टीकापुर, असार २८
कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १८ का ४५ वर्षीय महेश नेपालीको मृत्यु रहस्यमय बनेको छ । मृतक नेपाली जेठ १६ गते कारागारमा रहेका छोरालाई भेट्न घरबाट निस्किएका थिए । उनका छोरा कमल नेपाली लागुऔषध मुद्दामा दाङ कारागारमा छन । तर उनले छोरालाई भेट्न नपाउँदै ज्यान गुमाउनु पर्यो ।
उनी जेठ १६ गते असामान्य अवस्थामा कैलालीको चिसापानीमा भेटिए । शरीरको पूरै कपडा खोलेर नग्न अवस्था सडकमा देखिए । स्थानीयका अनुसार उनले घरमा ढुंगा हाने । अपशब्द प्रयोग गर्दै गाली गरे । यस्तो अवस्थामा स्थानीयले उनलाई नियन्त्रणमा लिए । शरीरमा कपडा लगाई दिए । इलाका प्रहरी कार्यालय चिसापानीको जिम्मा लगाए ।
प्रहरीले सोही दिन उनलाई साँझ बर्दगोरीया गाउँपालिकास्थित सहारा घरमा पुर्यायो । स्थानीयले प्रहरीलाई र प्रहरीले सहारा घरमा बुझाउँदा खिचेको भिडियोमा मृतक नेपाली फुर्तिलो अवस्थामा देखिन्छन । उनले अपशब्द बोलेको भएपनि शरीर फुर्तिलो देख्न सकिन्छ ।
सहारा घरले मानसिक सन्तुलन गुमाएर बेसहारा बनेका व्यक्तिहरुलाई आश्रय दिँदै आएको छ । यो संस्था स्थानीय बलबहादुर बिष्टले आफ्नै प्रयासमा सञ्चालन गरेका हुन । अहिले त्यहाँ थुप्रै बेसहाराले सहारा पाएका छन ।
प्रहरी उनलाई सहारा घरको जिम्मा लगाएर फर्कियो । उनलाई सहारा घरमा छोड्दा सञ्चालक बिष्ट त्यहाँ थिएनन् । उनले उक्त दिन आफू बाहिर रहेको प्रतिक्रिया दिए । प्रहरीले नेपालीलाई छोडेर गएको कुरा उनलाई सहारा घरका व्यवस्थापक महेश कुँवरले जानकारी दिएका थिए ।
‘म त्यो दिन बाहिर थिए । प्रहरीले उनलाई छोडेर गएको कुरा महेशले मलाई कल गरेर जानकारी दिएको थियो’ उनले भने –‘कुँवरका अनुसार उनको अवस्थामा असामान्य नै थियो ।’
कुँवरले उनलाई छुट्टै कोठामा राखे । उनी रातभर बर्बराए । कुँवर राति डेढ बजे उनको अवस्था बुझ्न कोठामा गए । कोठा भित्र रहेको पंखा भाँचिएको थियो । बत्ती अफ थियो । उनी उसैगरी बर्बराईरहेका थिए । सहारा घरको आफ्नै एम्बुलेन्स छ । कुँवरले उनलाई एम्बुलेन्समा राखेर उपचार गर्न लैजान खोजे । तर सकेनन् । फेरी कोठामै थुनिदिए ।
जेठ १७ गते बिहान ७ बजेतिर कुँवर फेरी उनलाई राखेको कोठा तर्फ गए । कोठा खोलेर हेरे । नेपाली चुपचाप सुतिरहेका थिए । कुँवरले ब्यूझाउन खोजे तर उनी उठेनन् । उनको मृत्यु भैसकेको थियो । कुँवरले इलाका प्रहरी कार्यालय बौनियाँमा खबर गरे । केही बेरमा प्रहरी पुग्यो । बौनियाँ प्रहरीले इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी दियो । सुखडले सोही दिन साँझ साढे सात बजे मात्रै नेपालीको शब पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा पठायो ।
तबसम्म नेपालीको पहिचान खुलेको थिएन । प्रहरीले उनको पहिचानका लागि सूचना जारी गर्यो । सूचना सबै प्रहरी कार्यालयमा पठाईयो । उनको खोजी गरिदिन भन्दै श्रीमती मिना नेपाली जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगिन । प्रहरीले उनको तस्विर देखायो । तर उनको अवस्थाका बारेमा भने श्रीमतीलाई केही बताएन । श्रीमतीलाई इलाका प्रहरी कार्यालय सुखडमा गएर बुझ्नु मात्रै भनियो ।
उनी आफ्नो भाई राजु सार्की र छोरी पिंकी सहित सुखड पुगिन । सुखड प्रहरीले चार घण्टा पछि कागजातमा हस्ताक्षर गर्न लगाएर टीकापुर अस्पतालमा बुझ्नु भन्यो । सुखड प्रहरीले समेत नेपालीको अवस्थाका बारेमा जानकारी दिएन । उनीहरु हतारहतार टीकापुर अस्पताल पुगे । अस्पताल पुगेपछि त्यहाँ कार्यरत प्रहरीले मिनाका भाईलाई शवगृहमा लगेर सनाखत गर्न लगाए । उनले मृतक आफ्नो भिनाजु नै भएको सनाखत गरे ।
