Hamro Patra
छोटियो टीकापुर-धनगढीको दुरी

टीकापुर, असार २३

निर्माण शुरु भएको १२ वर्षपछि कैलालीको दक्षिणी भजनी नगरपालिकाको कान्द्रा नदीमा पक्की पुल सञ्चालनमा आएको छ । हुलाकी राजमार्ग अन्तर्गत भजनी-धनगढी सडकखण्डको कान्द्रा नदीमा निर्माण भएको पक्की पुल गत सातादेखि सञ्चालनमा आएको हो ।

भजनी नगरपालिका वडा नं. ५ र ७ जोड्ने कान्द्रा नदीमा एक शय मिटर लामो पुल निर्माणका २०६८ जेठमा बिरुवा/लामा/शेर्पा साल्भा जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

Khadga Memorial And Janajagriti

सम्झौता अनुसार ३ करोड ४५ लाख २० हजार रुपैयाँमा निर्माण गर्नुपर्ने पुल निर्माण शुरु भएको १२ वर्षपछि मात्रै सञ्चालन भएको हो । सो क्षेत्रमा पुल नहुँदा स्थानीयहरु जोखिमपूणर् ढुङ्गाको यात्रा बाध्य थिए ।

‘वर्षायाममा जोखिमपूणर् साना डुङ्गामा वारपार गर्ने गरेका थियौं भने हिउँदमा नदी तर्न काठे पुलमा पैसा तिरेर जानुपथ्र्यो’ भजनी नगरपालिका ५ का हिरा चौधरीले भने ‘अघिल्लो हप्तादेखि पुल सञ्चालनमा आएको छ, गाडी सजिलै वारपार गरिरहेका छन् तर पनि निर्माण भने सकिएको छैन ।’

निर्माण शुरु भए यता पटक-पटक निर्माण कम्पनीले काम छोडेर जाने गरेका कारण पुल बन्नेमा शंका गरिरहेका स्थानीयहरु कान्द्रा नदीमा पुल बनेपछि खुशी छन् ।

‘कहिले काम गर्ने, कहिले भाग्ने, एउटा पुल बन्न १२ वर्ष लाग्यो’ स्थानीय खेमराज पाण्डेले भने ‘पुल बन्नेमा पूरै शंका थियो, जेहोस् ढिलै भए पनि पुल बनेको छ, यसले हुलाकी राजमार्गबाट धनगढीसम्म जानआउन सहज हुनेछ ।’

कान्द्रा नदीमा पुल नहुँदा हुलाकी राजमार्गको सत्ती-भजनी-धनगढी सडक खण्डमा गाडी सञ्चालन हुन सकेका थिएन् ।

कान्द्रामा पुल नहुँदा भजनीका स्थानीयहरु पालिका केन्द्रसम्म आउनका लागि दैनिक पैसा खर्च गर्दै आएका थिए । वर्षेयाममा ढुंगा र हिउँदमा अस्थायी काठे पुलबाट वारपार गर्न स्थानीयले प्रत्येक पटक ४० रुपैयाँदेखि ८० रुपैयाँसम्म टिकट काट्नु पर्दथ्यो ।

भजनी नगरपालिका वडा ७ का पवित्रा बुढाले भनिन् ‘नून तेल लिन भजनी बजार जानका लागि पनि पैसा तिर्ने गरेका थियौं, पुल बनेपछि भने हामीलाई सहज भएको छ ।’

पुलको ९५ प्रतिशत काम सकिएको दावी गर्दै हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले पुल सञ्चालनमा आएको बताए ।

‘पुलको ९५ प्रतिशत काम सकिएको छ, पुलमा रेलिङ्ग राख्ने र पुलका दुबै छेउमा ग्राभेल गर्ने काम मात्र बाँकी छ’ सुनारले भने ‘पुल सञ्चालनमा आएपछि हुलाकी राजमार्गबाट सत्ती-भजनी-धनगढीको आवागमन सहज भएको छ ।’

हुलाकी राजमार्गले लुम्बिनी प्रदेशको टीकापुरदेखि धनगढीसम्मको यात्रालाई छोट्याएको छ । टीकापुरदेखि धनगढी जान पूर्वपश्चिम राजमार्गको ९५ किलोमिटर लामो दुरी पार गर्नुपर्दछ भने हुलाकी राजमार्ग भएर जाँदा सो दुरी ६२ किलोमिटर मात्रै छ ।

कान्द्रा नदीमा पुल सञ्चालन भएसँगै छोटो समयमै कैलालीको पूर्वी क्षेत्रबासी सुदूरपश्चिम प्रदेशका अस्थायी राजधानी धनगढी पुग्नेछन् ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update