना प्रणाली, क्षति न्यूनिकरण, आपतकालीन कार्य सञ्चालन र उत्थानशील कार्यक्रम सञ्चालन गर्दै आएको टीकापुर नगरपालिका विपद् व्यवस्थापन शाखाकी प्रमुख निर्मला चौधरी बताउँछिन् ।

हरेक स्थानीय तहमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र छन् । वडास्तरीय विपद् व्यवस्थापन समिति, समुदायस्तरीय विपद् व्यवस्थापन समितिहरु छन् । यी सबैको काम बाढी प्रभावित समुदायलाई सूचना दिनु, सुरक्षित स्थानमा राख्नु, जनधनको क्षति न्यूनिकरण गर्नु हो ।

पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्थानीय आपतकालीन केन्द्रले सूचना संयन्त्र बनाएको छ । संयन्त्रमा गाउँका बडघर (गाउँलेले चुनेको गाउँ प्रमुख), चिरागी (खबर गर्ने व्यक्ति), विद्यालयका प्रधानाध्यापक, सामुदायिक वनका अध्यक्ष, महिला समूह, युवा क्लब, स्वास्थ्य स्वयम्सेविका, पत्रकार आदि हुन्छन् ।

विपद्बारेको सूचना पहिले गाउँको बडघर कहाँ पुग्छ । बडघरले चिरागीमार्फत् गाउँभर खबर गर्छन् । विद्यालयका प्रधानाध्यापकले विद्यार्थीमार्फत्, सामुदायिक वनका अध्यक्षले वनका सदस्यमार्फत्, महिला समूह, युवा क्लबले सदस्यमार्फत्, स्वास्थ्य स्वयम्सेविकाले गर्भवती, सुत्केरीसम्म सूचना पु¥याउँछन् भने पत्रकारले सञ्चार माध्यमबाट सूचना फैलाउँछन् ।

स्थानीय आपतकालीन केन्द्रले २०७८ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवसमा कृत्रिम घटना अभ्यास गर्दै आएको छ । बाढी प्रभावित समुदायको सहभागितामा हुने कृत्रिम घटना अभ्यासमा विहानै प्रभावित क्षेत्रका बासिन्दाको मोबाइलमा म्यासेज आउँछ । समुदायस्तरीय समितिको तत्काल बैठक बस्छ । केहीबेरमै बाढी गाउँ पस्छ । समुदायका मानिसहरु कोही वृद्धावृद्धालाई सुरक्षित स्थानमा लैजान्छन् । बाढीमा बगिरहेकाहरुलाई लाइफ ज्याकेटको प्रयोगले कोही उद्दार गर्छन् । बाढीबाट घाइते भएकाहरुका लागि एम्बुलेन्स बोलाइन्छ । प्रहरी समेत घटनास्थल पुग्छन् ।

यस्तो अभ्यास प्रभावकारी भएको टीकापुर नगरपालिका ६ सिम्रेनीकी ३८ वर्षीया मीना सुनार बताउँछिन् । ‘जुन ५ तारेखमा गरिने कृत्रिम अभ्यासले नै हामीलाई सचेत गराइसकेको हुन्छ,’ उनले भनिन् ।

केन्द्रले समुदायलाई तालिम समेत दिएको छ । समुदायस्तरीय विपद् व्यवस्थापन समितिले बाढीको पूर्व सूचनादेखि राहत वितरणसम्म गर्ने टीकापुर नगरपालिका ५ कर्मीडाँडाका ५० वर्षीय बडघर पूर्णराज बुढामगर बताउँछन् ।

समिति अन्तर्गत पूर्व सूचना कार्यदलका संयोजक समेत रहेका बुढामगरका अनुसार बाढीको सूचना आउने बित्तिकै समितिको बैठक बसेर खोज उद्दार, प्राथमिक उपचार, पूर्वसूचना कार्यदलले घरघरसम्म सूचना पु¥याउने, बालबालिका, वृद्धवृद्धा, असक्त, अपाङ्गहरुलाई सुरक्षित स्थानसम्म ल्याउने, राहतको व्यवस्थापन गरिन्छ ।

समुदायस्तरीय राहत कोषसमेत बनाएइको छ । कोषमा प्रत्येक घरबाट रु.२० संकलन गर्ने गरी बनाइएको कोषबाट बाढीमा मात्रै नभई आगलागी हुँदा समेत राहत दिइने बुढामगरले बताए । ‘यस वर्ष नगरपालिकाबाट कर्मीडाँडामा सामुहिक अन्न भण्डार केन्द्र समेत निर्माण गरेका छौं । बाढी आउँदा आफ्ना खाद्यान्न सामुहिक रुपमा सुरक्षित गर्न, अन्नपात जोगाउन मद्दत पुग्छ ।’

पूर्व सूचना प्रणाली थप विश्वासिलो हुँदै गइरहेको छ: डा.धरमराज उप्रेती, जलवायु तथा विपद् विज्ञ 

बाढी पूर्व सूचना प्रणाली भनेको के हो ?

