Hamro Patra
पेट्रोलियम पदार्थको कृत्रिम अभाव

टीकापुर, साउन २

कैलालीमा पेट्रोलियम पदार्थ व्यवसायीले पेट्रोल पम्पमा ताला लगाएर इन्धनको कृत्रिम अभाव सिर्जना गरेका छन् ।

CMA Staff

व्यवसायीले नेपाल आयल निगमको धनगढी डिपोबाट शुक्रबारपछि इन्धन उठाएका छैनन् । शुक्रबार उठाएको इन्धन पनि उनीहरुले बिक्री गरेका छैनन् । पेट्रोल पप्पहरुले शनिबार साँझदेखि नै इन्धन नभएको भन्दै उपभोक्तालाई फर्काएका छन् ।

पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष मनिराम पाण्डेले डिलरहरुले आयल निगमबाट पेट्रोलियम पदार्थ नउठाउदा समस्या भएको बताए ।

‘भारतमा १५ र १ तारेखमा मूल्य घट्न सक्ने भन्दै डिलरहरुले पेट्रोलियम पदार्थ उठाउन नमान्दा अहिले बजारमा आपूर्ति हुन नसकेको हो’, पाण्डेले भने, ‘यो विषयमा हामी छलफल गरिरहेका छौँ, प्रमुख जिल्ला अधिकारीसँग कुुराकानी गर्न जादैछौँ ।’

नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले शुक्रबारसम्म प्रदेशका सबै जिल्लाका डिलरलाई पेट्रोलियम पदार्थ वितरण गरिएको बताए । आइतबार भने निगमको प्रणालीमा समस्या आएकाले वितरण हुन नसकेको बताए ।

मंगलबार भने दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल बजारमा पठाउने तयारी भइरहेको शाहले बताए ।

भारतमा इन्धनको मूल्य घट्ने व्यवसायीको प्रक्षेपणका कारण पनि कतिपयले व्यवसायीले पेट्रोलिय पदार्थको माग नगरेको हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update