यो खबर सुनेपछि मिना र उनकी छोरी बेहोस भए । उनीहरुलाई प्रहरीले तत्काल शव बुझेर लैजान भन्यो । त्यही राति उनीहरु शव बोकेर राति साढे १२ बजे घर पुगे । जेठ १९ गते दाहसंस्कारका लागि तयारी हुँदै थियो । आफन्तले कपडामा बेरेर राखेको शव खोलेर हेरे । शरीरको प्रायः धेरैजसो ठाउँमा चोटपटक देखियो । शवको अवस्था हेर्दा आफन्तलाई हत्या गरिएको हो कि भन्ने आशंका भयो । तर उनीहरु कहाँ, कसले, कसरी भन्ने बारेमा अनभिज्ञ थिए । तैपनि उनीहरुले चुपचाप दाहसंस्कार गरे ।
जेठ २० गते इलाका प्रहरी कार्यालय लम्कीले मृतककी श्रीमती मिनालाई कल गरेर दुईजना पक्राउ परेको र उजुरी दिन आउन भन्यो । उनी किरियामा थिईन । उनका भाई र छोरी लम्की पुगे । प्रहरीले कागजात लेखिसकेको थियो । मृतककी छोरीले हस्ताक्षर गरिन । उनीहरु घर फर्किए ।
मिनाका अनुसार १२ दिन पछि फेरी लम्की प्रहरीले कल गर्यो । मिनाले खर्च नभएकाले आउन सक्दैन भनिन् । प्रहरीले अत्तरीयासम्म आउन भन्यो । छोरी पिंकी अत्तरीया पुगिन । प्रहरी कागज बोकेर अत्तरीया पुगे । पुरक उजुरीमा प्रहरीले पिंकीलाई हस्ताक्षर गरायो ।
यता प्रहरीले लम्की चुहा नगरपालिका वडा नं. ३ चिसापानीका २४ वर्षीय सन्तोष कँडेल र ६८ वर्षीय रामबहादुर खड्कालाई जेठ १८ गते नै पक्राउ गरिसकेको थियो । कँडेल र खड्का मृतक नेपालीलाई जेठ १६ गते प्रहरीलाई बुझाउने व्यक्ति हुन । प्रहरीले जेठ १८ गते कँडेल र खड्कालाई आफन्तको जिम्मा लगाएर छोड्यो ।
प्रहरीले दुवै जनालाई पुनः जेठ १९ गते नियन्त्रणमा लगेर इलाका प्रहरी कार्यालय लम्की पठायो । लम्की प्रहरीले जेठ २० गते दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली पठायो । प्रहरीले दुवै जना उपर कर्तव्य ज्यान अन्र्तगत मुद्दा चलायो । उनीहरु अहिले जिल्ला कारागार कैलालीमा छन ।
मृतक नेपालीकी श्रीमती मिनाले घटनाको सत्यतथ्य छानविनको माग गरेकी छन । उनले आफ्ना श्रीमानको अनाहकमा ज्यान लिने व्यक्तिलाई उन्मुक्ति नदिन आग्रह गरिरहेकी छन । उनले प्रहरीले घटनाको अनुसन्धानमा गम्भिरता नदेखाएको महशुस भैरहेको बताएकी छन । ‘सुरुमा त घटना लुकाईयो । प्रहरीले भन्दै भनेन । शव छिटो लैजान भनेर दवाव दियो’ उनले भनिन्–‘प्रहरीले किन त्यसो गर्यो भन्ने लागेको छ ।’
उता हत्या आरोपमा पक्राउ परेका कँडेल र खड्काका आफन्तले प्रहरीले घटनामा जबरजस्ती फसाएको गुनासो गरेका छन । उनीहरुले नेपालीलाई प्रहरी कहाँ बुझाउँदा सम्म नेपालीको शरीरमा कुनै चोटपटक नभएको दावी गरेका छन । कँडेलकी श्रीमती उमा कँडेलले असामान्य व्यवहार गरिरहेका नेपालीलाई समातेर सकुशल प्रहरी समक्ष बुझाएको बताएकी छन ।
उनले कुनैपनि व्यक्तिले नेपालीलाई कुटपिट नगरेको दावी गरेकी छन । ‘हामीले कुटपिट गर्ने कुनै कारण नै छैन । उल्टै समातेर प्रहरीलाई बुझाएका हौं’ उनले भनिन् –‘प्रहरी र सहारा घरको मिलेमतोमा हामीलाई फसाउने काम भयो ।’
हत्या आरोपमा पक्राउ परेकाहरुका आफन्तले प्रहरीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान नगरेको दावी गरेका छन । उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रहरीलाई आग्रह गरेका छन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले घटनाको बारेमा अनुसन्धान भैरहेको जानकारी दिए । उनले घटनाका केही पक्ष अनुसन्धानको दायरा भन्दा बाहिर रहेको स्विकार्दै प्रहरीले सत्यतथ्य बाहिर ल्याउने बताए । ‘हामी अनुसन्धानमै छौं । केही कुरा छुटेको हुनसक्छ’ उनले भने–‘दोषीलाई उम्किन नदिने र निर्दोष फस्ने कुरामा सचेत छौं ।’
प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा छातीमा लागेको गहिरो चोटले नेपालीको मृत्यु भएको देखिएको छ । मृतक नेपाली निम्न परिवारका व्यक्ति हुन । उनी घरमा रंगरोगनको काम गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनको परिवार मृतक नेपालीको आयस्रोत माथि नै निर्भर थियो । मृतककी श्रीमती मिनाले श्रीमानको मृत्यु पछि घरपरिवार अभिभावक बिहिन भएको बताईन ।