योगेश रावल
टीकापुर, भदौ १२
साहित्यकार दिव्या प्रयासी (२६) बेसहारा बालबालिकाकी आमा बनेकी छन । टीकापुर नगरपालिका–२ राजीपुरमा ‘मेरी आमा’ नामक संस्था सञ्चालन गरेर उनले बेसहारा बालबालिकालाई सहारा दिँदै आएकी छन ।
उनको सहारामा आठजना बालबालिका हुर्किरहेका छन । उनीहरु ८ देखी ११ वर्षसम्मका छन । स्थानीय कालिका आधारभूत विद्यालयको पूरानो भवनमा खान र बस्नको व्यवस्था गरिएको छ । सहयोगीदाताहरुले गरेको सहयोगका आधारमा ‘मेरी आमा’ को यात्रा अघि बढिरहेको छ । अरुको सहारामा अघि बढेको ‘मेरी आमा’ को यात्राले त्यहाँ आश्रित बालबालिकाको जीवन यात्रालाई डो¥याईरहेको छ ।
त्यहाँ चार जना बालक र चारजना बालिका छन । उनीहरु सोही विद्यालयमा अध्ययनरत छन । उनीहरु भाईबहिनी सरह बस्दै आएका छन । उनीहरु सबैले प्रयासीलाई आमा भनेर सम्बोधन गर्छन । उनी समेत सबै बालबालिकालाई छोराछोरी भनेर सम्बोधन गर्छिन ।
‘मेरी आमा’ मा बस्दै आएका सबै बालबालिकाका दुःखान्त कथा छन । उनीहरु सबैसँग आ–आफ्नै खालका पीडा छन । उनीहरु सबैका आमाबुबा छैनन् । यहाँ आउनु भन्दा पहिले उनीहरु कोही छरछिमेकी र कोही वृद्ध बाजेबज्यैको सहारामा बाँचेका थिए ।
जुनम चौधरी (११) र अर्जुन चौधरी (७) दिदीभाई हुन । उनीहरुलाई न आफ्नो आमाबुबाको सम्झना छ न घरठेगानका बारेमा थाहा छ । उनीहरुको बाल्यकाल टीकापुर नगरपालिका–४ अस्नेरीस्थित मञ्जु रावलको घरमा बित्यो । रावलका परिवार काठमाण्डौंमा बस्छन । ती दुई भाईबहिनी रावलको अस्नेरीस्थित घरमा बस्थे । तिनै रावलले उनीहरुको गास बासको व्यवस्था गरिदिएकी थिईन । उनीहरु रावललाई फुपु भनेर सम्बोधन गर्छन ।
प्रयासीले नै ती भाईबहिनीलाई ‘मेरी आमा’ मा ल्याईन । उनीहरु अहिले स्कुल पढ्न थालेका छन । यसैवर्ष कक्षा १ मा भर्ना भएका अर्जुनले पढ्न राम्रो लागेको बताए ।
टीकापुर नगरपालिका–३ शंकरपुरका सुरेश विक (१०) कक्षा ६ मा पढ्छन । उनी दुई वर्षको हुँदा बुबा बिते । आमा अर्कै पोइल हिँडिन । उनी लगायत २ दिदी समेत बेसहारा बने । जेठी दिदी मेनुका ठूलीआमाको सहारामा मुम्बई बस्छिन । कान्छी दिदी करुणा वृद्ध बाजेबज्यैको सहारा बनेकी छन ।
कान्छी दिदी करुणा सुरेशलाई भेट्न कहिले काँही आउँछिन । उनी केही दिन भाईको लागि कापी लिएर आएकी थिईन । यसो भन्दै गर्दा सुरेश निकै भक्कानिए । उनले घरपरिवारको माया लागेपनि पढ्न लेख्न पाएकोमा खुशी लागिरहेको बताए ।
