Hamro Patra
कर्मचारी भर्ना सूचना डेढ वर्षपछि सर्टलिस्ट

योगेश रावल
टीकापुर, भदौ १०
भजनी नगरपालिकाले सूचना प्रविधि अधिकृतको आवश्यकता सम्बन्धी सूचनाको सर्टलिस्ट (छोटो सूची) डेढ वर्षपछि सार्वजनिक गरेको छ ।

कार्यालयले २०७४ फागुन ६ गते एकजना सूचना प्रविधि अधिकृतको आवश्यकता सम्बन्धी सूचना सार्वजनिक गरेको थियो । सो सूचनामा मिति २०७४ कात्तिक १७ गतेको प.सं. २०७४/०७५ को च.नं. १२७ को संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम समन्वय इकाईको पत्रानुसार करार नियुक्ति गर्नुपर्ने उल्लेख छ ।

सोही सूचनाको बुँदा नं. ४ मा आवश्यक पदको करार अवधि २०७५ असार मसान्तसम्म उल्लेख छ । कार्यालयले सूचनामा उल्लेख गरेको करार अवधि सकिएको १३ महिना पछि सर्टलिस्ट सार्वजनिक गरेको हो ।

Khadga Memorial And Janajagriti

सो सूचना तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले प्रकाशित गर्न लगाएका थिए । लामो समयदेखी रोकिएको सूचनाको सर्टलिस्ट एकाएक सार्वजनिक भएपछि नागरिकले चलखेल भएको आरोप लगाएका छन ।

कार्यालयले विभिन्न ६ जनाको नाम समावेश भएको सर्टलिस्ट मिति २०७६ भदौ ५ गते एक सूचना मार्फत सार्वजनिक गरेको छ । सो सूचनामा मिति २०७४ चैत २१ गतेका दिन सूचना प्रविधि अधिकृत छनौट तथा सिफारिस समितिको निर्णयानुसारको सूची सार्वजनिक गरेको उल्लेख छ । सोही सूचनामा समितिले तत्कालिन अवस्थामा गरेको सो निर्णय विविध कारणले प्रकाशन गर्न नसकिएको बताईएको छ ।

सूचनामा उल्लेख भए अनुसार सर्टलिस्टमा पर्नेहरुमा कल्पना चौधरी, विवेकराज जोशी, जीवनकुमार चौधरी, दीपककुमार लामिछाने, दीपककुमार विश्वकर्मा र जयकुमार चौधरी रहेका छन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले तत्कालिन छनौट समितिले गरेको निर्णय जस्ताको त्यस्तै सार्वजनिक गरेको बताए । उनले छ जना मध्येबाट एकजना छनौटको प्रकृया अब सुरु हुने बताए । ‘मैले जेजस्तो अवस्थामा थियो त्यस्तै सार्वजनिक गरेको छुँ’ उनले भने–‘थप छनौटको प्रकृया अब सुरु हुन्छ ।’

उनले पूरानै सूचनालाई निरन्तरता दिने वा नयाँ सूचना प्रकाशित गर्ने भन्ने बारेमा लोकसेवा आयोगसँग परामर्श लिएको बताए । उनले आयोगले पूरानै सूचनालाई निरन्तरता दिन सकिने सल्लाह दिएपछि सोही अनुसार निर्णय गरिएको जानकारी दिए । उनले आयोगसँग मौखिक परामर्श लिएको बताए । ‘कर्मचारी आवश्यकता भएपछि पहिल्यै यस बारेमा सूचना प्रकाशित भैसकेको थाहा पाए’ उनले भने–‘के गर्ने भन्ने द्विविधा भएपछि आयोगसँग सोधेर निर्णय लिएको हुँ ।’

स्थानीयले सर्टलिस्टबाट एकजना छनौट हुुनुपूर्व नै मेयर शेरबहादुर चौधरीका नातेदारले काम सुरु गरिसकेको बताएका छन । उनीहरुले सर्ट लिस्टको तेस्रो नम्बरमा रहेका जीवनकुमार चौधरी गत एक महिनादेखी सोही पदमा कार्यरत रहेको जानकारी दिएका छन । उनीहरुले मेयर चौधरीले आफ्नो मान्छेलाई जागिरमा राख्नका लागि सूचना सार्वजनिक गर्नमा ढिलाई गरेको आरोप लगाएका छन ।

मेयर चौधरीले जीवनकुमार चौधरीले नगरपालिकामा सूचना प्रविधिका काममा सुरुदेखी नै सहयोग गर्दै आएको बताए । उनले ती व्यक्तिले न तलब बुझेको न हाजिर गरेको दावी गरे । ‘हामीसँग कर्मचारी छैन । उनले सुरुदेखी नै सहयोग गर्दै आएका छन’ मेयर चौधरीले भने–‘उनी कर्मचारी हैनन् । उनले स्वयम्सेवकका रुपमा काम गर्दै आएका छन ।’ उनले स्थानीय सबै आफ्ना नातेदार भएको बताए ।

उपमेयर छाया देवकोटाले यस बारेमा कुनै जानकारी नभएको बताईन । उनले बाह्य मान्छेले भनेपछि मात्रै सूचना सार्वजनिक भएको बारेमा थाहा पाएको बताईन । ‘मलाई यो बारेमा जानकारी छैन’ उनले भनिन्–‘तपाईहरु जस्तैले भनेपछि थाहा पाएकी हुँ ।’

उनले जीवनकुमार चौधरी विगत एक महिनादेखी कार्यरत रहेको भने थाहा पाएको बताईन । उनले निजलाई के कसरी काममा लगाईएको हो भन्ने बारेमा भने जानकारी नभएको बताईन ।

प्रमुख प्रशासकीय अधिकृत सुनारले सर्टलिस्टमा रहेका जोसुकै उत्तीर्ण हुनसक्ने बताए । उनले मेयरले आफ्नो मान्छेलाई जागिरमा राख्न यस्तो गर्न लगाएको भन्ने कुरामा सत्यता नभएको दावी गरे । ‘यो गलत कुरा हो । केवल अफवाह फैलाउने काम भैरहेको छ’ उनले भने–‘विधि प्रकृया अनुसार छनौट हुन्छ । जोसुकै पनि उत्तीर्ण हुनसक्छ ।’

तर नागरिकहरु भने डेढ वर्षपछि सार्वजनिक भएको कर्मचारी छनौट सम्बन्धी सूचना निष्पक्ष हुने कुरामा विश्वस्त छैनन् । उनीहरु मेयरको निर्देशन अनुसार नै कर्मचारी भर्नामा चलखेल भैरहेको बताउँछन ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update