कुनै नदी प्रणालीमा बाढी आयो भने त्यो नदीको तह कति छ, त्यो तहले कति समुदाय, कति कृषि भूमिलाई असर गर्छ भन्ने बारेमा कम्तीमा पनि आधा घण्टादेखि ६ घण्टा पहिले नै जानकारी गराउने प्रणाली पूर्व सूचना प्रणाली हो । मान्छेले बोलाउने र डाको लगाएर भन्ने चलन सन् २००० देखि शुरुपनि नेपालमा सन् २०१४ देखि यो प्रणाली शुरु भयो । यसैबेला व्यवस्थित तरिकाले एसएमएस अलर्ट दिन शुरु गरियो । अहिले यो हिमालबाट बग्ने नदीहरु महाकाली, कर्णाली, कोशी, राप्ती, बबईमा यो प्रणाली जडान भएको छ । प्राक्टिकल एक्सन नेपालले जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सबै नदीमा जलमापन गर्ने केन्द्र राखेको छ । त्यहाँको तथ्यांक सिधै जल तथा मौसम विज्ञान विभागको नेटवर्कमा जान्छ र त्यहाँबाट विभागले मापनको आधारमा सूचना बनाएर मोबाइलमा पठाउँछ । पोहोर जल तथा मौसम विज्ञान विभागले जारी गरेको सूचना १ करोड ३० लाख मान्छेलाई गएको छ । पछिल्लो समय त्यो बढ्दो छ । अहिले पूर्व सूचना प्रणाली थप विश्वासिलो हुँदै गइरहेको छ ।

यो प्रणालीले कसरी काम गर्छ ?

कुनै नदी प्रणालीमा एउटा यन्त्र राखिएको हुन्छ, त्यो यन्त्रले जलको तह कति छ जस्तो १ मिटर, २ मिटर, ३ मिटर भनेर मापन गर्छ । जस्तो कर्णाली नदीमा १ मिटरदेखि लिएर १०.८ मिटरसम्म पुग्यो भने खतरा तह मानिन्छ, १०.८ बाट माथि जाँदै गयो भने बाढीको खतरा तह बढ्दै जान्छ भनेपछि त्यो कति मिटर पुगेको छ भन्ने त्यो यन्त्रले रेकर्ड गर्छ । त्यो रेकर्ड सिधै जल तथा मौसम विज्ञान विभागमा जान्छ । अर्कोतर्फ भौतिक रुपमा नदी किनार गई गेज रिडरले पनि त्यो सिस्टमले दिएको जानकारी सही छ कि छैन भनेर पुष्टि गर्छ । सही छ भने जल तथा मौसम विभागले सूचना दिन्छ ।

बाढी तटीय क्षेत्रका समुदायसँग यो प्रणालीको सहज पहुँच छ ?

जति पनि नदीको तटीय क्षेत्रमा बस्ने जनता कति जोखिममा छन् भनेर पहिले नै घरधुरी मापन गरिएको हुन्छ । त्यो मापनको आधारमा एकखालको पोलीगन बनाएको छ, त्यो पोलिगनमा पर्ने जस्तो नदीका दुबै किनारमा पर्ने एक किलोमिटर, दुई किलोमिटरसम्म जोखिम हुन्छ भने त्यो दुई किलोमिटर भित्रका जनताले एसएमएस अलर्ट पाउँछन् । त्यो एसएमएस अहिले स्थानीय आपतकालीन केन्द्रबाट पनि गइरहेको छ ।

बाढी प्रभावित क्षेत्रको क्षति न्यूनिकरणमा यो प्रणाली सहयोगी बनेको छ ?

पछिल्लो समय बाढीबाट मर्ने संख्या पहिला १०० जना प्रतिवर्ष थियो भने अहिले घटेर २७ जना प्रतिवर्ष छ । यो २७ जना पनि कस्तो हुन्छ भने बाढी आएको समयमा नदीमा दाउरा संकलन गर्ने, माछा मार्न जाने बढी देखिन्छ । प्रणालीले सबैलाई सूचना दिन्छ, हाम्रो ठाउँ असुरक्षित भनेपछि उनीहरु सुरक्षित ठाउँमा जान्छन्, जसले ज्यान बच्छ । पूर्व सूचनाले उनीहरु मात्रै नभएर गाई, बाख्रा, सरसम्पत्ति लिएर जान्छन् किनकि ६ घण्टा अगाडि नै या ३ दिन अगाडि नै यति पानी पर्दैछ भनेर तीन दिन अघि नै सूचना दिन्छौं । त्यसको आधारमा जनताले सुरक्षाका उपाय अपनाउँछन् । अन्नभण्डार माथिल्लो तहमा राख्ने, सरसम्पत्ति सुरक्षित राख्ने गर्छन् । त्यो प्रयास भइरहेकाले यो प्रभावकारी बनिरहेको छ ।

पूर्वसूचना प्रणालीको संरचनागत अवस्था कस्तो छ ?

केन्द्रमा जल तथा मौसम विज्ञान विभाग छ, त्यसपछि राष्ट्रिय विपद् प्राधिकरण छ । विपद् ऐन अनुसार ७५३ पालिका र सातै प्रदेशमा स्थानीय आपतकालीन केन्द्र छन् । विभागबाट आएको सूचना सबै प्रदेश र पालिकामा पुग्ने गरी संयन्त्र छ । यद्यपि सबै पालिकामा स्थानीय आपतकालीन केन्द्र बनिसकेको छैन, बन्ने क्रममा छन् । यसरी जल तथा मौसम विज्ञान विभागले सबै सूचना रेडियो, टिभीबाट दिने र ११५५ नम्बरमा जहिले फोन गरे पनि कुन ठाउँमा कस्तो मौसम छ, कुन नदीमा बाढी आउने सम्भावना छ या छैन भन्ने जानकारी दिन्छ ।

(प्राक्टिकल एक्सन नेपालको सहयोगमा तयार गरिएको रिपोर्ट)

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update