टीकापुर नगरपालिका–२ राजीपुरकै मुकेश विक (९) का १ भाई १ बहिनी छन । उनीहरु बाजेबज्यैसँग बस्छन । उनका समेत ३ वर्षअघि बुबाको निधन भएपछि आमा छोडेर हिँडिन । मुकेश कक्षा ४ मा पढ्छन । उनी कक्षामा प्रथम हुन्छन । उनले घर भन्दा ‘मेरी आमा’ मा बस्न आनन्द लाग्ने बताए । ‘यहाँ खान र पढ्न पाईन्छ’ उनले भने–‘धेरै पढ्ने रहर छ ।’
मुक्त कमैया बस्ती विजयनगरकी आइका चौधरी (८) का बुबा बेपत्ता भए । उनकी आमा समेत छोडेर अन्तै हिँडिन । त्यतिबेला उनी ५/६ महिनाकी मात्रै थिईन । उनी वृद्ध बाजेसँगै टहरोमा बस्दै आईन । उनका बाजे काम गर्न सक्दैनन् । उनी घरछिमेकीले दया गरेर दिएको अन्न खाएर हुर्किईन । यो बिचमा उनले कैयौं दिन भोकै बस्नु प¥यो । उनी अहिले कक्षा ३ मा पढ्छिन । उनको पढाई समेत निकै राम्रो छ ।
‘मेरी आमा’ मा बस्दै आएका अन्य सुजिता चौधरी (९) निरुता चौधरी (९) र शुभम चौधरी (९) को बाल्यकाल समेत निकै दुःख र पीडाले भरिएको छ । उनीहरुका समेत आमाबुबा छैनन् । उनीहरु समेत बेसहारा भएको अवस्थामा ‘मेरी आमा’ मा पुगेका हुन ।
बेसहारा अवस्थामा रहेका यीनै बालबालिकाको सहारा बनेकी प्रयासी कुनै सम्पन्न व्यक्ति हैनन् । उनी सामान्य परिवारकी छोरी बुहारी हुन । उनका श्रीमान गायक नन्कु निशान हुन । उनी हाल दुवईमा छन । उनीहरुले ‘लभ म्यारिज’ गरेका हुन । उनकी ६ वर्षकी एक छोरी छन ।
धनगढीस्थित ग्यालेक्सी स्कुलबाट प्लस टु उत्तीर्ण गरेकी प्रयासी सानैदेखी भावुक स्वभावकी थिईन । उनी साहित्य लेखनमा रुची राख्छिन । उनले ‘मुस्कान एक अस्रा’ नामक कविता संग्रह प्रकाशित गरेकी छन । उनका धेरै लेख रचना अप्रकाशित छन । ‘धेरै लेख रचना प्रकाशन गर्न सकेको छैन’ उनले भनिन्–‘आर्थिक अवस्थाले साथ नदिँदा थन्किएका छन ।’
उनी उद्घोषण क्षेत्र र राजनीतिमा समेत संलग्न छिन । उनले हाल राजनीति कम र समाजसेवामा बढि सकृय रहेको बताईन । उनले सानैदेखीको बालबालिकालाई संरक्षण गर्ने सोचले ‘मेरी आमा’ को स्थापना गरेको बताईन । यो संस्था बैशाखबाट सञ्चालनमा आएको हो ।
उनले बालबालिकाको स्याहार सुसारका लागि २ जना कर्मचारी समेत राखेकी छन । ती मध्ये १ जना भान्से र १ जना वार्डेन छन । उनीहरुलाई मासिक ५/५ हजार तलब दिएकी छन । उनले बालबालिकाको जीविकोपार्जनका लागि गासबास र कर्मचारीको लागि पारिश्रमिक जुटाउन निकै समस्या भैरहेको बताईन । ‘निकै गाह्रो हुँदैछ’ उनले भनिन्–‘तपाईहरु जस्तै सहयोगी हातहरु बढ्यो भने सहज होला भन्ने आशा छ ।’
यसरी बेसहारा बालबालिकाहरुलाई कहिलेसम्म पाल्नुहुन्छ ? उनले भनिन्–‘थाहा छैन । जबसम्म मेरो सामथ्र्यले सक्छ तबसम्म प्रयास गर्छु ।’ उनले अन्त्यमा भनिन्–‘धन ठूलो हैन, मन ठूलो हुनुपर्छ । मनले नै सबै कुरा पु¥याउछ ।’