Hamro Patra
टीकापुरमा दुईजनामाथि खुकुरी प्रहार, घटनाको भत्र्सना

टीकापुर, २७ असार
टीकापुर नगरपालिका वडा नं. १ विजयनगर नजिकै हिजो साँझ एक समूहले दुईजना युवा माथि साँघातिक आक्रमण गरेको छ । सो समूहले साँझ करिव ८ बजेतिर स्थानीय प्रकाश खड्का र बमबहादुर ओलीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट खड्का र ओलीको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी तुलसीराम अर्यालले साँघातिक आक्रमण गर्ने केही व्यक्तिको पहिचान भएको जानकारी दिएका छन । उनका अनुसार आक्रमणमा विशाल आचार्य, चक्र शाह र तपेन्द्र बिष्टको परिचय खुलेको छ ।

CMA Staff

उनले घटनामा ७/८ जनाको संलग्नता रहेको बताएका छन । उनले घटनामा संलग्न सबैको खोजी कार्य भैरहेको जानकारी दिए । उनले घटनाका बारेमा थप अनुसन्धान समेत भैरहेको बताए । ‘हामी घटनाका बारेमा अनुसन्धान गरिरहेका छौं’ उनले भने–‘संलग्न सबैलाई कारवाही हुन्छ ।’

घटनाको विभिन्न संघसंस्थाहरुले भत्र्सना गरेका छन । राष्ट्रिय युवा संघ जिल्ला कमिटी कैलालीले घटनाको निन्दा गरेको छ । उसले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश कमिटी सदस्य खड्का र जिल्ला कमिटी सदस्य ओली माथि भएको घटना प्रति ध्यानाकर्षण गरेको छ ।

उसले विज्ञप्तीमा यस्ता अपराधिक घटना निरुत्साहित गर्नुको साटो उल्टै संरक्षण गर्ने काम भैरहेको उल्लेख गरेको छ ।

त्यस्तै टीकापुर उद्योग वाणिज्य संघले समेत घटनाको भत्र्सना गरेको छ । उसले आफ्ना कार्य समिति सदस्य ओली माथिको घटनाको प्रेस विज्ञप्ती मार्फत घोर भत्र्सना गरेको छ । विज्ञप्तीमा कुनैपनि बहानामा घटनामा संलग्न व्यक्तिहरुलाई उन्मुक्ति दिन नहुने उल्लेख छ ।

उसले केही दिन यता टीकापुर क्षेत्रको शान्ति सुव्यवस्था कमजोर भैरहेको प्रति जनगुनासो बढेको भन्दै शान्ति सुव्यवस्था कायम गराउन प्रहरी प्रशासनले अभियान सञ्चालन गर्न माग गरेको छ ।

पछिल्ला दिनहरुमा टीकापुरमा अपराधिक घटना बढ्दै गएको पाईएको छ । प्रहरीका अनुसार गुण्डागर्दी र चोरीडकैतीका घटना बढेका छन । प्रहरीले रोकथामको प्रयास गरेको भएपनि सफल हुन सकेको छैन । स्थानीयले प्रहरीले नै यस्ता घटनामा संलग्नलाई संरक्षण गर्ने गरेको आरोप लगाउने गरेको पाईएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update