धनगढी, असार ३१
सुदूरपश्चिमको प्रदेशका अस्थायी राजधानी धनगढीमा निजी क्षेत्रको लगानीमा अस्पताल खुल्ने क्रम बढ्दै गएको छ । शनिवारदेखि धनगढी उपमहानगरपालिका वडा २ स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालनमा आएको छ । शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले हस्पिटलको उद्घाटन गरेका हुन् ।
प्रदेश सरकारले निजी क्षेत्रका अस्पतालहरूसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको मुख्यमन्त्री शाहको भनाइ थियो । उनले अस्पताललाई आफूहरूको साथ र सहयोग रहने पनि प्रतिबद्धता जनाए ।
‘हामी तपाईंहरू (निजी क्षेत्रका अस्पताल) सँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छौँ । सौभाग्य अस्पतालले १५ दिनसम्म विषेशज्ञ डाक्टरद्वारा निःशुल्क परामर्श तथा उपचार सेवा दिने कुरा एकदम राम्रो छ’ मुख्यमन्त्री शाहले भने ‘निजी क्षेत्रका अन्य अस्पतालहरूले पनि यस्ता किसिमका सेवाहरू दिन आवश्यक छ ।’
उनले निःशुल्क सेवा लिनका लागि मुख्यमन्त्री शाहले सुदूरपश्चिमका नागरिकहरूलाई अनुरोध समेत गरे । अस्पताल उद्घाटन कार्यक्रममा सुदूरपश्चिम सरकारका आर्थिकमामिला मन्त्री नरेशकुमार शाही पनि सहभागी थिए ।
निजी अस्पतालहरूको भिडमा फरक पहिचान र छुट्टै स्वास्थ्य सेवा प्रदान गर्नका लागि धनगढीमा सौभाग्य हस्पिटल सञ्चालनमा ल्याइएको अस्पतालका अध्यक्ष दिनेशराज जोशीले बताए ।
झण्डै १६ करोडको लगानीमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै विशेषज्ञ सेवासहितको सौभाग्य हस्पिटल धनगढी उपमहानगरपालिका-२ स्थित कृषि सामाग्री संस्थानको अगाडि मेन रोडमा सञ्चालनमा आएको हो। २५ शैयाको सौभाग्य हस्पिटल सस्तो र सर्वसुलभ शुल्कमा मुस्कानसहितको स्वास्थ्य सेवा दिने गरी सञ्चालनमा ल्याइएको हो ।
मेरुदण्डको शल्यक्रिया गर्ने विशेषज्ञ सुदूरपश्चिममा सौभाग्य हस्पिटलमा मात्रै रहने सञ्चालकहरूको दाबी छ । बालरोग, स्त्रीरोग, हाड जोर्नी तथा छाला, मुटु कलेजो सम्बन्धी रोग, मानसिक रोग, दन्त रोगलगायत सबै स्वास्थ्य सेवाहरूको विशेषज्ञ स्वास्थ्य उपचार अस्पताले दिइरहेको अस्पतालका अध्यक्ष जोशीले बताए ।
उनले आईसीयु, एनआईसीयु सेवासहित वातानुकूलित कक्षहरूमा बिरामीले उपचार पाउने बताए । २५ शैयाबाट अस्पताल सुरु भए पनि छिट्टै एक सय शैयाको पुर्याउने योजना बनाइएको छ । अस्पतालहरूमा सर्वसुलभ शुल्कमा फरक शैलीमा मुस्कानसहितको स्वास्थ्य सेवा दिएर फरक पहिचान बनाउने लक्ष्य राखिएको छ । विभिन्न सामाजिक क्षेत्रहरूमा सक्रिय भएका युवाहरूको समूहले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।