Hamro Patra
टीकापुर नगरपालिकाको खर्च गर्ने क्षमतामा प्रगति

टीकापुर, साउन १

कैलालीको टीकापुर नगरपालिकाले आफ्नो खर्च गर्ने क्षमतामा उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष नगरपालिकाले पुँजीगत खर्चमा ११.१७ र चालु खर्चमा ३.९७ प्रतिशतले वृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० मा नगर पालिकाले चालु खर्चमा ८८.०४ प्रतिशत तथा पुँजीगत खर्चमा ७४.६५ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा चालु खर्च ८४.०७ प्रतिशत र पुँजीगततर्फ ६३.४८ प्रतिशत खर्च गरेको थियो । पालिकाले चालु खर्चमा खासै अन्तर नभए पनि पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको हो ।

Khadga Memorial And Janajagriti

नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० का लागि चालुतर्फ ६५ करोड ८१ लाख २१ हजार ६९० रुपैयाँ अनुमान गरेकोमा ५७ करोड ९३ लाख ९७ हजार ३७३ रुपैयाँ खर्च गरेको छ । त्यस्तै पुँजीगततर्फ ४४ करोड ३९ लाख २ हजार ८४८ रुपैयाँ अनुमान गरिएकोमा ३३ करोड १३ लाख ९१ हजार २८० रुपैयाँ खर्च गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा चालुतर्फ ६० करोड ४५ लाख ४६ हजार ९२७ रुपैयाँ अनुमान गरेकोमा ५० करोड ८२ लाख ४६ हजार ९२७ रुपैयाँ खर्च गरेको थियो । त्यस्तै पुँजीगततर्फ ४८ करोड ९६ लाख ४२ हजार ४०६ रुपैयाँ अनुमान गरिएकोमा ३१ करोड ८ लाख २३ हजार २५३ रुपैयाँ खर्च गरेको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा पालिकालाई संघीय सरकारबाट ५३ करोड ३७ लाख १२ हजार ६७३, प्रदेश सरकारबाट ३२ करोड ९३ लाख ६ शय ६ रुपैयाँ प्राप्त भएको थियो ।

त्यस्तै आन्तरिक श्रोतबाट ३३ करोड ७६ लाख ४८ हजार ५७५ रुपैयाँ र राजश्व बाँडफाँडबाट १९ करोड २३ लाख ६६ हजार २५८ रुपैयाँ प्राप्त भएको थियो । त्यसैगरी वैदेशिक श्रोतबाट १ करोड ३३ लाख ५८ हजार ५७४ रुपैयाँ प्राप्त भएको थियो ।

टीकापुर नगरपालिकाकी लेखा अधिकृत लक्ष्मी ओडले गत आर्थिक वर्षमा चैत्र महिलासम्म योजना छनौट हुँदै आएकोमा खर्च घट्ने गरेको बताउँदै यस वर्ष पौषभित्रै योजना छनौट सम्पन्न हुँदा खर्चमा वृद्धि भएको बताइन् । ‘समयमा योजना छनौट हुँदा भुक्तानी गर्न समेत सजिलो भएको हो’ लेखा अधिकृत ओडले भनिन् ‘समयमा खर्च नहुँदा रकम फिर्ता जान थालेपछि उपभोक्ता समेत सचेत भएकाले खर्चमा वृद्धि भएको हो ।’

यता, टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले नगरका सबै योजनाहरु बैैशाख मसान्तभित्र सम्पन्न गर्ने नीतिगत निणर्य गरिएकाले खर्चमा वृद्धि भएको बताए ।

‘एकातिर बैशाख मसान्तभित्रै नगरका सबै योजना सम्पन्न गर्नुपर्ने नीतिगत निणर्य गरेका थियौं’ उपप्रमुख शाहले भने ‘अर्कोतर्फ निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई जरिवाना तिराएका कारण पनि खर्चमा उल्लेख्य प्रगति भएको हो ।’

शाहले बैशाख मसान्तको म्याद र नीतिगत निणर्यका कारण असारे प्रवृत्तिमा समेत कमी आएको दाबी गरे । ‘मौसम प्रतिकुल, प्राविधिक कारणले दुई चार योजना केही ढिलाई भए पनि यस वर्ष अधिकांश योजना समयमै सम्पन्न भएका हुन’ उपप्रमुख शाहले भने ‘आगामी वर्ष योजना कार्यान्वयनमा अझ कडाई गर्ने नीति लिएका छौं ।’

स्थानीय तहमा छुट्याइएका योजना तथा कार्यक्रमहरुमा खर्च गर्ने क्षमतामा कमी आइरहेको चर्चा भइरहेका बेला टीकापुर नगरपालिकाले भने खर्च गर्ने क्षमतामा प्रगति गरेको हो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update